देखेपछि माया मोह

‘नदेखे त को हो को हो ? देखेपछि माया मोह’ भनेझैं हुन्छ, डगलस हललाई । पाँच वर्ष नेपालमा पिसकोर स्वयंसेवक रहेका डग हल अमेरिकाभर नेपालीभाषीको सेवामा लागेका छन् । यहि त रहेछ, माया मोह भनेको । डगलसलाई छोटकरीमा ‘डग’ मात्र भनिन्छ ।
उनले छापेको नेपाली-अंग्रेजी-नेपाली डिक्सनरी अमेरिकामा भएका नेपालीभाषीका लागि निकै सहयोगी बनेको छ । नेपाली भनेपछि हललाई निकै माया लाग्छ, यो मैले बुझेको छु । यो माया यसपटकको वनभोजमा पनि देखियो । उनले नेपालीभाषी भेला पारेर वनभोज गर्ने गरेका छन् । हलको आयोजनामा भएको यस वर्षको तेस्रो रहेछ, यो वनभोज ।
नेपाली चलनमा वनभोज खोलाकिनार जाने, पकाउने, खाने, रमाइलो गर्ने हो । पहिलो यहाँ खुल्ला ठाउँमा गएर मनोरञ्जन गर्दा सुरक्षामा ध्यान दिइन्छ । दोस्रो, सामान्यत घर र वरपरकै क्षेत्रफल प्रशस्त हुने हुनाले बाहिर जानै पर्ने अवस्था पनि हुन्न । त्यसैले हलले आफ्नो घरपछाडिको खाली ठाउँमा वनभोज गर्ने निधो गरेर थालेछन्, वनभोज ।
अमेरिकाका माथिल्लो भेकमा राज्यहरुमा हिउँ पर्छ । हिउँ पर्ने ४-५ महिनाका दिन छोटा हुन्छन् । काम र घर गर्दैमा बाहिर गरिने मनोरञ्जन शुन्य हुन्छन् । वसन्त ऋतु (स्प्रिङ) अनि गर्मी लागेपछि चहलपहल शुरु हुन्छ र नोभेम्बरमा ‘थ्याङ्स गिभिङ’ नआउन्जेल भेटघाट र मासु पोली खाने (बार्बिक्यू) काम चलिरहन्छ । यहि सन्दर्भमा हलले वनभोजको कार्यक्रम राख्छन्, वर्षेनि ।
यस वर्ष जून २५ मा वनभोज भनिएको थियो । मौसमको पूर्वानुमानले पानी पर्छ भनेपछि जून २६ मा सारियो । शुरू भनेको त १० बजे बिहानै थियो ।
न्यु ह्याम्सरको चाइचेस्टर ४९ लेन रोड पुग्दा हलले क्यारम बोर्ड, ब्याडमिन्टन खेल्ने कोर्ट तयार थियो । टेबुल-कुर्सी ठाउँठाउँमा थिए । एउटा अस्थायी शौचालय बारीको छेउमा बनाइएको थियो । शौचालय भोलीपल्ट आएर फोहर व्यवस्थापन गर्ने कम्पनीले लैजाने रहेछ । श्रीमती केट हल र उनका छोरा जनाथन भने यता आउन चाहनेहरुलाई ल्याउन गएका रहेछन् । म र ज्वाईं (सतन आचार्य) पहिला भयौं, त्यहाँ पुग्ने । ‘खोई त अरु?’ भन्ने प्रश्नमा ‘नेपाली-टाइम’ को प्रसंग उठेको थियो । वास्तविकता भने फरक थियो । वनभोजमा बोलाइएका धेरै नेपालीभाषीहरु ‘विकेन्ड’ (शनिबार र आइतबार) मा काम गर्छन् भन्ने थाहा भयो ।
हामीपछि आएका भाईहरुले हललाई भलिबल कोर्ट बनाउन सघाए । माइक सिस्टम बनाएका हलले ल्यापटपबाट गीत बजाउने तयारी गरेका रहेछन् । एकछिनमा एकजना ‘डिजे’ पनि आए ।
वनभोजमा ‘पट-लक‘ गर्ने भनिएको थियो । सबैले सक्दो-पुग्दो खाना बनाएर ल्याउने र समूहमा खाने चलनलाई ‘पट-लक’ भनिन्छ । नेपाली खाना पकाएर ल्याउने अनि भात र केहि थप तरकारी पकाउन हलकै भान्सा प्रयोग गर्ने भनिएको थियो । त्यसै पनि गरियो ।
बीचको समयमा मान्छे आउने क्रम जारी रह्यो । गफ गर्ने मौका मिल्यो । शुरू-शुरूमा पुनर्स्थापित भूटानी शरणार्थी भीमलाल आचार्यले भोगेका घटनाहरुले सुनाए ।
वनभोजमा नाच्न र गाउन शुरु गर्नुअघि भिडियो र स्टिल क्यामरा लिएर तयार जुलिया फ्रिमन वुलपर्टले सोधिन्, ‘कसैलाई आफ्नो नृत्य वा गायनको तस्बिर वा भिडियो नखिचियोस् जस्तो लाग्छ भन्ने छ भने मलाई भन्नुहोला ।’ कसैको स्विकृतिबिना फोटो वा भिडियो खिच्नु हुन्न- यो अरुको अधिकारको सम्मान हो । (सिक्नुपर्ने कुरा ।)
स्कूले-उमेरका नानीहरु : मुना, वसन्ता, राधा, सुनिता, सपना, रविना, हेमन्ता, गायत्रा आदिले ‘नरिसाउनु मितिनी ज्यू, खुट्टैमा गर्दिन्छु जिउ-जिउ’, ‘ए, आमा सानिमा——-‘, ‘हरिया चुरा मेरा हातभरि —-‘, ‘किन मन हुन्छ चञ्चल — ‘ जस्ता गीतमा नाचे । आशिष (आशिक) निकै राम्रो गाउँदा रहेछन्, उनको गीत थियो, ‘प्रियशी, तिम्रो यादले सताउँछ मलाई —-‘ । भीमलालकै छोरी मीना ढकालले भूटानी भाषा (जोङ्खा) र नेपाली गीत गाइन ।
बाहिरको तापमान ७३ फहरेनहाइट थियो । रूखको छहारी खोज्नु पर्ने भा’थ्यो । बारी हरियो पार्न पानी फ्याँक्ने ‘स्प्रिङ्कल’ मा साना-नानीहरु भिज्न जान्थे । चिसो हुन्थ्यो र भाग्थे । निकै रमाइलो लाग्थ्यो ।
हलका ४-५ परिवार साथीबाहेक धेरैजसो नेपालीभाषी भूटानी उपस्थित यो वनभोजको खानाले पनि धेरैलाई तानेको थियो । खिर, ढकने, पकौडा दाल, भात, तरकारी, अचार, मासु जस्ता हाम्रो जीब्रोले चिनेका खाना त थियो नै । साथमा यताको चिसोपेयको चलन पनि प्रभावी थियो । बच्चाहरु अन्नभन्दा सन्नमा बढी आकर्षित थिए ।
हल नेपाल रहँदा सँगै काम गरेका पिटर क्रसको थापाथली बसाइ र उनका अनुभव सुन्ने मौका मिल्यो, भात खाने समयमा ।
हामी अघिल्लो दिन अबेरसम्म बसेका थियौं । निद्रा लाग्ला जस्तो पनि भो । भन्छन् नि, भाते निद्रा । सबैभन्दा पहिला पुगेका हामीले १ बजेपछि निस्कने निर्णय ग-यौं । सालीको बिहे सकेर क्यानडाबाट फर्केर हतार-हतार सपरिवार वनभोजमा पुग्दै थिए, भूट्नीज कम्युनिटी अफ न्यु ह्याम्सरका निर्देशक टिका आचार्य । आचार्यभन्दा दुई पाइलाअघि नरपति पौडेल हुनुहुन्थ्यो । ४ बजेसम्म चल्ने वनभोजलाई हामीले करिब आधामा छाडेका थियौं, यसपटकलाई ।
अक्षरिका न्युजलेटरले डग हलसँग जोडेको सम्बन्ध पनि हलको नेपालीमाथिको माया-मोह जस्तो भएको छ । हामी पनि हल र उनको परिवारबाट टाढा रहन सक्ने नभएका छौं ।

4 thoughts on “देखेपछि माया मोह

  1. Rajeshji this article is beautified to the interest of readers explaining the reality of the day. In fact, Dough Hall , a true friend of Nepali speaking people should always be recognized.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<