सम्झना त्यो ४२ वर्षको*

पिसकोर यहीँ घूसखोर यहीँ
नव-जोर यहीँ दिलचोर यहीँ
जति छन सब धनवानसरी
अलकापुरी कान्तिपुरी नगरी
यो हाँस्यव्यङ्गकार भैरव अर्यालले ‘अलकापुरी कान्तिपुरी नगरी’ निबन्धमा लेखेको तत्कालिन नेपाली परिवेशको गाथा हो ।
0 तेह्रथुमको आठराई, छातेढुङ्गास्थित पोखरी उच्च माध्यमिक विद्यालयले आफ्ना पूर्वशिक्षकको सूचीमा जेम्स जि. मुर्थाको नाम राखेको छ । उनी अमेरिकी हुन् र पिसकोर स्वयंसेवकका रुपमा काम गरेको इतिहास विद्यालयसँग छ ।
0 चित्रकारितामा चिनिएका ‘पाल्पाली भाइ’ पिसकोर स्वयंसेवकका आडम स्वार्टसँग कलाकारिता सिकेको बताउँछन् ।
0 संयुक्त राष्ट्रसंघीय बालकोषका कार्यकारी निर्देशक कुलचन्द्र गौतमले आफूले जीवनमा हासिल गरेको उपलब्धीमा पिसकोर स्वयंसेवकहरु केन मार्टिन र बिल क्लेटनको ठूलो भूमिका रहेको बताउनुभएको छ ।
0 गीतकार/गजलकार प्रकट पगेनीको टाइटल प्रकट पिसकोर स्वयंसेविकाले राखिदिनु भएको हो ।
0 डायना अपेडलद्वारा संकलित तथा लिखित ‘कुकिङ इन नेपाल’ नामक पुस्तक पिसकोरले प्रकाशन गरेको थियो । यो सन् १९६७ तिरको कुरा हो । यो पुस्तक नेपाली परिकारबारे हो ।
0 धुलिखेल नगरपालिकाका पूर्वप्रमुख (मेयर) बेलप्रसाद श्रेष्ठले आफ्नो संस्मरणमा भनेका छन्, ‘अमेरिकी स्वयंसेवी संस्था पिसकोरका स्वयंसेवकहरूलाई पढाउन डेभिस युनिभर्सिटी अफ क्यालिफोर्निया, अमेरिका पुगेको थिएँ । सिभिल वर्क र अन्तरसंस्कृतिबारे पढाउन १ वर्ष अमेरिकामा रहँदा त्यहाँको विकासबाट प्रभावित भएँ ।’
0 आतंकवादी समूहको अपहरणमा परी ०६१ भदौ १५ गते इराकमा १२ नेपाली मारिए । उनीहरुका पक्षमा मुद्दा लडिदिने अमेरिकी वकिल म्याट हेडलीले सन् १९९७ देखि २ वर्षसम्म सुदूरपश्चिमको कञ्चनपुरमा पिसकोर स्वयंसेवक भएर काम गरेका थिए ।
0 सन् २००८ फेब्रुअरीमा अमेरिकाको ग्रेटर वासिंगटनमा आयोजित ल्होसारमा अमेरिकी नागरिक डन ग्याम्बलले ‘नारायण हरि-हरि’ बोलको भजन गाए । दर्शक चकित परे । कुनै बेला ग्याबल पिसकोरका लागि पूर्वी नेपालमा दुई वर्ष काम गरेका थिए ।
0 एउटा अखिलित इतिहास भन्छ- पश्चिमेली नागरिकमा जनकपुरमा सन् १९६४ तिर आउने अमेरिकी पिसकोर स्वयंसेवक अर्नल्ड दम्पती पहिला हुन् । त्यसभन्दा पहिला पश्चिमी मुलुकका कोहि पुगेको थिएन ।
यस्ता छिटपुट संस्मरणबाहेक देशका चर्चित चिकित्सक, इन्जिनियर, शिक्षक आदि पिसकोर स्वयंसेवकका चेला भएका पाइन्छन् । पिसकोर स्वयंसेवकका पसिना पोखिएका विद्यालय भवन, फर्निचर, खानेपानी, स्वास्थ्यसेवा अझै छन् । तर नेपालमा पिसकोर स्वयंसेवक छैनन् ।
सन्दर्भ : अमेरिकी स्वयंसेवक संस्था पिसकोर स्थापनाको ५० वर्षको ।
के हो, पिसकोर ?
नेपाली जीब्रोले पिसकोर वा पिस्कोर भने पनि पिस कोर्प यसको खास नाम हो । सन् २०११ मार्च १ मा यस संस्थाले आफ्नो स्थापनाको ५० औं वाषिर्कोत्सव मनायो । यस संस्थाको स्थापना सन् १९६१ मार्च १ मा भएको हो ।
यसका स्वयंसेवकले विश्वका १ सय ३९ देशमा काम गरेका छन् । शिक्षा, स्वास्थ्य, एचआईभी/एड्स, साना व्यवसाय जस्ता विभिन्न क्षेत्रमा कार्यरत छन् । अहिलेसम्म २ लाख स्वयंसेवकले ती देशमा काम गरिसकेका छन् । कुल स्वयंसेवकमध्ये ७ प्रतिशत एसियाका लागि हुन् । अहिले साढे ८ हजार बढी स्वयंसेवक विश्वका विभिन्न देशमा छन् ।
तत्कालिन राष्ट्रपति जोन एफ केनेडीले पिसकोरको स्थापना गराएका थिए ।
नेपालले के पायो र गुमायो ?
अमेरिकाबाट राजेश कोइराला लेख्छन्- सन् १९६२ मा यस संस्थाका स्वयंसेवक विभिन्न २७ मुलुकमा जाँदा नेपाल पनि गएका थिए । यस संस्थाले सन् २००४ सम्म नेपालमा काम गर्‍यो। सन् २००४ सेप्टेम्बरमा काठमाडौंस्थित अमेरिकन सेन्टरमा माओवादिले दुई बम विस्फोट गराएपछि पिसकोरले नेपालमा आफ्नो काम बन्द गर्‍यो ।यस संस्थाले फर्कने निर्णय गरेको छैन । संस्था रहुन्जेलको करिब ४२ वर्षमा ४ हजार स्वयंसेवकले नेपालको सेवा गरेका थिए ।
पिसकोरले छाडे पनि सम्झना आलै छन् । खोज्दा भेटिने कुरा धेरै छन् । इतिहासका पानामा राखिनुपर्ने तथ्य त्यसै बिलाउने छन् ।
‘म दरबार हाइस्कुलमा पढाउँथें। त्यसबेलाको काठमान्डु पक्का नेपाल थियो। सबै मानिस दौरा सुरुवालमा हुन्थे। स्कुले नानीहरु पनि। स्कुलमा पढाउने शिक्षक त सबैजसो,’ डग हल भन्छन् । उनले सन् १९६८-१९६९ मा नेपालमा विज्ञान र अंग्रेजी पढाए। दरबार हाइस्कुल र आनन्द कुटीमा शिक्षक थिए। उनलाई अमेरिकी सहयोग नियोग (युएसएआइडी) मा सल्लाहकार बनाइयो । उनले विज्ञान कसरी पढाउनुपर्छ भन्ने सिकाए। संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) का धेरैथरि काम गरे। नेपालको न्यू एरा नामक संस्था स्थापना गर्ने धेरैजनामध्ये उनी एक हुन्। हलका घरमा नेपाली कला झल्काउने सामग्री अझै छन् । उनकी श्रीमती केटले नेपाली वर्तन जतनसाथ राखेकी छन् ।
डग र केटको भेट नेपालमा भयो । उनीहरुले पछि विवाह पनि गरे । धेरैले नेपालमै नेपाली चलनमा बिहे गरेका थिए । नेपाली बालबालिकालाई धर्म-सन्तानका रुपमा ग्रहण गरेर फर्केका पनि छन् । एउटा उदाहरण हुन्, माइकल र कार्ला । माइकल र कार्लाले नेपालमा बिहे मात्र गरेनन्, धर्म-सन्तान लिएर अमेरिका फर्के । यस्ता प्रशस्त उदाहरण पाइन्छन् ।
डन मेस्सरस्चमिड्टले नेपालबारे ‘बिग डग्स अफ टिबेट एन्ड द हिमालयज’, ‘अगेन्ट्स द करेन्ट : लाइफ अफ लैन सिंह बाङ्देल, राइटर, पेन्टर एन्ड आर्ट हिस्टोरियन अफ नेपाल’ र ‘फादर मोरान अफ काठमान्डु’ जस्ता किताब लेखेका छन् ।
नेपालको इतिहास राजाको इतिहासमा सिमित रह्यो । तर पिसकरहरुले जनताको इतिहास देखेका छन् । त्यो उनीहरुसँगै छ र हराउँछ । पिसकोरहरुले बनाएका स्कुल वा स्वास्थ्य चौकी भवनहरु छन् । तर सरकारले सुविधा दिन नसकेको जगजाहेर छ ।
अमेरिका फर्केका पिसकोरहरुले विभिन्न संस्थामार्फत नेपालीलाई मद्दत गर्दै आएका छन् । अमेरिकामा खोलिएको फ्र्यान्ड्स अफ नेपाल नामक संस्थाले नेपालमा नेपालीलाई र अमेरिकामा पुनर्स्थापित नेपाली भाषी भूटानीलाई धेरै सहयोग गरिरहेको छ । नितान्त व्यक्तिगत रुपमा डग हलले नेपाली डिक्सनरी प्रोजेक्ट खोलेर सहयोग गरिरहेका छन् । उनले अमेरिकामा नेपाली भाषीलाई डिक्सनरी बाँढ्दै आएका छन् ।
यस वर्ष अमेरिकी सहयोग नियोग, युएसएआइडीले नेपालमा ६० वर्ष पुरा गरेकोमा कार्यक्रमहरु राख्यो । तर नेपालले पिसकोरको सम्झना गर्ने अवसर गुमायो ।
* अमेरिकामा राजेश कोइराला र काठमाडौंमा शेखर अधिकारी, इकान्तिपुरमा २०६७ चैत ९ मा पोष्टिङ

Comments posted (1)

[...] हुन्छ, डगलस हललाई । पाँच वर्ष नेपालमा पिसकोर स्वयंसेवक रहेका डग हल अमेरिकाभर [...]

Write a comment