डगलस हल सानो छँदा

लाजले भुतुक्क

डगलस हल (डग हल) नेपाल र नेपालीलाई माया गर्ने अमेरिकी हुनुहुन्छ । उहाँले सन् १९६८-१९६९ मा नेपालमा विज्ञान र अंग्रेजी पढाउनुभएको थियो । उहाँ दरबार हाइस्कुल र आनन्दकुटीमा शिक्षक हुनुहुन्थ्यो। अमेरिकी स्वयंसेवी संस्था ‘पिस कोर्प’ (पिसकोर) अन्तर्गत उहाँ नेपाल पुग्नुभएको थियो। अनि उहाँलाई अमेरिकी सहयोग नियोग ‘युएसएआइडी’ मा सल्लाहकार बनाइयो । उहाँले विज्ञान कसरी पढाउनुपर्छ भन्ने सिकाउनुभयो । युनिसेफ (संयुक्त राष्ट्रसंघीय बालकोष) का धेरै थरि काम गर्नुभयो । नेपालमा ‘न्यू एरा’ नामक संस्था छ । उक्त संस्था स्थापना गर्ने धेरै जनामध्ये उहाँ एक हुनुहुन्छ । हल सन् १९८६ देखि सन् १९९४ सम्म न्यू ह्याम्सर राज्यको प्रतिनिधिसभा सदस्य हुनुहुन्थ्यो । त्यसपछि राज्यको आर्थिक समितिमा ६ वर्ष रहनुभयो । सन् १९९६ मा नेपालको बजेट बनाउने सहयोगी-विज्ञका रूपमा तीन साताका लागि उहाँ नेपाल जानुभयो । पाँच वर्ष नेपाल बसेर अमेरिका फर्केपछि न्यू ह्याम्सर राज्यमा ३० वर्ष काम गर्नुभयो । ‘न्यू ह्याम्सर सेन्टर फर पब्लिक स्टडिज’ संस्थामा कार्यकारी निर्देशक भएर काम गर्नुभयो । ४ वर्षअघि हल सेवानिवृत्त हुनुभयो । फुर्सदमा अहिले उहाँ अमेरिका आएका नेपाली मुलका भुटानीलाई सहायता गर्दै हुनुहुन्छ । अंग्रेजी बोल्न नजान्नेका लागि ‘नेपाली-अंग्रेजी-नेपाली डिक्सनरी प्रोजेक्ट’ चलाउनु भएको छ । नेपाली मुलका भुटानीका लागि हल अभिभावक जस्तो हुनुभएको छ । उहाँ अलिअलि नेपाली बोल्नुहुन्छ र धेरै बुझ्नुहुन्छ । उहाँलाई नेपाली गीतसंगीत मनपर्छ । खाना र चलन पनि मनपर्छ । हलको जन्म सन् १९४३ मे ११ मा भएको हो । उहाँले लोअर मेरिअन हाइस्कुल पढ्नु भयो । स्टानफोर्ड विश्वविद्यालयबाट इलेक्ट्रीकल इन्जिनियरिङ सकेपछि उहाँ नेपाल जानुभएको हो । यसपाली हलका बाल्यसम्झना :
मेरो बाल्यकाल पेन्सलभानिया राज्यको फिलाडेल्फीयामा बित्यो । हाम्रो घर बाक्लो बस्ती भएका ठाउँमा थियो ।
म र मेरी बहिनी बाबाआमाका दुई सन्तान हौं । हामीलाई बाबाआमाले सानैमा अमेरिकाका सबैजसो राज्य घुमाउनुभयो । हाम्रो बिदामा घुम्ने मौका मिलाउनु हुन्थ्यो । देशभर घुम्दा धेरै मज्जा आउँथ्यो । उहाँहरूले हामीलाई घुमाएर देशका बारेमा ज्ञान दिन खोज्नुभएको रहेछ । हामी कस्तो पढ्छौं ? के गर्छौं ? त्यति ख्याल गर्नु हुन्न थियो ।
अमेरिकामा कक्षा १२ सम्म स्कुल नै हुन्छ । म राम्रो पढ्ने विद्यार्थी थिएँ । म शिक्षक र साथीहरूले गर्दा राम्रो विद्यार्थी बनेको थिएँ । हामीलाई कक्षा १२ मा पढाउने ‘म्याडम हे’ हुनुहुन्थ्यो । उहाँले स्कुले किताबबाहेकका किताब पढ्न हौसला दिनुहुन्थ्यो । त्यो किताबले के भन्ने खोजेको हो ? भन्ने सिकाउनुहुन्थ्यो । एउटा वर्षेबिदामा हामीले ४५ वटा किताब पढेर सकेका थियौं । प्रत्येक साता नयाँनयाँ किताब पढ्थ्यौं । म्याडम हेकै कारण पढ्ने र सोच्ने बानी बस्यो । त्यसपछि निकै असल भएँ । राम्रो पढेकैले स्टानफोर्डजस्तो नामचलेको विश्वविद्यालयमा पढ्न पाएँ ।
कक्षा १२ मा पढ्दाका सात जना हामी साथीभाई अझैं वर्षेनि एकपटक अमेरिकाको कुनै एक ठाउँमा भेला हुन्छौं । परिवारसहित भेला भएर रमाइलो गर्छौं ।
मलाई स्कुलमा विज्ञान विषय मनपर्थ्यो । मेरा अक्षर चाहिं त्यति राम्रा थिएनन । अरूलाई बुझ्न गाह्रै हुन्थ्यो । अमेरिकामा छोरा र छोरी बराबर हुन्छन् । कक्षामा हामी जति केटा थियौं, त्यति नै केटी थिए । अनि हाम्रो स्कुल ड्रेस हुँदैन थियो । अहिले पनि त हुन्न । नीजि स्कुलले ड्रेस लगाउने नियम बनाएका छन् ।
सानोमा अलिअलि चकचके थिएँ । तर घरमा चकचक गर्दिनथे । साथीहरूसँग चकचके गर्थे । हामीलाई बिहान स्कुलबसले स्कुल लान्थ्यो । १५ मिनेटमा स्कुल पुगिन्थ्यो । बेलुका चाहिं हामी फुटबल, बेसबल खेल्थ्यौं । बस त गइसकेको हुन्थ्यो । हामी साथीसाथी भएर हिंड्दै घर फर्कन्थ्यौं । हिंड्दा ४० मिनेट लाग्थ्यो ।
मलाई खेल्न मनपर्थ्यो । तर प्रतियोगितामा भाग लिने खालको खेल्दिनथें । साथीसँग खेल्दा रमाइलो हुने भएकाले मात्र खेल्थें । मलाई चित्र बनाउन र गीत/संगीतमा उत्तिको रूचि थिएन । म कहिल्यै स्टेजमा गइँन ।
घरमा आमाले जे खान दिए पनि म कुपुकुपु खान्थें । मीठो नमीठो कुरै गर्दिनथें । अलि पातलो थिएँ । मलाई पौडी खेल्न चाहिं औधी मनपर्थ्यो । वर्षेबिदामा म साथीहरू र परिवारसँग समुद्र पनि पुग्थे । अनि नुनिलो पानीमा मज्जाले पौडी खेल्थें । समुद्रीपानी नुनिलो हुन्छ । पौडी रमाइलो लाग्ने भएकाले अहिले यहाँ आएका नेपाली बालबालिकालाई समुद्रसम्म लान्छु । उनीहरू पौडन्छन् । नानीहरू पौडी खेलेको देख्दा मलाई मेरो बाल्यकाल याद आउँछ ।
टिचरले दिएको गृहकार्य वा प्रोजेक्ट वर्क नगर्दा हामीलाई सजाय दिनुहुन्न थियो । सबैका अगाडी उसले किताब पढेन वा यस्तो गरेन भनिदिनुहुन्थ्यो । हामी लाजले भुतुक्क पो हुन्थ्यौं । अनि जे गरेर ल्याउनु भन्नुहुन्थ्यो, गर्थ्यौं ।
म सानो हुँदाको एउटा रमाइलो घटना छ । म त्यसबेला २ वर्षका थिएँ । मलाई पोलियो भयो । पोलियोले देब्रे खुट्टा कमजोर भयो । दाहिने बढ्दै गयो । १२ वर्षको हुँदा दाहिने खुट्टाको अपरेसन गरियो । किनभने देब्रे खुट्टा सानो थियो र दाहिने बढीरहेको थियो । बढीरहेको खुट्टालाई रोक्न अपरेसन गरिएको थियो । मेरा खुट्टाहरू उत्तिकैका छैनन् । कम्मरबाट घुँडासम्म र घुँडाबाट पैतालासम्म लामा-छोटा छन् । घुँडा एउटै ठाउँमा छैन । त्यसैले म टुक्रुक्क बस्न सक्दिन ।
र अन्त्यमा, मलाई एउटा कुरा भन्न मन लागेको छ । म ४० वर्ष पहिला नेपाल जाँदा भेस्ट र पेन्ट लगाउने मानिस कम भेटिन्थे । म त्यस्ता लुगा लगाउँथे । सबैले नेपाली पोशाक लगाएको हुन्थ्यो । १४ वर्षअघि जाँदा भेस्ट र पेन्ट लगाउने धेरै मानिस देखिए । नेपाली पोशाक लगाउने कम देखिए । नेपाली भाइबहिनीले आफ्नो संस्कृति, रहनसहन, वेशभूषालाई बिर्सेका हुन् जस्तो लागेको छ । यसलाई बिर्सनु हुन्न । माया गरेर राख्नुपर्छ ।
(शब्दः राजेश कोइराला/अमेरिका, तस्बिर : तारा आचार्य, २०६७ भदौ ६ गते कान्तिपुरको बालकोसेली कोपिलामा प्रकाशित)
Want to read page, click here to get PDF.

Comments posted (2)

[...] वर्ष नेपालमा पिसकोर स्वयंसेवक रहेका डग हल अमेरिकाभर नेपालीभाषीको सेवामा [...]

Write a comment