रहरबाट जिम्मेवारी

हिउँ पर्छ है, त्यसबेलासम्म बिदा पाउँ भन्नुको एउटा कारण थियो । एउटा जिम्मेवार कारण । सक्नै पर्ने । करिब सकियो पनि । फुर्सद मिलेजस्तो जस्तो भएको छ । तर हिउँ चाहीँ यो वर्ष ढिलो पर्ने भयो । २०१२ जनवरीको १२ मै मात्र पर्ने मौसम-भविष्यवाणी छ । बिहान उठ्दा कम्तीमा पक्कै ६ इन्च । अहिले जनवरी ११ को राती ११ बजे ।
सन् २०१० अगस्तमा सुरु गरेको नेपाली न्युजलेटर ‘अक्षरिका’ ले मलाई एउटा जिम्मेवारी थपिदियो र भन्यो, ‘सक्छस् भने किताब तयार पार ।’ म पनि के कम गर्ने आँट गरे । धेरै थोकले साथ दियो । पिसकोर स्वयंसेवक डगलस हल, ज्वाईं सतन आचार्य र बहिनी तारा । नयाँ ठाउँ, समय र परिस्थिति । सबै ठिक मिल्यो ।
त्यसमा पनि पिसकोर स्वयंसेवक भई नेपाल बसेका डग हलको ठूलो हौसला, सहयोग र साथ मिल्यो । हलले नेपालमा ५ वर्ष बिताउनु भएको हो । सन् १९६८-१९६९ मा नेपालमा विज्ञान र अंग्रेजी पढाउनु भयो । दरबार हाइस्कुल र आनन्द कुटीमा शिक्षक हुनुहुन्थ्यो । उहाँलाई अमेरिकी सहयोग नियोग (युएसएआइडी) मा सल्लाहकार बनाइयो । उहाँले विज्ञान कसरी पढाउनुपर्छ भन्ने सिकाउनुभयो । संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) का धेरैथरि काम गर्नुभयो । भूटानी शरणार्थी अमेरिकामा बसाउन थालेपछि हलले ‘अंग्रेजी-नेपाली-नेपाली डिक्सनरी’ छापेर बाँढ्न थाल्नु भयो । उहाँले नै ‘अमेरिकामा बसोबास- सहयोगी पुस्तक’ (लिभिङ इन द युनाइटेड स्टेट्स) को अवधारणा अघिसार्नु भएको हो । किताब ‘नेपाली र अंग्रेजी’ दुवैमा छ । डगले अंग्रेजी सम्हाल्नु भयो र मेरो भाग नेपाली रह्यो ।
यहाँ आइपुग्दा मैले आफूलाई जिम्मेवारीको डोरीमा बाँधिएको पाएँ । किनभने जब विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा विज्ञानमा स्नातक (बिएस्सी) सकियो, तब २०४७ साल काठमाडौं लागियो । त्यसबेला मनमा दुईटा रहर थिए । सबैको जस्तो – टेलिभिजनमा मुख देखाउन पाइयोस् वा आफ्नो नाम कतै छापियोस् ।
टेलिभिजनमा मुख देखाउने रहरले म सुनिल पोखरेलको नाटक रिहर्सलमा पुग्थे । त्यसबेला बागबजारमा थियो, उहाँको थलो, फ्रेन्च कल्चरल सेन्टरमा । तर यो क्षेत्रमा म जान सकिन । बरू नेपाल वातावरण पत्रकार समूह जान थालें । नाम छाप्ने चाहीँ सफल हुने देखियो । वातावरण पत्रकार समूहमा तालिमपछि तालिम भो- रेडियो, भिडियो, प्रिन्ट ।
अन्तत: अवतरण चाहीँ प्रिन्टमा भयो । ‘विश्वज्ञान मञ्च’ पत्रिका निकाल्दा ‘विशेष अंक’बाहेक ‘सामान्यज्ञान’ का किताब लेख्न थालेदेखि अमेरिका आएर ‘अमेरिकामा बसोबास- सहयोगी पुस्तक’ (लिभिङ इन द युनाइटेड स्टेट्स) लेख्दासम्म करिब डेढ दर्जन पुग्न लागेछन्, किताब लेखेको- सम्पादन गरेको । बालसाहित्यमा ‘मिलिजुली’ (सन् २००५), ‘नयाँ गाउँकी आमै’ (सन् २००५), ‘झिल्केको फिरेन बुद्धि (सन् २००५) हुन् । द्वारिका ढकालसँग एउटा सामान्यज्ञान, सार्कसम्बन्धी पुस्तक र खरिदारको गाइड थिए । प्रेम बरालसँग खरिदार प्रश्नोत्तर थियो । आफैंले ‘क्विज’ का ४ वटा किताब लेखिएछ । ‘विज्ञान प्रश्नोत्तर’, ‘ऐरावती सामान्यज्ञान’, चार्ल्स शोभराजको कर्तुतको एउट सानो किताब ‘हत्यारा’ आदि एक्लै लेखें ।
विराटनगरबाट काठमाडौं आउँदा जुन रहरहरू थिए, ‘अमेरिकामा बसोबास- सहयोगी पुस्तक’ लेख्दा त जिम्मेवारीमा बदलिएको पाइयो । यो पुस्तक भूटानी शरणार्थीका लागि दुई-भाषे भएको गाइडबुक हो । अब भनौं न यो अवस्थामा जे पायो त्यही लेखेर त पक्का हुँदैन । ३१ वटा ‘अक्षरिका’ निकालुन्जेल कति पढियो, हिसाब छैन । आँखा टट्टाउने गरी पढियो । (धन्न अहिलेसम्म चश्मा चाहीँ लाउनु परेको छैन ।) ‘अक्षरिका’ तयार पार्ने क्रममा जे सिकियो वा पढियो, धेरै त्यही विषयहरू किताबमा काम लागे । तर यो ‘सहयोगी पुस्तक’ तयारीमा लाग्ने भएपछि १५-१५ मा निकाल्दै आएको ‘अक्षरिका’ महिना दिनमा निकाल्नु परेको छ । ४ महिना बिते ।
अब नाम छाप्ने रहर छैन । कामको कुरा छ । पक्को काम, जिम्मेवार काम ।
अर्को रहर टेलिभिजनमा मुख देखाउन पाइयोस् भन्ने थियो ।बिबिसी साझा सवालको एउटा एपिसोड नै प्रशस्त भयो । सन् २०१० जुलाईमा युट्युबमा राखेको थिए, त्यहीँ छ । करिब २५ हजार जनाले हेरिसक्नु भएछ । सुरुमै टेलिभिजनमा प्रसारण हुँदा कतिले हेर्नु भा’थ्यो होला ?
मेरा दुइ रहरमध्ये यो नाम छाप्नेको अहिले परिस्कृत रहर छ, वेबसाइटको । यो पनि २०१२ नकटाउने विचारमा छु । निकै राम्रो वेबसाइटको विकास गर्छु । धेरैलाई काम लाग्ने । हेरौं, म यसमा कति जिम्मेवार हुन्छु ।

Comments posted (2)

sure you can do it.

Namaskar Dai,

Dherai Khushi Lago Mathi ko Lekh Padera.

Keep update your article.

Thank you.

Write a comment