राष्ट्रियतामा गर्व गर्नेहरू

सबैले राष्ट्रियतामा गर्व गर्नुपर्छ
राणाहरूले ‘नयाँ मुलुक’
अर्थात् ‘बाँके, बर्दिया, कैलाली र कञ्चनपुर’
मुलुकमा जोडेर गर्व गरेथें
कांग्रेसीहरूले ‘टनकपुर’
मुलुकबाट घटाएर गर्व गरे
आखिर
राष्ट्रियतामा गर्व गर्नु न हो ।
००
(चकमक उपाध्यायका नाममा २०५१ कात्तिक १७, बिहिबारको ‘समकालिन साप्ताहिक’मा प्रकाशित)

मैले मलाई खोज्नु परेको छ

शहर पसेको भोलिपल्टदेखि
एउटा- म
यहाँ, त्यहाँ, जहाँ छ
सम्पन्नताको मृगतृष्णासँगै
जीवनलाई जुत्ताको तलुवा झैं खियाउँदै
कलेटी परेको अनुहार लिएर
चोक, गल्ली, सडक चहारिरहेछ
अर्को- म
मेरा लक्ष्य, उद्देश्य, आदर्श
बाबु बाजेको सपना
आमाको माया र आशीर्वाद लिएर
हराएको छ ।
चिन्ता लागिरहेछ
कतै भोक-भोकै, तिर्खै र नाङ्गै त छैन ?
हराएको पीडाले खपिनसक्नु पारेको छ ।
यता जिन्दगीले केवल दुई छाक टारेको छ ।
००
शहर पसेका हरेक म हरू
दुईटा भएका छन्
आधा ममा बाँचेका हामीहरू
अब मिल्नु परेको छ
एक आपसमा आसन्न बन्नु परेको छ
गाँस, बास र कपासभन्दा
आजको ठूलो आवश्यकता
– मैले हराएको आधा म खोज्नु परेको छ ।
मैले मलाई खोज्नु परेको छ
००
(२०५१ साउनको ‘मधुपर्क’ मासिकमा प्रकाशित)

उपत्यका २०४९

सधैं भरिएका खर्पन
र रित्ता कन्टेनर लिएर
यो उपत्यका ब्यूँझिने गर्छ
निसासिन्छ शुद्ध वायुको अभावमा
जुत्ताको तलुवा खियाउँछ
उज्यालोमा भीडमा हराउँछ
अँध्यारोमा बिलाउँछ
जिउनुको खेस्रा केलाउँछ
फेरि पलाउँछ
टुसाउँछ
दिनभरको थकाइ मेट्न
एक घुट्को रक्सी पिएर
रित्ता खर्पन
र भरिएका कन्टेनर लिएर
साँझ रन्थनिँदै घर फर्कने गर्छ ।

००
(२०४९ चैत २७ शुक्रबारको ‘साप्ताहिक विमर्श’मा प्रकाशित)

व्यङ्ग्य मुक्तक कविताहरू

वर्तमान सत्ताधारी
मह काढ्यो अर्कैले
हात चाट्दैछन् यिनीहरू

००
लोडसेडिङ
छिमेकीको भोजलाई
हर्पे सुम्पेर
बिना भुटुनमा टारेको छाक जस्तो

००
नेताको बोली
चुनाव अगाडी
”गोपीकृष्ण कहो”
चुनाव पछाडी
”चुप रहो”

००
वर्तमान कुटनीति
चाणक्यको नीति
र गीताको बखान लाउनेहरू
चतुरेको दाउपेचसम्म जान्दैनन्

००
जिन्दगीको डोको
खुल्ला बजार नीतिले पैदा गरेको
अर्थ व्यवस्थाको पोकोले
जिन्दगी बोक्नै नसक्ने डोको भएको छ ।

००
(२०४९ फागुन २९ शुक्रबारको ‘साप्ताहिक नेपाली-पत्र’मा प्रकाशित)