अजंग भारत र चीन

21st-Centuryउता नेपाल-भारत तनाव थियो, यता भने सोच्न बाध्य परिस्थिति सिर्जना भएको थियो । कुरा के पर्‍यो भने एउटा कामको सिलसिलामा मैले यु ट्युबको एउटा भिडियो (अझ भनौं न प्रजेन्टेसन जस्तो) हेरें । सन्दर्भ नेपाल-भारतको कुराको थिएन । खासगरी फैलँदो भारतको थियो, अनि चीनको । भारतसँग जोरी खेलिरहेको नेपाललाई सम्झेर त्यसको विषय-सन्दर्भले मलाई निकै घच्घच्याइरह्यो । मैले भिडियोका प्रत्येक वाक्यलाई दोहोर्‍याएर पढें । मनमा ती वाक्यहरू आइरहे । आइरहेका छन्-
– अंग्रेजी सिकिरहेका चीनियाँहरूको संख्या करिब अमेरिकाको जनसंख्या बराबर छ ।
– सन् २०२५ मा धेरै जनसंख्या भएको देश भारत हुनेछ ।
– आउँदो २ वर्षमा विश्वका ४ रोजगार व्यक्तिमध्ये एकजना भारतीय हुनेछन् ।
फरक सन्दर्भमा नेपालका कुरा

भिडियो थियो, शिक्षा कस्तो हुनुपर्छ ? शिक्षक कस्तो हुनुपर्छ ? त्यसमा उठेका विषय, नेपालका दुई छिमेकीका । विश्वका जल्दा-बल्दा अर्थतन्त्रका । जनसंख्यामा पहिलो र दोस्रो देशका ।
भारत र चीनको कुरा यसरी मात्र फैलँदो छैन । अर्को कन्थो भने गत जुलाईको पोखिहालौं । एउटा सानो कटेरोको जोहो गरेर भर्खर ठाउँ सरेको थिएँ । यो इन्टरनेट भन्ने प्रविधि के बनाएछन्, अमेरिकी जीवनको प्रत्येक पाइलामा नभई नहुने । नयाँ ठाउँमा त्यही कम्पनीको सेवा सारें । सबथोक भयो । नयाँ ठाउँका लागि उक्त कम्पनीले खोलिदिएको खाता (अकाउन्ट) चलेन । यस्ता कुरा फोन गरे समाधान त हुन्छ । तर समय लाग्छ । आफूसँग फूर्सद नाहिँ । एकदिन समय निकालेर फोन गरे । खाता खोल्न मिल्ने भयो । अन्तमा धन्यवाद भन्दै ‘गुड नाइट’ भन्दा उनले ‘गुड डे’ ठोकिदिए । मलाई सेवा दिइरहेको युवक थियो, भारतको । उसले मलाई भारतबाट सेवा दिइरहेको थियो । आजै मात्रको कुरा हो । स्वास्थ्य-बिमा नवीकरण गर्दा फोन गरेको मेरो बिमाको खाताका के छैन के छ ? भनेर बताइरहने युवती थिइन, फिलिपिन्सकी । अंग्रेजीका कारण कयौं यस्ता काम (कल सेन्टरलगायत अन्य) का भारत र फिलिपिन्स पुगेका छन् । त्यही अंग्रेजी सिक्न चीनियाँ लालायित छन् ।
शिक्षामा लगाव
शिक्षा हो । त्यही भारत र चीनका लाखौं विद्यार्थी वर्षेनि अमेरिका आउँछन् । यसो भनेर अमेरिका आउने नेपाली विद्यार्थी पनि शुन्य छैनन् । नेपाली कम देखिएका छैनन् । अमेरिका आउने नेपाली विद्यार्थीको संख्या गत आर्थिक वर्षभन्दा नबढे पनि अमेरिका विद्यार्थी पठाउने मुलुकको सूचीमा नेपाल तल झर्दै गएको छ । यस वर्ष नेपाल उक्त सूचीमा १९औं छ भने पोहोर १६औं थियो ।  नेपालका कूल ८ हजार १ सय ५८ विद्यार्थी अमेरिका आए । सन् २०१३/१४ भन्दा यो संख्या ३ जनाले मात्र बढी हो ।
सन् २०१४/१५ मा संसारका विभिन्न देशका ९ लाख ७४ हजार ९२६ विद्यार्थी आए । तर सबभन्दा बढी भने चीन र भारतकै । उनीहरू जनसंख्यामा मात्र बढी होइनन् । शिक्षाप्रतिको लगावमा पनि छन् । अरू धेरै विषयहरूमा नेपालसँग कालान्तरको फरक छ ।
नेपाललगायत विश्वका अरू मुलुकबाट अमेरिका आउने र विदेश गएर पढ्दै गरेका अमेरिकी छात्र-छात्राको तथ्यांक भने ओपन डुअर्स नामक प्रतिवेदनले छर्लङ पार्दै आएको छ । इन्स्टिच्युट अफ इन्टरनेसनल एजुकेसन नामक संस्थाले अमेरिकी विदेश मन्त्रालय (सेक्रेटरी अफ स्टेट) को ब्युरो अफ एजुकेसनल एन्ड कल्चरल अफेयर्स सहयोगमा वर्षेनि उक्त प्रतिवेदन प्रकाशित निकाल्छ । यसमा सन् १९९५/९६ देखि अमेरिका आएका नेपाली छात्र-छात्राको तथ्यांक छ ।
यस वर्षको तथ्याङ्कअनुसार सबभन्दा धेरै चिनका ३ लाख ४ हजार ४० लाई पछ्याउँदै भारत दोस्रो छ, जहाँका १ लाख ३२ हजार ८ सय ८८ विद्यार्थी अमेरिकामा छन् । तेस्रो स्थानमा दक्षिण कोरियाका ६३ हजार ७१० विद्यार्थी आए ।
पहिलो तीन स्थानमा भएका देश विश्वका अब्बल अर्थतन्त्र हुन् । त्यसपछिका देशका साउदी अरेबिया (५९ हजार ९४५), क्यानडा (२७ हजार २४०), ब्राजिल (२३ हजार ६७५), ताइवान (२० हजार ९९३), जापान (१९ हजार ६४), भियतनाम (१८ हजार ७२२) र दशौं स्थानमा मेक्सिको (१७ हजार ५२) छन् । नेपालअघि भनिएका एघारौंमा इरान (११ हजार ३३८), बेलायत (१० हजार ७४३), टर्की (१० हजार ७२४), जर्मनी (१० हजार १९३), नाइजेरिया (९ हजार ४९४), कुवेत (९ हजार ३४), फ्रान्स (८ हजार ७४३) र अठारौंमा इन्डोनेसिया (८ हजार १८८) छन् । त्यसपछि नेपाल छ र नेपालभन्दा कम छात्र-छात्रा पठाउनेमा हङ्गकङ्ग, भेनेजुयला, मलेशिया, थाइल्याण्ड, कोलम्बिया र २५ औं स्थानमा स्पेन छ ।
यता अमेरिकाबाट नेपाल जाने अमेरिकी विद्यार्थी २०.१ प्रतिशत बढेका पाइए, सन् २०१२/१३ मा ३७३ नेपाल गएकामा सन् २०१३/१४ मा ४६० गएको तथ्याङ्क प्रकाशित छ ।
र, अन्त्यमा
अमेरिकाका सूचना-प्रविधिमा अंग्रेजी-भाषामा शिक्षा लिएका विदेशीले राम्रो काम पाएका छन् । त्यसमा भारतीय उत्पादनको ठूलो हिस्सा छ ।
अमेरिकामा ‘मेड इन चाइना’ कुनै अनौठो होइन । यहाँ मात्रका के कुरा ! संसारभरका लागि ‘मेड इन चाइना’ गायत्री मन्त्र ! त्यसैले ‘चाइनागिरी’ ले ढपक्कै ढाकेको छ ।
यसरी यी ठूलासँगको नेपालको पौँठेजोरीको परिणाम के होला ? बढो गम्भीर विषय हो ।
सन्दर्भ-सामग्रीः
१. युट्युबको भिडियो
२. ओपन डुअर्सको प्रतिवेदन
३. गत वर्ष नागरिकमा छापिएको मेरो लेख ‘अमेरिकामा नेपाली विद्यार्थी’
४. अमेरिकामा नेपाली विद्यार्थीबारे जान्न अर्को ब्लग लेख

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<