यस वर्षको तथ्यांक हेर्ने हो भने अमेरिकामा नेपाली विद्यार्थी घट्दै गएको पाइयो । तर पनि नेपाली अर्थतन्त्र विश्वका महँगो र कुशल शिक्षाका लागि हजारौं विद्यार्थी दिन सक्छ भन्ने थाहा पाउँदा धेरैलाई अनौठो लाग्छ । लाग्छ, नेपाल विकासशिल (गरिब) राष्ट्र होइन । किनभने नेपालभन्दा राम्रा अर्थतन्त्र, जस्तैः हङकङ, नाइजेरिया, इन्डोनेसिया, थाइल्यान्ड, कुबेत, कोलम्बिया, भेनेजुयला, मलेसिया र स्पेनले नेपालभन्दा कम विद्यार्थी पठाएका छन् । विद्यार्थी अमेरिका पठाउने मुलुकमा नेपाल १५ राष्ट्रपछि छ, १६ औं स्थानमा ।
आ.व. ०१३/१४ मा अमेरिकामा ८ हजार १ सय ५५ मात्र नेपाली विद्यार्थी आएको देखिन्छ । तथ्यांक हेर्दा यो अमेरिकामा १६ औं स्थानमा नेपाली विद्यार्थी छन् भन्ने बुझिन्छ । गत आ.व. ०१२/१३ मा ८ हजार ९ सय २० थिए, नेपाल १३ औं स्थानमा थियो । आर्थिक वर्ष (आ.व.) ००८/०९ सम्म बढ्दै ११ हजार ५ सय ८१ पुगेका नेपाली विद्यार्थी त्यसपछि घट्न थालेका छन् ।
यसरी नै आमनेपालीसँगै छात्र-छात्राको अमेरिका आगमनले ठूलो हिस्सा ओगटै आएको छ । नेपाली छात्र-छात्राका लागि अमेरिका आकर्षण हो । नेपाललगायत विश्वका अरू मुलुकबाट अमेरिका आउने र विदेश गएर पढ्दै गरेका अमेरिकी छात्र-छात्राको तथ्यांक भने ओपन डुअर्स नामक प्रतिवेदनले छर्लङ पार्दै आएको छ । इन्स्टिच्युट अफ इन्टरनेसनल एजुकेसन नामक संस्थाले अमेरिकी विदेश मन्त्रालय (सेक्रेटरी अफ स्टेट) को ब्युरो अफ एजुकेसनल एन्ड कल्चरल अफेयर्स सहयोगमा वर्षेनि उक्त प्रतिवेदन प्रकाशित निकाल्छ । यसमा सन् १९९५/९६ देखि अमेरिका आएका नेपाली छात्र-छात्राको तथ्यांक छ ।
केही दिनअघि सार्वजनिक उक्त प्रतिवेदन भन्छ- आ.व. ०१३/१४ मा ८ लाख ८६ हजार ५२ विदेशी विद्यार्थी अमेरिका आएको देखिन्छ । सबभन्दा बढी विद्यार्थी आउने देशमा चीन छ, जहाँबाट २ लाख ७४ हजार ४ सय ३९ आए । चीनलाई पछ्याउँदै भारत, दक्षिण कोरिया, साउदी अरेबिया, क्यानडा, ताइवान, जापान, भियतनाम, मेक्सिको, ब्राजिल, टर्की, इरान, बेलायत, जर्मनी र फ्रान्स क्रमशः दोस्रोबाट १५ औं स्थानमा छन् । १६ औं नेपाली विद्यार्थीको संख्यालाई हङकङ, नाइजेरिया, इन्डोनेसिया, थाइल्यान्ड, कुबेत, कोलम्बिया, भेनेजुयला, मलेसिया र स्पेन क्रमशः १७ औंदेखि २५ औं स्थानले पछ्याएका छन् । स्पेनका ५ हजार ३ सय ५० विद्यार्थी यहाँ आए । हजारौं नेपाली कामदार पुग्ने मुलुक र नेपाल एउटै सूचीमा छन् । कुनै मुलुक नेपालभन्दा माथि र कुनै तल छन् ।
सबभन्दा बढी विदेशी विद्यार्थी भएका मुख्य पाँच राज्यमा क्यालिफोर्निया, न्युयोर्क, टेक्सस, म्यासाच्युसेट्स र इलिनोय छन्, जहाँ क्रमशः १ लाख २१ हजार, ९८ हजार, ६४ हजार, ५१ हजार र ४२ हजार विदेशी विद्यार्थी छन् । यसैगरी विदेशी विद्यार्थी पढ्ने मुख्य विश्वविद्यालयहरूमा न्युयोर्क युनिभर्सिटी, युनिभर्सिटी अफ साउर्दन क्यालिफोर्निया, युनिभर्सिटी अफ इलिनोय – अर्बाना – स्याम्प्यान, कोलम्बिया युनिभर्सिटी र पर्दु युनिभर्सिटी – मुख्य क्याम्पस छन्, जहाँ ११ हजारदेखि १० हजारसम्म विद्यार्थी छन् ।
अमेरिकामा विद्यार्थी आउने मात्र होइन, यहाँका विद्यार्थी विदेश पढ्न पुग्छन् । आ.व. ०१३/१४ मा अमेरिकाबाट २ लाख ८९ हजार ४ सय ८ छात्र-छात्रा विदेशिए । उनीहरू बेलायत, इटली, स्पेन, फ्रान्स, चीन, जर्मनीजस्ता देशमा बढी जान्छन् । अमेरिकाबाट विद्यार्थी नेपाल पनि जान्छन् । अमेरिकी छात्र-छात्रा जाने मुख्य २५ मुलुकमा नेपाल पर्दैन । ०१२/१३ मा ३ सय ८३ विद्यार्थी नेपाल पुगेको तथ्यांक ओपन डुअर्ससँग छ ।
अमेरिकामा नेपाली विद्यार्थी किन घट्दै छन् ? के नेपाली शिक्षास्तर वृद्धि भएको हो ? बन्द-हड्तालबाट शिक्षाक्षेत्र कम प्रभावित हुन थालेको हो ? के नेपालको आर्थिक अवस्था गिर्दो छ ? के आफ्ना नानी अमेरिका पठाउने निश्चित पेशाकर्मी हुन् र तिनको आम्दानी घटेको हो ? यस्ता कयौं प्रश्न यहाँ अनुत्तरित हुन्छन् । यस विपरित नेपाली विद्यार्थी पाउने अमेरिकी विश्वविद्यालयहरूका लागि एउटा खोजको विषय हुनसक्छ, तिम्रा विद्यार्थी आखिर कसले लगिरहेछ ?
अमेरिका आउँदा पेश गर्ने कागजात विश्वासिलो नभएका थुप्रै उदाहरण भेटिन्छन्, त्यसमा पनि बढी आर्थिक प्रमाण । यस्तै कारण दूतावासको अध्यागमन छनौट प्रक्रिया दिनानुदिन स्वभाविक रूपमा पेचिलो बन्दै गएको छ । वास्तविक आर्थिक अवस्था पेश नगरि आउनेको पढाइ पनि यहाँ अलमल्ल छ । उसले पैसालाई पो प्राथमिकता दिएको छ कि खोज्ने कसले हो ?
(लेख २०७१ पुस ४/ सन् २०१४ डिसेम्बर १९ को ‘नागरिक दैनिक’ मा प्रकाशित । कोइराला, अमेरिकामा निस्कने ‘अक्षरिका’ न्युजलेटरका सम्पादक)