मादले …….

प्राण_भादगाउँले टोपी

म गाउन जान्दिन । सुन्छु । अलि-अलि राम्रो-नराम्रो छुट्याउन सक्छु जस्तो लाग्छ । मजस्तो पुड्को संगीतप्रेमीका लागि गएका केही दिन निकै खुसीको रह्यो ।
पहिलो आनि छोइङले ए.आर. रहमानको संगीतमा जोर्डनियन गायिका फराह सिरजलसँग एउटा गीत गाएको भिडियो सार्वजनिक भयो । मैले यो गीत कतिपटक सुनिसके मलाई नै थाहा छैन । न आनिको मन्त्रको अर्थ लगाउन सक्छु, न त जोर्डनको भाषा बुझ्छु । आनिलाई आफ्नो मानेर अनि रहमानको संगीतमा सधैं लठ्ठ पर्ने भएर हो, यी हरफहरू लेख्दा पनि त्यही गीत सुन्दैछु ।
उता बेलायतको विश्व विख्यात विम्बले एरेनामा नेपथ्यले कन्सर्ट प्रस्तुत गरेको छ । नेपथ्यका सबैजसो गीत मसँग छन् । म बारम्बार सुनिरहन्छु । लण्डनको विम्बलेका दर्शक बनेका नेपाली संगीतप्रेमीहरूले युट्युबमा पोष्ट गरेका केही भिडियो हेरे । समाचारहरू पढे । मज्जा लाग्यो ।
आनि, रहमानको संगीतमा समेटिइन् । नेपथ्य, लण्डनमा घन्क्यो । हो, संगीतले सीमा छुट्याउँदैन रहेछ । कहिले पो छुट्याएको थियो र ?!
हाम्रा प्रतिभाले सीमा काटेको यो नयाँ भने होइन । नेपाली गायक, संगीतले फरक किसिमले भारतमा काम गरेको इतिहास छ । उसबेला रोजीरोटीका लागि भारत जाने क्रम विस्तारै प्रतिभा देखाउनेतर्फ मोडिएको पाइन्छ । मैले भारतमा गीत-संगीतमा काम गरेका तीन विख्यातहरूसँग अन्तर्वार्ता गर्ने मौका पाएको थिएः रञ्जित गजमेर, होमनाथ उपाध्यायकुमार कान्छा । यी प्रतिभासमेत धेरैले नेपाली सीमा नाघेर भारतमा गीत-संगीतका क्षेत्रमा काम गरेका छन् ।
प्राणको प्राण गएपछि
गजमेर, उपाध्याय र कान्छाले भन्दा पनि यसपटक मलाई भारतीय नायक / खलनायक प्राणको निधनले मेरा लागि केही लेखौं भन्ने साइत जुराइदियो । उनी सन् १९७४ मा बनेको हिन्दी चलचित्र ‘कसौटी’ मा गोर्खा चौकिदारको पहिरनमा ‘हम बोलेगा तो बोलोगे के बोलता है ….’ गीतमा देखिएका छन् । उनले नेपाली दौरा-सुरुवाल-भादगाउँले टोपी लगाएका छन्, कम्मरमा पोटुकामा खुकुरी भिरेका छन् । चौकिदार नै भए पनि नेपालीले यसलाई ‘तीतो मान’ ठानेका थिए ।
हम बोलेगा तो बोलोगे के बोलता है \-२
एक मेमसाब है साथ में साब भी है
मेमसाब सुन्दर\-सुन्दर है साब भी खूबसूरत है
दोनों पास\-पास हैं बातें खास\-खास हैं
दुनिया चाहे कुछ भी बोले बोले
दुनिया चाहे कुछ भी बोले
हम कुछ नहीं बोलेगा
हम बोलेगा तो …
प्रशान्त तामाङ्ग ‘इन्डियन आइडल’ मा उत्रदा यही गीतबाट करिब यात्रा सुरु गरे । जिते । उनको जीतपछि यही प्रशान्त र भारतमा बसेका नेपालीका लागि विष भयो । दिल्लीको एउटा एफएमका आरजेले गोर्खालाई खिल्ली उडाएर जातीय अपमान गरेपछि भारतको नेपाली समुदाय सडकमै उत्रियो । अहिले यो प्रसंग यति नै ।
कान्छाले कान्छीलाई लग्यो
आफ्नोपन पोशाक वा कसैको नक्कलमा मात्र नखोजौं । सन् १९५८ मा बेनेको हिन्दी चलचित्र ‘मधुमती’ मा एउटा गीत छ, ‘रूत मतवाली, झुमे डाली-डाली’ तर गीतको मुखडा यस्तो छः
‘कान्छाले कान्छीलाई लग्यो, वनको बाटी लालटिनै बालेर ….’
यसमा स्पष्ट नेपाली शब्दहरू छन् । गीत लेखेका हुन्, शैलेन्द्र अर्थात् शैलेन्द्र केशरीवालले । उनी भारतको बिहार राज्यको आरा जिलाका रहेछन् । आरा र नेपाल त्यति नजिक पनि छैन । उनले यी शब्द कसरी समेटे ?! गीत सुन्दै जाँदा ‘बालन’ को लय पनि आभास हुन्छ । अनि थप केही नेपाली शब्द सुनिन्छन् ।
त्यसपछि सन् १९६९ मा बनेको ‘तलाश’ को एउटा गीत छ, ‘जुनेली रातमा’ । यो गीत सुरु हुन्छ, यसरीः
‘जनेली रातमा, जुनेली रातमा, जुनेली रातमा, जुनेली रातमा
आउनुहोस् आउनुहोस् आजको जुनेली रातमा
ओ जेठी
ओ माइली
ए साइली
ओ कान्छा
अरे आउनुहोस् आउनुहोस् आजको जुनेली रातमा’

यसमा पनि स्पष्ट नेपाली शब्दहरू छन् । गीत लेखेका हुन्, मजरूह सुल्तानपुरीले । उनी रहेछन्, उत्तर प्रदेशका । मेरो जिज्ञासा उस्तै छ, उनले यी शब्द कसरी समेटे ?!
कान्छा-कान्छी र आर. डी. बर्मन
आर. डि. बर्मन र उनका पिता एस.डी. बर्मनले नेपाली-कलाकार र बाजाको खुब प्रयोग गरेका थिए । गजमेर र उपाध्यायलाई यसको ज्ञान छ । उहाँहरूले केही किस्सा मलाई सुनाउनु भएको थियो । त्यसमा आर.डी. ले संगीत दिएका गीतमा नेपाली-बाजा र नेपाली शब्द प्रचुर पाइन्छन् । आर.डी.बारे बनाइएको ‘पञ्चम अनमिक्स्ड’ मा गजमेरले ‘अजनबी’ (सन् १९७४) को गीत ‘हम दोनो दो प्रेमी ….’ मा मादलको प्रयोग कसरी भयो भनेर भनेका छन् । आर.डी. (राहुल देव) लाई ‘पञ्चम’ उपनामले चिनिन्छ ।
हिन्दी चलचित्रहरूमा ‘बहादुर’ भनेर चौकिदारमात्र होइन, कान्छा र कान्छी भन्ने नाम पनि प्रशस्त प्रयोग भएको पाइन्छ । गजमेरलाई आर.डी.को टिममा ‘कान्छा’ भनिन्थ्यो । आर.डी. नहुँदा पनि गजमेरको परिचय ‘कान्छा’ बाट हुने गरेको छ । कुमार कान्छा त नामैले कान्छा भए ।
‘कान्छाले कान्छीलाई लग्यो’ जस्तै केही गीतहरूमा पनि ‘कान्छा-कान्छी’ शब्द भेटिन्छन् । यहाँ सन्दर्भ भारतीय अभिनेता देव आनन्दको । सन् १९७० को ‘जोनी मेरा नाम’ मा काठमाडौंसम्मको कथा छ । यो चलचित्रमा हिरा-चोरहरू काठमाडौंतिर भागेको कथा छ । यसमा कथा मात्र काठमाडौंको छ, हाम्रो प्रसंगमा नजोडौं । कथा र छायांकनको विषय कुनै अरू बेला ।
उसबेला नेपालमा तिब्बती शरणार्थी थिए । भूगोलविद् टोनी हागन ती शरणार्थीको बसोबासमा जोड दिन्थे । यही विषयलाई लिएर टोनी र राजा महेन्द्रबीच चिसो बढेको थियो । उता भारतीय अभिनेता देव आनन्द भने नेपाललाई चलचित्रमा उतार्न तम्सिएर लागेका थिए । हिप्पीहरू थिए, काठमाडौंमा । गाँजा-साम्राज्य थियो, पर्यटनको केन्द्र । देवले चलचित्र ‘हरे राम हरे कृष्ण’ (सन् १९७१) मा ‘दम मारो दम’ गीतमा गाँजा खाँदै लठ्ठ हिप्पीहरू मात्र उतारेनन्, ‘कान्छी रे कान्छी रे’ गीतलाई तिब्बती गलैंचा कारखानाहरूमा खिचे । यसको संगीत आर.डी. को हो भने गीत आनन्द बक्षी ।
‘कान्छा-कान्छी’ को अर्को गीत । सन् १९८१ को ‘जमाने को दिखाना है’ मा आर. डि. कै संगीतमा एउटा गीत छ, ‘होगा तुम से प्यारा कौन’ । मजरूह सुल्तानपुरीले लेखेको यो अर्को गीतमा ‘कान्छा-कान्छी’ शब्दको प्रयोग रमाइलो ढंगले प्रस्तुत गरिएको छः
(अरे होगा तुमसे प्यारा कौन
हमको तो तुमसे है है कँचन
है कञ्चन प्यार) \-२

(ऊँचे घरवाली हो या गलियों की रानी
कोई भी हो तुम रहती हो कहीं ) \-२
तुमसे बढ़के यारा कौन हमको तो तुमसे है हे कान्छी
को: है कान्छी
है कान्छी
को: है कान्छी
हो प्यार

आर.डी. को प्रभाव सन् २००५ मा बनेको ‘परिणीता’ का संगीतकार शान्तनु मित्राले आफ्नो संगीतमा भएको स्वीकारेका छन् । दार्जीलिङ्गको रेलमा छायांकन गरिएको ‘परिणीता’को गीत ‘कस्तो मजा है रेलैमा रमाइलो उकाली-ओराली’ मा नेपाली शब्दहरूसँगै सुरु भएको छ । यो गीत स्वानन्द किरकिरे नामका रचनाकारको हो ।
आर.डी. बारे एकपटक अलि ‘गैर-हैसियती टिप्पणी’ गरेका हिन्दी गायक/संगीतकार/नायक हिमेश रेशमियाले सन् २०१२ मा बनेको ‘खिलाडी ७८६’ को एउटा गीत ‘बल्मा’ मा मादलको तालबाट सुरु गरेका छन् । तर यसमा मादल बजाएजस्तो लागे पनि मादल हो भनेर मैले हेक्का गर्न सकिंन ।
कुमार कान्छाको प्रयोग
कुमार कान्छाले आफ्ना गुरू उस्ताद सुल्तान खान र गायिका चित्राको ‘तेरी यह सुरमयी आँखे’ गीतमा नेपाली-बोलले सुरू गरिदिएका छन्, ‘नाच्यो मैच्याङ्ग तिमी डम्फूको तालैमा\- २, माया तिमी लाइदेउ मलाई बिहे गर्छु आउने सालैमा’ । उनले अनुराधा पोड्वालसँग ‘ढल्केन ढल्केन’ बोलको गीतमा ‘ढल्केन ढल्केन गोरी रूपको आँचल ढल्केन, छल्केन छल्केन रूपको लाली छल्केन’ को बोलबाट सुरू भएको छ । यी दुवै गैर-फिल्मी गीत नेपालीहरूमाझ निकै लोकप्रिय भएका थिए ।
काठमाडौं जाने बहाना
काठमाडौंको शिव महिमामा लेखिएको एउटा गीत छ, ‘राम भरोसे’ (सन् १९७७) चलचित्रमा । शिव, राम र काठमाडौंको प्रसंगको यो गीत ‘चल चल रे काठमान्डू, मिलेङ्गे वहाँ शम्भू ….’ । यसको संगीत रवीन्द्र जैनले गरेका छन् भने गीत हसरत जयपुरी ।
र, अन्त्यमा !?
‘मुसु मुसु हाँसीदेउ न’ बोलको गीत सञ्जय श्रेष्ठले गाएका हुन् । यही गीत भारतीय गायक शानले सन् १९९९ मा बेनको ‘प्यार मे कभी कभी’ मा यही गीत गाएका छन् । ‘प्यार मे कभी कभी’का लागि यो गीत विशाल र राज कौशलले लेखेका छन् । यो गीत वास्तवमा रहेछ, ‘हिमालयन ब्याण्ड’ को । यसको रेकर्डिङ हङकङमा भएको रहेछ, सन् १९७० को दशकमा । सञ्जय चाहीं बीचतिर गाउने गायक भए । हिन्दी फिल्ममा यो पछिल्लो संस्करण बन्यो । सर्वाधिकारको के कुरो ? :)

Write a comment