रञ्जित गजमेर सानो छँदा

थोत्रो रेकर्ड र रिलका टुक्रा

रञ्जित गजमेर प्रसिद्ध संगीतकार हुनुहुन्छ । उहाँ भारतको मुम्बईमा बसेर संगीत क्षेत्रमा काम गर्नुहुन्छ । भारतका वरिष्ठ संगीतकार एसडी बर्मन र उहाँका छोरा आरडी बर्मनका साथमा मादल बजाउँदाबजाउँदै उहाँ भारतीय संगीतमा छाउनुभएको छ । उहाँले संगीत दिएका चलचित्रको संख्या १ सय १० भन्दा बढी भइसकेका छन् । उहाँले नेपालीलगायत बंगाली, हिन्दी, गढवाली, कुमाउ आदि भाषाका चलचित्रका संगीत दिनुभएको छ । रञ्जितले संगीत दिएका नेपाली चलचित्र : सम्झना, अन्याय, बाँसुरी, कुसुमे रुमाल, तृष्णा, साइनो, चिनो, लाहुरे, दर्पण छायाँ, दुई किनारा आदि हुन् । डेनी डेङ्जोपाले गाएका ‘मनको कुरालाई बाँधी नराख गाँठो परिजाला….,’ ‘चिसो चिसो हावामा यो मन त्यसै बरालिन्छ….,’ ‘हेरिदेऊ आँखा सपना विपना…,’ र ‘जिन्दगीमा यस्तो दिन कसरी….,’ बोलका चर्चित गीत रञ्जितले लेख्नुभएको हो । उहाँको जन्म सन् १९४२ अक्टोबर ३ मा दार्जिलिङको अगमसिंह गिरी रोडमा भएको हो । उहाँका पिता लक्ष्मणसिंह (लछुमनसिंह) र माता मनमाया हुनुहुन्थ्यो । उहाँहरू पाँच दाजुभाइ र तीन दिदीबहिनी जन्मनुभएको हो । उहाँ कान्छो छोरो हो । उहाँको मुम्बईको पहिलेको सानो घरबाट नेपाली निर्देशक एवं कलाकार तुलसी घिमिरे, उदितनारायण झा, दीपा झा, बन्नी प्रधान, शम्भु प्रधान, मुरलीधर, त्रिप्ति नाडकर आदिले आफ्ना संघर्षका दिन सुरु गरेका थिए । उहाँले गत अप्रिलको ‘सर्वोत्कृष्ट चलचित्र संगीतकार’ सहित असंख्य पुरस्कार पाउनुभएको छ । उहाँ भन्नुहुन्छ, ‘मैले संगीतबाहेक केही सिकिन । यसैका पछि लागें । अहिले यहाँ आइपुगें ।’ उहाँ छिन्नलता पुरस्कार ग्रहण गर्न श्रीमती कुसुमका साथ हालै काठमाडौं आउनुभएको थियो । यसपटक गजमेर सानो छँदाका केही सम्झना :
हाम्रो परिवार संयुक्त परिवार थियो । बुबा र काकाहरू पाँचजना एकै ठाउँमा बस्नुहुन्थ्यो । एकैखालको काम गर्नुहुन्थ्यो । हाम्रो सुनका पसलहरू थिए ।
मिलेजुलेको परिवारमा एउटा अप्ठ्यारो आयो । म सात वर्षको हुँदा बुबा दार्जिलिङ सानो रेलमा दुर्घटनामा पर्नुभयो । लामो समय थलिएपछि उहाँको निधन भयो । सम्पूर्ण कामको जिम्मेवारी आमामाथि थोपरियो । मैले जान्दा ठूल्दाजुको मात्र बिहे भएको थियो ।
मलाई २००८ सालमा स्कुल भर्ना गरियो । घरनजिकै म्युनिसिपालिटी स्कुल थियो । त्यो कक्षा ६ सम्मको थियो ।
म सानोमा असाध्यै ख्याउटे थिएँ । रोगी थिएँ । धेरैले ‘यो धेर बाँच्दैन’ भन्थे । खेल्न जान्नथें । आमा पनि खेल्न जान दिनुहुन्नथ्यो ।
साहिँला दाजु अर्जुन संगीतमा रुचि राख्नुहुन्थ्यो । उहाँका गुरु भने भिनाजु हीराकुमार सिंह हुनुहुन्थ्यो । दाजु तबला बजाउनुहुन्थ्यो । नाटकहरूमा काम गर्नुहुन्थ्यो । तबला बजाएर बाहिर जाँदा उहाँ, ‘यी सामान नछुनु है’ भन्दै जानुहुन्थ्यो । म दाइ हिँडेपछि तबला बजाउन थाल्थें ।
त्यसबेला कसैको घरमा रेडियो हुनु त ठूलो कुरा थियो । साहिँला दाजुले कहिलेकाहीँ ग्रामोफोन ल्याउनुहुन्थ्यो । कालो रङको गोलो चक्का घुम्थ्यो र गीत बज्थ्यो । हामी गीत सुन्थ्यौं । रमाइलो लाग्थ्यो ।
एकपटक आमासँग बजार जाँदा मैले पनि बेच्न राखेको रेकर्ड किनुदिनुहोस् भनें । उहाँले किनी त दिनुभयो । तर बजाउन सजिलो थिएन । म घुमाउँथे । त्यो बज्दैनथ्यो । मैले रेकर्ड बजाउन धेरै कोसिस गरें । एकपटक साहिँला दाजुले देख्नुभयो र भन्नुभयो, ‘त्यसरी के हुन्छ, मूर्ख ?’ उहाँले सलाईको डब्बामा पिन अडाएर चक्का घुमायो भने बज्छ भन्नुभयो । साँच्चै थोरैथोरै सुनियो । म खुसी भएँ । म फुटेको रेकर्ड पाए पनि खेलेर बस्थे । स्कुलबाहेक घरबाहिर जान नसक्ने भएकाले घर नै मेरो संसार हुन्थ्यो । यसैगरी दाजुका साथी आउँथे । सबै मिलेर बाजा बजाउँथे । गाउँथे । म हेरेर बस्थें ।
एकपटक साहिँला दाजुले कोलकाताबाट सिनेमा रिल ल्याउनुभयो । राति देखाउनुभयो । मैले पनि रिलका टुक्रा भेटें । मैनबत्ती बालेर भित्तामा देखाउन थालें । केटाकेटीसँग एक/दुई पैसा लिएर रिल देखाउँथे । पैसा भेला पारेर मैनबत्ती नै किन्थे । त्यतिबेला म ८/१० वर्षको थिएँ ।
लुकेर तबला बजाउँदा बजाउँदै म जान्ने भएछु । एकपटक साहिँला दाजुले सुन्नुभएछ । दाजुहरू मिलेर ‘योङ गोर्खा एसोसिएसन’ खोल्नुभएको थियो । त्यस संस्थाले आयोजना गरेको कार्यक्रममा कान्छा बाजे गणेश शर्माका छोराले भ्वायोलिन र मैले तबला बजाएर एउटा आइटम प्रस्तुत गर्‍यौं । हामी दुवै साना मान्छेले संगीत प्रस्तुत गरेपछि हाम्रो खूब चर्चा भयो । त्यही चर्चाले रुचि बढ्यो । जाँगर चल्यो । अनि त साहिँला दाजुले सिकाउनै थाल्नुभयो ।
कक्षा ७ मा टर्न बुल स्कुलमा भर्ना भएँ । मेरा साथी मार्क कार्थक, पिटर कार्थक, शरण प्रधान आदि थिए । शरण बेन्जो बजाउँथे । हामी खुबै मिल्थ्यौं । उनी धेरै प्रतिभाशाली थिए ।
मेरो पढाइ ठीकै थियो । कमजोर पनि भएकाले शिक्षकहरूले माया गर्नुहुन्थ्यो । त्यो केटाहरू मात्र पढ्ने स्कुल थियो । हामीलाई प्रशस्त गृहकार्य दिइन्थ्यो । नगर्दा उठबस गर्नुपर्थ्यो । घुँडा टेकेर बस्नुपर्थ्यो । तर मैले उत्तिको सजायँ पाइनँ । मलाई त ‘भोलि गरेर आउलास्’ भनेर भन्नुहुन्थ्यो । स्कुलमा ड्रेसको चलन थिएन ।
नेपालबाट ईश्वर बल्लभ जानुभएको थियो । उहाँ संस्कृत पढाउनुहुन्थ्यो । उहाँ कडा स्वभावका शिक्षक हुनुहुन्थ्यो । सबै डराउँथ्यौं ।
चाडपर्वमा तिहार रमाइलो हुन्थ्यो । समूह बनाएर देउसी खेल्थ्यौं । धेरै पैसा पाउँथ्यौं । कुनै घरमा त १२ रुपैयाँसम्म पाइन्थ्यो । त्यो उसबेलाको धेरै पैसा हो । त्यो पैसाले भाडामा ल्याएका बाजाको खर्च हुन्थ्यो । पैसा बचे हामी आफैं बाजा किन्थ्यौं । अझ पैसा बचे, नाटक गर्थ्यौं । दसैंमा नयाँ लुगा नै सबभन्दा खुसीको कुरा हुन्थ्यो । म क्यारेम र लक्कु (चेप्टा ढुंगा थुपारेर बलले हिर्काउने खेल) खेल्थें । फुटबल मन परे पनि खेल्न सक्दिनथें । मलाई रायोको तरकारी खुब मनपर्थ्यो । अहिले पनि मनपर्छ । माछामासु पनि खान्छु ।
एकपटक माटाको तबला (डुग्गी) किने । त्यो पनि आमाको पाँच रुपैयाँ चोरेर । आमाले थाहा पाएर कुट्नुभयो ।
मैले सेकेन्ड डिभिजनमा स्कुल फाइनल (त्यहाँको एसएलसी) पास गरें ।
आमाले धेरै दुःख गर्नुपर्‍यो । त्यति ठूलो परिवारमा महारानी जस्ती मेरी आमा दिनदिनै गरिबगरिब हुँदै जानुभयो । दाजुहरू अलग भए । म र एउटी दिदी आमाका साथमा थियौं । दिदीको बिहे भएपछि परिवार झनै सानो भयो । एकपटक त आमाले सब्जीको पसलसमेत चलाउने अवस्था आयो ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६५ साउन १७ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<