गायक बन्ने सपना
कुमार कान्छा प्रसिद्ध गायक हुनुहुन्छ । उहाँ भारतको मुम्बई (बम्बई) मा बस्नुहुन्छ । पिता जागिरको सिलसिलामा दैलेखबाट कोलकाता (कलकत्ता) पुगेका बेला कुमार जन्मनुभएको हो । उहाँको जन्म २०१४ मंसिर २८ मा भएको हो । पिताको नाम मनबहादुर शाह र माताको नाम तुलसीदेवी शाह हो । उहाँकी एक दिदी हुनुहुन्छ । उहाँ श्रीमती र दुई छोराका साथ मुम्बईमा बस्नुहुन्छ । कुमारले नेपालका एक सयभन्दा बढी चलचित्रमा गीत गाउनुभएको छ । ‘लाहुरे’, ‘कोसेली’ जस्ता चलचित्रमा अभिनय पनि गर्नुभएको छ । चलचित्रबाहेक गाएका नेपाली गीतहरू संगालेर उहाँका दुई क्यासेट चक्का (एल्बम) बजारमा आएका छन् । भारतमा भने उहाँले २५ भन्दा बढी भाषाका एक हजारभन्दा बढी गीत गाउनुभएको छ । ‘पीया कर गावँ’ नामक चलचित्रमा उत्कृष्ट अभिनय गरेबापत राष्ट्रियस्तरको पुरस्कार पाउनुभएको छ । नेपाली भाषाका गीतहरू संगालेर उहाँको तेस्रो एल्बम आउँदैछ । त्यही एल्बमको तयारीका लागि उहाँ काठमाडौं आउनुभएको छ । यसपटक कुमार कान्छा सानो छँदाका केही सम्झना :
म स्कुल जान्थेँ । तर मेरो मनमा आफू बसेको कलकत्ताभन्दा बम्बई दौडिरहन्थ्यो । पढाइमा त्यति ध्यान दिन्नथेँ । म किताबका खाली ठाउँमा बम्बई-बम्बई लेखेर बस्थेँ । मलाई बम्बई जान मन थियो । मलाई गायक किशोर कुमारजस्तै गायक बन्न मन थियो । मेरो साथी पदम भन्ने थिए । लक्ष्मण पनि थिए । बुबा-आमा र दिदी हुनुहुन्थ्यो ।
जब म एघार वर्षको भएँ । म स्कुलको झोला बोकेर घरबाट भागेँ । मलाई बम्बई जानु थियो । किशोर कुमार बन्नुथियो । म बम्बई पुगेँ । बिरानो ठाउँमा कोही थिएन । चार दिन भोकै रहेँ । एक जना नेपाली एउटा पन्जाबीको होटलमा काम गर्थेँ । उनले १५ दिन खान दिए । उनले भनेका थिए, ‘पन्ध्र दिन खान दिन्छु । त्यसपछि आफैं केही गर्नुपर्छ ।’ म त्यसपछि के गर्ने भनेर ठाउँ-ठाउँ गएँ ।
खलनायकको अभिनय गर्ने प्राणका घरमा गएँ । उनका घरमा नेपाली नै गार्ड थिए । उनीहरूले कुकुर लगाएर खेदाए । नेपाली भनेर अभिनेत्री माला सिन्हाको घरमा गएँ र भनेँ, ‘मलाई काम दिनुहोस् । म नेपाली नै हुँ ।’ म पुगेको केही दिन पहिले नेपाली कामदारले उहाँको घरबाट पैसा लिएर भागेको रहेछ । उहाँले भन्नुभयो, ‘अहँ दिँदै दिन्न । नेपालीले जात नै फाल्यो । मेरो पैसा चोरेर भाग्यो ।’
दुई/तीन वर्ष मुम्बई बसेपछि मलाई घरको याद आयो । म कोलकाता फर्के । बुबाको जागिर सकिएको रहेछ । परिवार नै नेपाल फर्किएछ । म कहाँ जाने ? नेपाल कुन ठाउँ थाहा भएन । त्यहाँ मेरा मामा-काका थिए । सबैले भेट्दा भन्थे, ‘लौ आएछौं । कहाँ गएका थियौं, बाबु ?’ मलाई लाग्थ्यो, ‘सबैले माया गरे ।’ तर जहाँ गए पनि भाँडा माझ्न लगाउँथे । म त दिक्क भएँ र मनमनै भनेँ, ‘भाँडा माझ्ने र लुगा नै धुने भएँ, आफ्ना कहाँ किन बस्ने ?’ म फेरि मुम्बई फर्के ।
म फुटपाथमा हुर्कें । बसपार्कको जस्ताजस्तो सिमेन्टको छानामाथि कागज ओछ्याएर पनि सुतेँ । कति भाँडा माझेँ । कति कपडा धोएँ । मान्छेले कुटे र मैले पनि छाडिन । बदमासी गर्दा जेल पुगेँ । तर गीत गाउन छाडिन । एसएमलालको कक्षामा गएर पढेँ । मागेर भने कहिल्यै खाइनँ ।
एकपटक लखनऊ जान मन लाग्यो । त्यहाँ गएर दुई वर्ष जति बिताएँ । मुम्बईबाट एकपटक बाहिर जाँदा भाडा थिएन । टिकट काटेको थिएन, रेल चढेँ । पक्राउ पर्छु भन्ने डरले गीत गाउन थालेँ । सडकमा गीत गाएर हिँड्ने बाबु र सानी छोरी रेलमा थिए । यात्रुले पैसा दिन
थाले । १४/१५ रुपैयाँ भएछ । त्यो बाबु चाहिँले ऊसँगै गाएर हिँड्न भन्यो । मैले झपारेँ । आधा पैसा दियो । भोको थिएँ, टन्न खाएँ ।
धेरै वर्षपछि चलचित्र पुरस्कार लिन आउँदा काठमाडौंमा बस्दै आएकी दिदीसँग भेट भयो । मलाई आमा भेटेजस्तो भयो ।
मैले धेरै दुःख झेलेँ । मलाई के लाग्छ भने हरेक अँध्यारो रातपछि उज्यालो दिन आउँछ । रात जति कालो हुन्छ, दिन त्यति उज्यालो हुन्छ । त्यसैले दुःख भयो भनेर आत्तिनु हुँदैन । सुख भयो भनेर मात्तिनु हुँदैन । तर उन्नति गर्न घर छाडेर हिँड्नु पर्दैन । घरमै रहेर पनि गर्न सकिन्छ ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६६ जेठ १७ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)