टेबुल महिमा

Cover२०५२ सालमा दाजु सहयोग पोखरेल (सानिमाको छोरा) ले, ”मेरा एकजना साथी छन् । उनी सामान्यज्ञानको पत्रिका निकाल्न चाहन्छन्,” भन्नुभयो । म नेपाल वातावरण पत्रकार समूहबाट तालिम लिएको काँचै अवस्थाको पत्रकार थिएँ । त्यहाँ मैले आधा दर्जन तालिम लिएको थिएँ । ‘वातावरण’ रेडियो कार्यक्रम र ‘आँखी-झ्याल’ भिडियो-पत्रिकामा थोरै काम गरेको थिएँ । हामीलाई ‘रेडियो सगरमाथा’ खोल्ने भनेर तयार पारिएको थियो । ‘रेडियो सगरमाथा’ खुल्न ढिलो भएपछि यताउता लागेका धेरैजसोमध्ये म पनि हुँ ।
सहयोग दाजुको आग्रहमा मेरो भेट कवि अर्जुनप्रसाद पराजुलीसँग भयो । अर्जुनजी, म र एकजना सरकारी जागिरे मित्र द्वारिकाप्रसाद ढकाल (धादिङ, पछि काठमाडौं, उहाँको निधन भइसक्यो) मिलेर एउटा पत्रिका ‘विश्वज्ञान मञ्च’ निकाल्यौं । म उक्त पत्रिकाको सम्पादक थिएँ । एउटा कार्यालयको खाँचो थियो, अनि एउटा टेबुलको । बागबजारको कन्या क्याम्पसको सामुन्ने ‘पायोनियर ल फर्म’ को एउटा कोठा ‘विश्वज्ञान मञ्च’ को भयो । ‘विश्वज्ञान मञ्च’ का तीन दर्जन अंक निस्किए । त्यसमा एउटा सुन्दर टेबुल थियो मेरो । मलाई टेबुल जति मनपर्छ । कुर्सीले मेरो मन खिच्दैन ।
२०५६ मा मैले कान्तिपुर पब्लिकेसन्स प्रवेश गरें । म पाँच महिना २४ दिन विदेश पृष्ठको काममा लागे । त्यसपछिको करिब साढे चार वर्ष रात्री डेस्क । २०६० चैत १ देखि औपचारिक रुपमा बालकोसेली ‘कोपिला’ का लागि खटिएँ । मलाई छुट्टै कोठा र टेबुल दिइएको थियो । यसका लागि कान्तिपुर पब्लिकेसन्सलाई धन्यवाद दिनुपर्छ, म टेबुलको शौखिन हुँ ।
कान्तिपुरमा हुँदा एउटा नयाँ काम सुरु भयो । मेरो सामान्यज्ञान, समसामयिक जानकारीप्रतिको भोक ‘विश्वज्ञान मञ्च’ले जगाएको थियो । २०५९ मंसिरदेखि ‘सर्वज्ञान मञ्च’ निकाल्न थालियो । प्रकाशक पनि म आफैं बसें । श्याम खड्का दाईले व्यापारिक काम जिम्मा लिनुभएको थियो । यो पनि धेरै चलेन । ४० वटा जति अंक निस्केर बन्द भयो । यसको काममा मेरो ‘विश्वज्ञान मञ्च’को टेबुल र कोपिलाकै कोठाको टेबुलले निकै काम दिए ।
Table-1घरका लागि यी टेबुल
सिफलमा डेरा गरेर बसेका बेला एउटा पुरानो ल्यापटप थियो, ज्वाइँ सतन आचार्य नेपाल फिर्दा ल्याएको । मैले किनेको थिएँ । जेठानलाई भनेर उहाँले सस्तोमा दिएको हुनुपर्छ । यो ल्यापटप त्यही ‘विश्वज्ञान मञ्च’को टेबुलमा हुन्थ्यो । आफू कान्तिपुरमा जागिरे थिएँ । नानीहरू खेल्दा माथिबाट थिचेछन् । त्यसको स्क्रिन र सिस्टम जोड्ने तार टुटेछन् । ल्यापटपभन्दा महँगोमा मर्मत गर्नुपरेको थियो । यसको पिडाले मैले कपनमा घर बनाएर बस्दा एउटा ल्यापटप जस्तै ढक्कन खुल्ने टेबुल बनाउन लगाएको थिएँ । यसको ढक्कन खोलेर भित्तामा अड्यायो । ल्यापटप खोल्यो, काम गर्‍यो । काम सकेपछि ल्यापटप बन्द गर्‍यो, अनि टेबुलको ढक्कन ।
Table-2ठूली छोरीलाई गणितको अभ्यास गराउन अर्को टेबुल तयार पारियो । यसको माथिको भाग ‘ह्वाइट बोर्ड’ को थियो । हिसाब गर्दै मेट्न मिल्ने । यो मेरो सोचमा बनाइएको होइन । तर टेबुलप्रतिको मेरो लगाव थियो । ल्यापटपको ढक्कनवाला टेबुल र ‘ह्वाइट बोर्ड’ भएको टेबुल मैले एकराज सुवेदीलाई दिएँ । सुवेदी, मैले त्यसबेला सम्पादन गरेको ‘अटो नेपाल’ का उपसम्पादक थिए । मैले टेबुलसँगै सम्पादकको पद पनि उनैलाई सुम्पिएर आएँ । उनी नेपालको अटो क्षेत्रकै पत्रकारिता गर्दैछन् ।
अक्षरिकाको आरम्भ
२०६७ (सन् २०१०) मा अमेरिका आएपछि ‘अक्षरिका’ निकाल्दाको रोचक प्रसंगमा ज्वाईं सतन-बहिनी ताराको म्यानचेस्टर, न्यु ह्याम्सरको भान्साको टेबुलको कुरा गर्नै पर्छ । भान्साको टेबुलमा काम गर्ने अमेरिकी चलनले एक्कासी प्रभाव पारेको थियो । फराकिलो, जति जे फिजाँए पनि हुने ।
ज्वाईं सतन सन् २००५ मा डाइभर्जिटी भिसामा सपरिवार अमेरिका आउनु भयो । केही महिना न्युयोर्क बसेपछि उहाँ न्यु ह्याम्सर सर्नुभयो । न्यु ह्याम्सरको म्यानचेस्टरमा ‘म्यानचेस्टर कम्युनिटी रिसोर्स सेन्टर’ मा काम गर्नुभयो । यो सेन्टरले नेपाली–भाषी भूटानीहरूलाई पुनर्स्थापनाका लागि तालिम आदि दिन्थ्यो । म्यानचेस्टर आइपुग्ने नेपाली–भाषी भूटानीहरूलाई सतनजीको ठूलो साथ मिलेको थियो । मान्छेपिच्छे आफूले जानेको कुरा भन्नुभन्दा उहाँले नेपालीमा केही सामग्री हुन सके कति राम्रो हुन्थ्यो भन्ने लाग्यो । तर यसलाई कसरी बनाउन सकिएला भन्ने चाहि गाह्रो थियो । उहाँ आफू बजार–व्यवस्थापनमा राम्रो अनुभव भएको व्यक्ति यो पत्रकारिताका काम सहज थिएन, तथापी बहिनी ताराले रत्नराज्य क्याम्पसबाट पत्रकारितामा स्नातक गरेकी थिइन । तर ‘प्रिन्ट’ जर्नालिज्ममा केही अनुभव लिन मात्र पाएको थियो । बिहे भयो । यी पाठ्य–सामग्रीको अवधारणालाई मूर्त दिन उनले भ्याइनन्, सकिनन् । यसबीचमा सतनजीले पत्रकारिता जान्ने नातेदारहरूलाई नभन्नु भएको होइन । ती नातेदारमध्ये म पनि थिएँ । तर एकपटक पनि अमेरिका नपुगी, त्यहोका बारेमा थोरै नजानी काम गर्न सजिलो थिएन ।
सन् २०१० जुनमा म न्युयोर्क आएँ । अगस्त १५ देखि ‘अक्षरिका’ निस्कन थाल्यो । कुनै पनि सामग्री अनुवाद गरेर फटाफट बाँढ्नुभन्दा न्युजलेटरका रुप दिंदा राम्रो हुने ठानेर यसलाई चार पृष्ठको न्युजलेटर बनाइयो । यसको नाम भने मज्जाले जुराइयो । अक्षरिका नामकरण अक्षर र अमेरिकाको संयोजनबाट भयो । त्यसैले यसको उद्देश्य अमेरिकामा बस्ने नेपाली–भाषी समुदायलाई शिक्षा, जानकारी, हौसला दिनु र सक्षम बनाउनु तोकियो ।
यसलाई शुरूमा पाक्षिक गरियो । सन् २०११ मा मलाई एउटा सहयोगी–किताब (नेपाली–अंग्रेजी गाइड बुक) संयाजन गर्ने मौका मिल्यो । सन् १९६० को दशकको अन्त्यतिर नेपालमा पिसकोर स्वयंसेवक भएर फिरेका डगलस हलले उक्त किताबका प्रस्ताव ल्याउनुभयो । उहाँ नै ‘अमेरिकामा बसोबास‘ नामक उक्त किताबको अंग्रेजीतर्फका संयोजक हुनुभयो ।
अक्षरिकाको नाम र एउटा सिंगो किताबका धेरै काम फत्ते पार्ने गरिएको त्यो टेबुल, स्थानीय ‘बब फर्निचर’ को थियो । पैसा परेअनुसारको गतिलो नभएको कुरा भइरहन्थ्यो । त्यसका खुट्टा हल्लिरहन्थे, पेच-किल्ला कसिरहनुपर्थ्यो । तर टेबुलले ठूलो गुन लाएको छ ।
अहिले मसँग कुनामा राख्ने अंग्रेजी ‘एल’ आकारको टेबुल छ । सँगैको कुर्सी घुम्ने छ । क्यार-क्यार कराउँछ । चित्त बुझ्छ । कुर्सीप्रति मेरो केही लोभ छैन । नहोस् पनि । तर मेरो टेबुल मलाई बेला-बेला सानो लाग्छ । मलाई ठूलो टेबुल होस् भन्ने अझै लाग्छ । कुनै दिन त होला नि एउटा विशाल टेबुल ।
अझै धेरै काम गर्न पाइयोस् ।
००००
(राजेश, ‘अक्षरिका’ नेपाली न्युजलेटरका सम्पादक हुन् । यो लेख नेपाल अमेरिका पत्रकार संघ, नेजा, को वार्षिक स्मारिका ‘प्रयास’ को २०१८ मा प्रकाशित भएको हो ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<