संसारभर नेपाली खोज्दै

Pratidhwani--2bf कति देशमा नेपाली वा नेपाली-भाषी होलान् ? यो प्रश्न सबका मनमा जाग्ने प्रश्न हो । जवाफ सजिलो छैन । समाचारहरू हेरेर मात्र यसको अनुमान गर्न सकिन्छ । नेपाली नपुगेका विश्वमा अब देशहरू छैनन् । गैर आवासिय नेपाली संघ (एनआरएनए) का गतिविधि र सम्पर्कले नेपालबाट परदेशिएका वा काममा जाने गरेका नेपाली सबैजसो देशमा पुगेको प्रष्ट्याउँछ । एनआरएनएको ६ दर्जन देशमा राष्ट्रिय समन्वय परिषद् (नेसनल कोअर्डिनेसन काउन्सिल) बनेका छन् । यति हुँदाहुँदै पनि नेपालबाहिर रहेका नेपाली वा नेपाली-भाषीको ठ्याक्कै संख्या पाउन कठिन छ ।
भाषाको कुरा गर्दा विश्वमा बोलिने भाषाहरुको सूचीमा नेपाली भाषा बोल्नेहरु करिब ६० औंमा पर्छौं । खासगरी चीनमा बोलिने मन्डारिन बोल्ने मानिस सबभन्दा बढी छन् । त्यसपछि विश्वका मुख्य भाषाका सूचीमा स्पेनिश, अंग्रेजी, बंगाली, हिन्दी आदि छन् ।
कहाँ कहाँ नेपाली ?
सधैंका लागि गएका र कामका लागि गएका नेपालीहरूको सन्दर्भ यहाँ आउन सक्छ । नेपाली-भाषा बोल्नेहरू नेपालबाहेक मुख्य रूपमा भारत, भूटान, बर्मा (म्यान्मा), हङकङ, बेलायत आदि देशमा छन् ।
अमेरिकामा नेपाली-भाषा बोल्नेहरू करिब ३ लाख भएका छन् । अमेरिकामा ८२ हजार नेपाली-भाषी भूटानी स्थायी रूपका लागि बस्न थाल्नु भएको छ । अमेरिकालगायत विश्वका अरू ८ मुलुकमा अस्ट्रेलिया, क्या नाडा, डेनमार्क, नेदरल्यान्ड्स, न्यूजिल्यान्ड, नर्वे, र बेलायत गरी ९३ हजारभन्दा बढी नेपाली-भाषी भूटानीलाई स्थायी रूपमा पुनर्वास गराइएको छ । सन् २०१० को अमेरिकी जनगणनाले ५९ हजार ४ सय ९० मात्र नेपाली देखाए पनि दुई लाख नेपाली भएको अनुमान गरिन्छ ।
नेपाली-भाषीहरू क्यानडा, अष्ट्रेलिया, फिनल्यान्ड, नर्वे, स्वीडेन, न्युजील्यान्ड, बेल्जियम, जापान, चीन आदि देशमा पनि छन् । पछिल्ला वर्षहरूमा बेलायतमा पूर्व गोर्खा सैनिक र उनका परिवारले स्थायी बसोबास गर्न पाए । बेलायतबाहेक क्यानडा र अष्ट्रेलियाले धेरै नेपालीलाई तानेको छ । भारतका विभिन्न ठाउँमा नेपाली
भारतका पनि सिक्किम, दार्जिलिङ, आसाम, मेघालय, नागाल्यान्ड, मणिपुर, मिजोरम, अरुणाचल प्रदेश, कोलकाता, दिल्ली, बंगलोर, विशाखापट्नम, गोआ, बिहार, चेन्नई (मद्रास), मुम्बई (बम्बई), हैदरावाद, उत्तराखण्डमा नेपाली-भाषीहरूको बसोबास छ ।
काममा नेपाली
नेपालमा प्रत्येक वर्ष करिब चार लाख युवा श्रम बजारमा अवसरमा प्रवेश गर्छन् । तर त्यसको आधाभन्दा बढि संख्या बेरोजगार रहन्छ । यसरी देशबाहिर जाने र देशमै बेरोजगार हुनेमा सबैभन्दा बढि १७ – ३० उमेर समूहका छन् । एक घण्टामा करिब ३३ युवा वैदेशिक रोजगारको लागी काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने गर्छन् । त्यो संख्या महिनामा करिब चौबिस हजार हुन जान्छ । तर खुला सिमाना हुँदै भारतमा रोजगारमा जानेको संख्या अझै भन्दा बढि हुन सक्छ भन्ने अनुमान गर्न सकिन्छ । कामका लागि परदेश जानेहरू भारतबाहेक कतार, साउदी अरब, कुवेत, युनाइटेड अरब इमिरेट्समा पनि हुनुहुन्छ । मलेशियामा पहिलेदेखिका पुराना बासिन्दा र कामका लागि जाने गरी धेरै नेपाली हुनुहुन्छ ।
अन्यत्र नेपाली
अफ्रिकाका धेरै मुलुकमा अहिले नेपाली कामका लागि पुगेका छन् । अफ्रिकाका पूर्वी भेगका देशहरुमा मात्र करिब ५ हजार नेपाली काम गर्दै आएका छन् । भारत हुँदै दक्षिण अफ्रिकाका पुगेका नेपालीले त्यहाँ आधा शताब्दीभन्दा बढी समय बिताइ-सक्नुभएको छ । यस्तै दोस्रो विश्वयुद्धसम्ममा युद्धका लागि गएका धेरै नेपाली अन्य देशमा पनि पुगेको अनुमान गरिन्छ ।
यसो भन्दाभन्दै विश्वका सबै देशमा नेपाली र नेपाली-भाषीको यकिन तथ्यांक भने फेला पार्न गाह्रो छ । गन्तीको प्रयास सबैबाट होस् भन्ने लाग्छ ।
००००
(कोइराला, अमेरिकामा निस्कने ‘अक्षरिका’ नेपाली न्युजलेटरका सम्पादक । यो लेख अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, अटावा, क्यानडाको मुखपत्र ‘प्रतिध्वनि भाग – २’, २०१५ अप्रिलमा प्रकाशित भएको थियो ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<