अमेरिकामा भूटानी पुनर्स्थापनाका छ वर्ष

America-ma-bhutani-punarsthapana-ko-6-barsha_2014-May-08_Webसन् २००८ मार्चमा अमेरिकालगायत विश्वका ८ मुलुकमा थालिएको नेपाली-भाषी भूटानी शरणार्थीको पुनर्स्थापनाले ६ वर्ष पूरा गरेको छ । यस अवधि (सन् २०१४ मार्च अन्तसम्म) मा अमेरिकामा ७४ हजार ७ सय ६२ जना पुनर्स्थापित हुनुभएको छ । गत मार्च अन्तिमपछि अप्रिल ८ मा नै ७५ हजारौं व्यक्तिका रुपमा तिलकचन्द घिमिरे अमेरिका आउनुभएको छ । अमेरिकामा ७५ हजार पुग्दा विश्वका अरु ७ देशमा समेत ८८ हजार ७ सय ७० पुनर्स्थापित हुनुभएको छ ।अमेरिकामा पुनर्स्थापनाको तथ्यांक हेर्दा सन् २०१२ मा सबभन्दा बढी (१५ हजार ७० जना) र सन् २००८ मा सबभन्दा कम (५ हजार ३ सय २० जना) भूटानी अमेरिका आउनुभएको छ । अमेरिकाको आर्थिक वर्ष अक्टोबर १ मा शुरु भएर अर्को वर्षको सेप्टेम्बर ३१ मा सकिन्छ । यहाँ उल्लेख सन् (वर्ष) पनि त्यसैअनुसार हो । सन् २०१४ सकिएकै छैन, तर अहिले (सन् २०१३ अक्टोबरदेखि सन् २०१४ मार्च अन्तसम्म) सम्म ४ हजार ४ सय २४ जना पुनर्स्थापित हुनुभएको छ । त्यसबाहेक सन् २००९ मा १३ हजार ४ सय ३२, सन् २०१० मा १२ हजार ३ सय ६३, सन् २०११ मा १४ हजार ९ सय ९९ र सन् २०१३ मा ९ हजार १ सय ३४ पुनर्स्थापित हुनुभएको थियो ।
तथ्यांक हेर्दा महिनामा औसत १ हजार २४ जना भूटानी अमेरिकामा पुनर्स्थापित हुनुभएको छ । पुनर्स्थापना केही महिनामा धेरै बढी र केहीमा निकै कम पनि देखिन्छ । सन् २०१४ मार्च अन्तिम आइपुग्दा सबभन्दा बढी एक महिनामा पुनर्स्थापित हुनेको संख्या २ हजार १ सय ४८ छ, जुन २०११ सेप्टेम्बरको देखिन्छ । त्यसपछि सन् २०११ अगस्तमा २ हजार ३५ र सन् २०१२ अगस्तमा १ हजार ९ सय ५८ छ ।
यसैगरी कमतर्फ शुरुवातका महिना सन् २००८ मार्च र अप्रिलमा क्रमशः १ सय ७ र १ सय २३ छ । त्यसपछि सन् २०१३ अक्टोबरमा २ सय ६९ छ । अक्टोबर २०१३ मा संख्या कम हुनुको कारण अमेरिकी सरकार ‘सटडाउन’ हुनु हो । यी तीन महिनाबाहेक सन् २०११ अप्रिलमा ४ सय १५, सन् २००८ मे महिनामा ४ सय ४१ र सन् २०१३ जनवरीमा ४ सय ५२ अमेरिकामा पुनर्स्थापित भएको तथ्याङक स्टेट डिपार्टमेन्टसँग छ ।
सन् २०१२ को आर्थिक वर्ष समापनसँगै भूटानी शरणार्थी भित्र्याउने क्रमलाई अलि कम गति दिएको देखिन्छ । नेपालमा भएका शिविरहरू रित्तिदै जाँदा यो क्रम घट्नु स्वभाविक हो । अहिलेकै गतिमा पुनर्स्थापना जारी रहँदा वा सबै पुनर्स्थापनामा जान मञ्जुर भएमा बढीमा अबको ३-४ वर्षमा नेपालका शिविर करिब खाली हुन्छन् ।
पुनर्स्थापना अमेरिकाका ५० मध्ये ४१ राज्यमा गरिएको छ र नौ राज्यमा छैन । बढी संख्यामा भूटानी शरणार्थी पुनर्स्थापित गरिएका ५ राज्यः पेन्सलभेनिया (८ हजार १ सय ३९), टेक्सास (७ हजार १ सय २१), न्युयोर्क (६ हजार २ सय ७८), ओहायो (५ हजार ३ सय ७५) र जर्जिया (४ हजार ९ सय ८२) हुन् । कम संख्यामा पुनर्स्थापित गरिएका ५ राज्यः अर्कन्सास (३), लुजियाना (४१), साउथ क्यारोलाइना (५०), इन्डियाना (१ सय १०) र न्यु मेक्सिको (१ सय २४) हुन् । पुनर्स्थापित नगरिएका नौ राज्यः अलाबामा, डेलावर, हवाई, मेन, मिसिसिपी, मोन्टाना, ओक्लहामा, वेस्ट भर्जिनिया र वायोमिङ हुन् ।
सरकारले यी राज्यमा पुनर्स्थापना नगराएको भए पनि अमेरिकामा एक राज्यबाट अर्को राज्य वा ठाउँबाट अर्को ठाउँमा बसाई सर्न पाइने भएकाले अहिले यही संख्यामा उहााहरु त्यहीँ बसोबास नगरेको हुनसक्छ । विदेश मन्त्रालयले सरकारले शुरुमा ल्याएर बसाएको राज्यपिच्छेको संख्यामा थोरै कम-बेसी हुनसक्ने बताएको छ । रोजगारीको अवसर र नातागोतासँग नजिक बस्ने उद्देश्यले बसाइँ सरेका उदाहरणहरू प्रशस्त पाइन्छन् ।
नेपालका शिविरमा बस्दै आउनुभएका करिब २६ हजारले पुनर्स्थापना तेस्रो मुलुक जान मञ्जुरी जनाउनुभएको छ भने करिब १२ हजार दोधारमा हुनुहुन्छ । अन्य ७ मुलुकबाहेक अमेरिकाले ८७-८८ प्रतिशतलाई पुनर्स्थापना गर्दै आएकाले अमेरिकामा अझै २२-२४ हजार अपेक्षा गर्न सकिन्छ ।
(अमेरिकामा निस्कने ‘अक्षरिका’ नामक नेपाली न्युजलेटरका सम्पादक, २०७१ वैशाख २५ / २०१४ मे ८ को ‘नागरिक’ दैनिकमा प्रकाशित लेख, थप जानकारीका लागि मे, २०१४ को ‘अक्षरिका‘ हेर्न सकिन्छ ।)
(टिप्पणीः लेख प्रकाशित पृष्ठको तस्बिर हेर्दा शिर्षकको ठ्याक्कै तलको अंश, ब्रेकर, अन्य लेखको परेको छ । पृष्ठ र सम्पादन हतार भएकाले यो सच्याउन नभ्याएको हुनसक्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<