जब सांसदहरूको सिंहदरबारमा हुन्छ भेला
तब पृथ्वीनारायणसँग गर्न थाल्छन् रेला
पहिलो हुद्दाबाट एउटा कराउँछ –
”थाक्यो होला उठाइरहँदा हात
छोड्नुहोस् उठाउन, लाग्नुहोस् हाम्रो साथ”
दोस्रो हुद्दाबाट –
”एक औंला उठाउनमा कुनै तुक रहेन अब
पाँच वटै औंला उठाउनु पर्ने भो”
तेस्रो हुद्दाबाट –
”उठाउने भए उठाउनुहोस् दुवै हात
नत्र भने मेरो हातमा घन छ”
चौथो हुद्दाबाट लुकेर कराउँछ अर्को –
”खाली औंला र हात अब नउठाउनु
हात फिंजाएर बरू भिख माग्नु”
पाँचौं हुद्दा मौन रहन्छ
छैठौं हुद्दाबाट –
”जोडदार तरिकाले ओर्लनुपर्यो, मैदानमा
हामी छौं सडकमा
कसेर उठाउनुहोस् मुठ्ठी”
एकपछि अर्को, लाग्छ झर्को
र मानेर दिक्क पृथ्वी बोल्छन् –
”के हो यस्तो चाला
गर्न त आँटेका होइनौं मेरो छुट्टी ?!”
००
कताबाट हो कुन्नी जंगबहादुरको बोली आउँछ
”पृथ्वीलाई छुट्टी दिने भए
बोलाउनु मलाई”
मौन बसेको हुद्दाबाट एउटा चिच्याउँछ
”हवस् ! महाराज”
००
(२०५३ चैत २१ को ‘समकालिन साप्ताहिक’मा प्रकाशित)