हामी एक अर्काको साथी भएजस्तै एउटा देश र अर्को देश साथी हुन्छन् । त्यसलाई मित्र राष्ट्र भन्ने गरिन्छ । एक देशले अर्को देशलाई सहयोग गर्छन् । तर साथी बनेका देश कसरी हात मिलाउँदा होलान् ? कसरी गफ गर्दा होलान् ? फोनमा कसरी कुराकानी गर्दा होलान् ?
देशहरू आपसमा कुरा गर्न सक्दैनन् । कुरा गर्न, फोन गर्न, हात मिलाउन मान्छे पठाउँछन् । यसरी एउटा देशले उसको मित्र राष्ट्रमा पठाएको मान्छेलाई ‘राजदूत’ भनिन्छ । कोही अर्को राष्ट्रमा बस्ने गरी राजदूत भएर जान्छन् त कोही प्रतिनिधि मात्र हुन्छन् । प्रतिनिधि कहिलेकाहीं त्यहाँ जान्छन् । नेपालले विश्वका १ सय ३८ देशलाई आफ्नो साथी बनाएको छ । नेपालका केही मित्र देशमा नेपालका राजदूत छन् । केहीमा छैनन् । त्यस्तै राजदूतमध्ये म अमेरिकाका लागि नेपालका राजदूत हुँ । मेरो नाम डा. शंकरप्रसाद शर्मा हो ।
सन् २००९ नोभेम्बरदेखि अमेरिकामा राजदूत छु । म राष्ट्रिय योजना आयोगको पहिले सदस्य र पछि उपाध्यक्ष, अर्थ मन्त्रालयको सल्लाहकार भएँ । मैले दक्षिण पूर्व एसिया अध्ययन संस्थानमा वरिष्ठ अर्थशास्त्री भएर काम गरें । मैले त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र पढाएँ । मैले विश्व बैंक, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम, युएनडिपी जस्ता संस्थामा सल्लाहकार भएर काम गरें । विश्वका धेरै पत्रपत्रिकामा लेख लेखेको छु । मैले लेखेका र सम्पादन गरेका आठ वटा किताब छन् । अनि सम्पादन गरेका पत्रिका पनि छन् ।
यतिका कुरा भनेपछि तिमीलाई सोध्न मन लाग्यो होला, ‘तपाईं कहाँ जन्मनुभएको हो ?’
हो, भन्छु है । मेरो जन्म २०१० असारमा काठमाडौंको गैरीधारामा भएको हो । मेरो बुबाको नाम भीमप्रसाद उपाध्याय घिमिरे र आमाको नाम रमादेवी उपाध्याय घिमिरे हो । मेरा दाजु, दिदी र बहिनी हुनुहुन्छ । मैले त्रि-चन्द्र कलेजमा बीएसम्म पढें । त्रिभुवन विश्वविद्यालयबाट एमए गरें । अनि मैले अमेरिकाको हवाई राज्यको हवाई विश्वविद्यालयबाट विद्यावारिधी, पीएचडी गरें ।
बुबा जागिरे भएकाले मैले धेरै स्कूल पढेको छु । हामी ओखलढुंगाका घिमिरे हौं । बुबा जागिरे भएकाले परिवार काठमाडौं आएको हो । बुबा-आमा काठमाडौं आएपछि म जन्मिएको हुँ । बुबाको जागिर लेखापढी गर्ने थियो । त्यो कार्यालय अहिलेको गृह मन्त्रालय हो ।
मलाई सानोमा बुबा-आमाले घरमा पढाउनुभयो । आमाले क ख … सिकाउनुभयो । अक्षर चिनाउनुभयो । बुबाले त्योभन्दा माथिको पढाउनुभयो । त्यसो भएकाले बुबा-आमालाई मेरो पहिलो गुरू मान्नुपर्छ । त्यसपछि टोल-छिमेकमा पढियो । कक्षा ४ को भएपछि लैनचौरको शान्ति विद्यागृहमा भर्ना भएँ । घरबाट नजिक भएकाले त्यहाँ पढिएको हो । शान्ति विद्यागृहमा जनकनाथ प्याकुरेल र योगनाथ प्याकुरेलले पढाउनुहुन्थ्यो ।
कक्षा ६ मा म पद्मोदय स्कुलमा भर्ना भएँ । पद्मोदयको पढाइ राम्रो भनेर त्यहाँ पढ्न गएको हो । घरबाट अलि टाढा हो । २५ मिनेट लाग्थ्यो । पद्मोदयमा इश्वरराज अर्याल सर हुनुहुन्थ्यो । उहाँ इतिहास पढाउनुहुन्थ्यो । मलाई त उहाँले पढाउनु भएको होइन । मलाई कृष्णबहादुर मानन्धर, आनन्दप्रसाद ढुंगाना, भरतराज शर्माले पढाउनुभयो ।
स्कुल जाँदा-आउँदा हामी रमाइलो गर्थ्यौं । त्यसबेला हिंडेर जानुपर्थ्यो । बाटोमा अम्बा, हलुवावेद, आरूबखडा ढुंगाले हिर्काएर झारेर खाँदै हिंड्थ्यौं । साथीभाईको लहडमा लागेर चुरोट पनि खाइयो । तर घरका डरले त्यो बानी बसेन ।
साथीभाईसँग मिलेर पशुपतिको सूर्यघाटमा नुहाउन गइन्थ्यो । पौडी खेल्दा कट्टु पनि लाउनु नपर्ने कस्तो बेला थियो ! भोगटेको फुटबल बनाएर खेलिन्थ्यो । ठूलो भएपछि त छालाकै फुटबल पाइयो । चंगा खुब उडाइयो । कहिलेकाही घुम्न जाने गरेको थियो । साथीभाइसँग सानो गौचरणमा फुटबल खेलिन्थ्यो । त्यसबेला फुटबल खेल्न प्रशस्त ठाउँ थिए ।
स्कुल जाँदा दिएको दश पैसाले के के किनेर खाने गरेको थियो । केटाकेटीलाई थोरै पैसा मात्र दिने गरेको थियो । हामी बरफ, काक्रो, पिपरमेन्ट चकलेट किनेर खान्थ्यौं ।
सानोमा घरमा जे पाक्थ्यो, म त्यहिं खान्थे । चिया खान पाए हुन्थ्यो जस्तो लाग्थ्यो । त्यतिबेला सानालाई चिया दिने चलन थिएन । मासु खान पाए हुन्थ्यो भन्ने लाग्थ्यो । किनभने घरमा १५/२० दिनमा मात्र मासु खाने चलन थियो ।
मैले कक्षा ८ पास गरेपछि बुबाको गोरखा सरूवा भयो । हामी गोरखा गयौं । म कक्षा ९ मा गोरखा बजारको शक्ति विद्यालय हाइस्कुलमा भर्ना भएँ । त्यहाँ बाबुराम श्रेष्ठ सरले पढाउनुहुन्थ्यो । उहाँ राम्रो पढाउनुहुन्थ्यो । अरू धेरै सरहरू थोरै मात्र पढेका हुनुहुन्थ्यो । पास हुने गरी पढाउने सर नै कम हुनुहुन्थ्यो । टिचिङ प्राक्टिस गर्न आएका सरहरू पनि हुनुहुन्थ्यो । गणित र विज्ञान पढाउने सरको सधैं अभाव हुन्थ्यो । काठमाडौंको अस्कल क्याम्पस बिदा भएका बेला गएका त्यहाँका विद्यार्थीले पढाउनुहुन्थ्यो । बेलामा सरहरू नपाउने भएकाले सबैको पढाई कमजोर थियो ।
गोरखामा रहँदाको एउटा रमाइलो घटना छ । मेरा दुई साथीसँग मिलेर एकपटक म डाँडो चढ्न गएँ । हामी डाँडाको टुप्पोमा त पुग्यौं । तर त्यहाँ पुग्दा पानी पर्यो् । निकै अबेर भएछ । अन्धकार भयो । घर फर्कदा निकै गाह्रो भएको थियो । घरमा कसैलाई थाहा भएन । थाहा पाएको भए त पिटाइ खाइन्थ्यो होला । त्यसबेलाको एउटा साथीको नाम अचल थियो । अर्को साथीको नाम मैले बिर्से ।
कक्षा १० पनि मैले त्यहिं स्कुलमा पढे । २०२३ सालमा एसएलसी दिएँ । सेकेन्ड डिभिजनमा पास गरें । मेरो मनपर्ने विषय गणित थियो । एसएलसीमा ऐच्छिक गणितमा ९० भन्दा बढी र अनिवार्यमा गणितमा ८० भन्दा बढी आयो ।
हाम्रो मामाघर ओखलढुंगाकै गाम्नाङ हो । मामाहरू अधिकारी हो । तर म अहिलेसम्म ओखलढुंगाको मामाघर गएकै छैन । मामाहरू पछि कताकता सर्नुभयो ।
यसरी तीनवटा स्कुलमा पढ्दै रमाइलो गर्दागर्दै यसरी मेरो बाल्यकाल बित्यो ।
अनि अन्तिममा के भन्छु भने, ‘मान्छे असल हुनुपर्छ । मेहनती हुनुपर्छ । राम्रो पढ्नुपर्छ ।’
(शब्दः राजेश कोइराला/अमेरिका, २०७० असार २२/सन् २०१३ जुलाई ६ को ‘नागरिक दैनिक‘को बालकोसेली ‘जुनकिरी’मा प्रकाशित)