नानीको ‘स्क्रिन’ मा बस्ने बानी

नानीहरूको स्क्रिन टाइमको चिन्ता सर्वत्र बढ्दो छ, मुलुक विकसित होस् वा अरू नै केही । झुप्रो होस् वा महल, राजा होस् वा रंक- सबैले नानीहरूको यही बानीमा चिन्ता लिनु परेको छ ।
गत साल (सन् २०११ जनवरी २५) अमेरिकी सरकारको ‘नीति तथा कार्यक्रम’ (स्टेट अफ युनियन अड्रेस) प्रस्तुत गर्दा राष्ट्रपति बाराक ओबामाले भनेको सम्झन्छु, ‘बालबालिकाको पढाइमा सुधार ल्याउने जिम्मेवारी हाम्रा कक्षा-कोठाबाट शुरू हुन्न । हाम्रा घर र समुदायबाट शुरू हुन्छ । पढ्ने बानी बसाल्ने जिम्मेवारी परिवारले लिनुपर्छ । यो साह्रै विस्तारै हुने प्रक्रिया हो । घरमा टेलिभिजन बन्द भएको हुनुपर्छ र नानीहरूले होमवर्क गरेको हुनुपर्छ ।’
यो चिन्ता टेलिभिजनमा नानीहरूले समय बिताएको र परिवारले टेलिभिजन खोलेर उनीहरूको पढाइ राम्रो हुन नसकेको दुवैतर्फ लक्षित थियो । उता कम्प्युटरको प्रयोगमा पनि नानीलाई कति बस्न दिने र के गर्न दिने भन्ने चिन्ता स्वभाविक देखिन्छ ।
हालै मात्र राष्ट्रपति ओबामाले सन् २०१२ को स्टेट अफ युनियन अड्रेस (जनवरी २४) आयो । यस अड्रेसमा भने नानीहरू र टेलिभिजनको सन्दर्भ थिएन (फोटो चाहीँ यो वर्षको) ।
फेसबुक चिन्ता
कम्प्युटरको प्रयोगप्रति पनि चिन्ता बढ्दो छ । एउटा उदाहरण नै हेरौ, फेसबुकमा आफ्नो अकाउन्ट खोल्न १३ वर्ष उमेर पुगेको हुनुपर्छ । गत डिसेम्बरमा राष्ट्रपति ओबामा र प्रथम महिला मिसेल ओबामाले आफ्ना छोरीहरू मालिया र साशालाई फेसबुक चलाउन नदिएको बताउनु भयो । मालिया १३ वर्षकी हुन् भने साशा १० की । ‘पिपुल’ म्यागाजिनसँगको कुराकानीमा ओबामा दम्पतिले समयलाई हेर्ने र अहिले भने फेसबुक चलाउन उचित नलागेको बताउनु भएको हो । तर न्यु योर्क युनिभर्सिटीको एक सर्भे भन्छ, ‘१३ नलागेका लाखौं नानीहरूका फेसबुक अकाउन्ट छन् । बाबु-आमाको सहायतामा पनि अकाउन्ट खोलिएको छ ।’
यी सुनाइ-देखाइका कुरा भए ।
आदर्श बन्न उपदेश
‘अक्षरिका’मा विभिन्न सामग्री लेख्ने क्रममा होमवर्क गर्दा अभिभावकले के गरिदिने ? उनीहरू होमवर्क गर्दैछन् भने आफू चाहीँ टेलिभिजन खोलेर नबसौं भन्ने सल्लाह सर्वत्र पाइन्छ । त्यसका लागि सेप्टेम्बर पहिलो, २०११ मा ‘आदर्श बनौं : नानीले होमवर्क गरिरहेका बेला आफू टेलिभिजन हेर्न नबसौं। बच्चा पढिरहेको छ भने आफू पनि पढौं । उ म्याथ (गणित) को अभ्यास गरिरहेका बेला आफू बैंकको चेकबुकको हिसाब जोडौं वा घरखर्चको लेखाजोखा गरिदिऔं। मिल्दो काम गर्दा उनीहरु त्यही विषयमा एकाग्र हुन्छन्’ उल्लेख छ । कुरा एकदम स्पष्ट छ ।
नानी सुतेनन् ?!
त्यसै अंकमा एउटा अनौठो सन्दर्भ छ, ‘तीनदेखि पाँच वर्षका नानीहरू निदाएनन् भने टेलिभिजनका कारण हुनसक्छ । त्यसैले सात बजेपछि उनीहरूलाई टेलिभिजन हेर्न प्रोत्साहित नगर्नुहोस् । त्यसबेला देखाइने टेलिभिजन कार्यक्रमहरू त्यसै पनि उनीहरूका लागि उपर्युक्त हुँदैनन्। दिउँसो हेरेका कार्यक्रमले निद्रामा खास असर गर्दैनन् । यो अलि ठूला नानीहरूका लागि पनि लागू हुने तथ्य हो । बालबालिकाका चिकित्सकहरूको अमेरिकी संस्था- अमेरिकन एकेडेमी अफ प्याडियाट्रिक्सले दुई वर्षको नहुन्जेल टेलिभिजन हेर्न नदिन र त्योभन्दा बढी उमेरका लाई टेलिभिजन दुई घण्टामात्र हेर्न भनेको छ भने सुत्ने कोठामा टेलिभिजन नराख्न पनि सल्लाह दिएको छ । उक्त संस्थाले गरेको अध्ययनले साना नानीहरुले साँझ ७ बजेपछिका टेलिभिजन कार्यक्रम बढी हेर्दा निद्रा लाग्दैन, लागे पनि बारम्बार ब्युझन्छ, तर्सन्छ र दिउँसो सुत्न खोज्छ भनेको छ ।’
सुरक्षाको सन्दर्भ
kids-creation-free-bयस्तै एफबिआई (फेडरल ब्युरो अफ इन्भेस्टिगेसन) ले कम्प्युटरमा ‘बालबालिकाको सुरक्षा’ सन्दर्भमा भनेको छ, ‘मान्छे धेरै आउने-जाउने ठाउँमा कम्प्युटर राख्नुहोस् । कुना वा छेउमा नराख्नुहोस् । आमाले भान्सामा काम गर्दा  देखिने ठाउँमा कम्प्युटर भए पनि हुन्छ।’ नयाँ प्रविधिप्रति संस्थाको अर्को सावधानी छ, ‘इन्टरनेट अब टेबुलको कम्प्युटरमा मात्र हुँदैन, मोबाइल फोन, विभिन्न गेम खेल्ने उपकरण वा ल्यापटप जहाँ पनि हुनसक्छ। सबैतिर आँखा लगाउँदै गर्नुहोस् ।’
नानीहरूलाई कुन-कुन वेबसाइट प्रयोग गर्न सकिन्छ र कति समय प्रयोग गर्दा राम्रो हुन्छ सिकाउनुहोस् । यस्ता विषयमा पहिले आफूले इन्टरनेटबाट जानकारी लिन सकिन्छ । उनीहरूले हेर्न नहुने वेबसाइट रोक्ने प्रविधि प्रयोग गर्न सकिन्छ । आवश्यक वेबसाइटलाई चिन्ह लगाउन (बुकमार्क) सकिन्छ । आफू पनि बसेर कस्ता वेबसाइट वा कम्प्युटर सामग्री प्रयोग गर्दा के के गर्दा राम्रो र सजिलो हुन्छ भन्ने सिकाउन एफबिआईको आग्रह छ ।
त्यस्तै फेसबुक जस्ता सामाजिक वेबसाइट प्रयोग गर्दा नचिनेको मानिससँग साथी बन्नुहुन्न भनेर पनि सिकाउनु होस् है एफबिआईले अर्को बुँदामा भनेको छ । नचिनेको मानिसलाई आफ्नो पूरा परिचय (स्कूल र घरको ठेगाना, फोटो, फोन नम्बर) दिनुहुन्न भन्नुहोस् । यस्ता वेबसाइटबाट चिनेको नयाँ मान्छेले बोलाउँदैमा जानुहुन्न भन्ने पनि सिकाउनुहोस् ।
एफबिआईले भनेको छ, ‘इन्टरनेटबाट हुने नराम्रा कामबारे बारम्बार सिकाइरहनुपर्छ। कम्प्युटरको प्रयोगबाट नराम्रा काम गरेर कसैले सजाय पाएका समाचार कतै पढ्ने मौका पाए वा सुन्ने मौका पाए, ती समाचार नानीहरूलाई सुनाउने गर्नुपर्छ ।’
मनपरेको मन्त्र
५२१० – नानीहरूको भविष्यप्रति चिन्ता गर्दै अमेरिकामा तयार पारिएको एउटा मन्त्र । दिनहुँ ५ खाले तरकारी र फलफूल खाउ, २ घण्टा वा त्योभन्दा बढी समय स्क्रिन (टेलिभिजन, कम्प्युटर आदि) सामु नबस, १ घण्टा वा त्योभन्दा बढी खेल वा व्यायाम गर र ० बराबर गुलियो झोल पिउ (बढी पानी र चिल्लो झिकिएको दूध खाउ) ।
यो चिन्ताप्रतिको चासो, अनुसन्धान, सल्लाह आदि कति छन् होलान् ?!
अझ मैले नबुझेको, नपढेको, नभेटेको, लेख्न बाँकी कुरा कति होलान् ?!
००००
(यो लेख ‘अल्टरनेटिभ ग्रुप, युएसए’बाट प्रकाशित ‘किड्स क्रियसन: बाल सिर्जना – १’ मा प्रकाशित भएको थियो । यो पुस्तक सन् २०१२ मा प्रकाशित भएको हो ।)

5 thoughts on “नानीको ‘स्क्रिन’ मा बस्ने बानी

  1. राजेश सर
    नमस्कार
    संग्रहणीय सामग्री छ । धन्यबाद हजुरलाई !

  2. कुरा उप्योगी हो, नानीको बानी कसरी सुधारने होला खै ?

  3. असल अभिभावकले जान्नै पर्ने कुराहरु

Leave a Reply to Baburam Koirala Cancel reply

Your email address will not be published. Required fields are marked *

<