‘लतिना’को दूरबीनबाट नियाल्दा

‘तिमीलाई मनपर्ला । ल पढ’, आतियेहले यसै भने र दिए, ‘लतिना’ । ‘मलाई के काम ?,’ उनको आशय करिब यस्तै थियो ।
‘लतिना’ अर्थात् ‘लतिना‘ म्यागाजिन । ल्याटिन अमेरिकी मूलका मानिसहरु (ल्याटिनो-अमेरिकन) को अंग्रेजी म्यागाजिन (पत्रिका) । उनले दिएको यो अंक चाहि २०११ जुन-जुलाईको हो । उनको उपहार ‘लतिना’ मनोरञ्जन पत्रिका रहेछ । यसमा विभिन्न विषय हुँदा छन् ।
सामान्य चिनजान, हाय-हेल्लो अमेरिकामा अनौठो होइन । कसैको विस्तृत जानकारी मागिदैन । सोधिदैन- निकै जरुरी नपरुन्जेल । उनी भेट्दा भन्छन्, ‘हलो हलो हलो । हाउ आर यु ?’
आतियेहको बोलीले भने म उनलाई ल्याटिन अमेरिकी नै हुन् की भन्ठान्थे । आतियेह रहेछन्, प्यालेस्टिनी। उनको नाम अलि लामो रहेछ- सलाह आतिफ मौसा आतियेह । उनी मेरो काका भन्दा हुने खालका छन् ।
यहाँ त काकाभन्दा पनि उनको उपहार पो निकै रोचक ठह-यो । अरु विषय काकालाई जस्तो मलाई पनि ‘एज युजल’ लागे । मात्र एउटा लेख मेरो चासोको केन्द्र बन्यो ।
एउटा गम्भीर विषय
‘लतिना’ को त्यो लेखमाथि मेरो नजर पुग्यो, ‘छिमेकमा दास’ (द स्लेभ्स नेक्स्ट डुअर) शिर्षकको । लेख मानव-तस्करीबारे रहेछ र ‘फ्रान्जिस्का कास्टिल्लो’ले तयार पारेकी रहिछन् । उनले ल्याटिन अमेरिकाबाट अमेरिकातर्फ भइरहेको मानव-तस्करीमाथि लेखेको भए पनि केहि बाहिरबाट हुने मानव-तस्करी पनि समेटिएको छ । (आवरण-चित्रमा दाहिनेतर्फ निलो गोलाकारमा लेखिएको छ।)
नेपालमा हुँदा पत्याउन गाह्रो
मानव-तस्करी समाचारहरुमा, संयुक्त राष्ट्रसंघ अनि गैरसरकारी संस्थाका प्रतिवेदनका विषय मात्र देखिने कुरा होइन । विभिन्न क्षेत्रमा फरक ढंगले भइरहेको छ, यो मैले बुझेको विषय थियो । तर पत्याउन सकिने अवस्था भने थिएन भनौं !
नेपालमा रहँदा मानवतस्करको शिकार भएर एउटा नेपाली अमेरिका पुग्छ भन्ने पत्याउन निकै गाह्रो लाग्थ्यो । अमेरिकन सेन्टरबाट ल्याएको एउटा गोजीपात्रोजस्तो जानकारी-पत्र पढेर म अनौठो मान्थें ।
यहाँ आएर गएका एक वर्ष समाचारहरुमा निकै घोत्लिएपछि मैले केहि बुझेको हुँ जस्तो भएको छ । यो समस्याको जालोमा नेपाली पनि परिरहेको समाचारहरुले बताएका छन् ।
गएको ६ महिनामा अमेरिका छिर्न खोज्नेहरुको जत्थामा दुईपटक नेपाली समातिए । गत मध्य-माघमा मेक्सिकोको दक्षिणी राज्य चियापासमा पक्राउ परेका २ सय १९ मा ४ नेपाली थिए । अर्को घटना भयो, जेठको सुरुमा अवैध रुपमा मेक्सिको हुँदै अमेरिका पस्न खोज्ने ६ नेपालीसहित ५ सय १३ जना समातिए ।
ती समाचारमा भनिएको छ, ‘सन् २०१० मा अवैध रुपमा मेक्सिको हुँदै अमेरिका पस्न खोज्ने २५ हजार मेक्सिकोमा पक्राउ परेका थिए । ग्वाटेमालाको सिमानामा पर्ने चियापास अवैध रुपमा अमेरिका छिर्न खोज्नेको नाका बनेको छ ।’ ५ सय १३ मा मध्य-अमेरिका तथा एसियाली मुलुक– एल साल्भाडोर, इक्वेडर, चीन, जापान, ग्वाटेमाला, भारत, नेपाल, होन्डुरस र डोमिनिकन रिपब्लिकका थिए । प्रत्येकबाट ७ हजार डलर लिएर अमेरिका छिराउन खोजिएको रहेछ ।
उता २ सय १९ मा ९ बालबालिकासहित १ सय ७७ पुरुष र ३३ महिला थिए । ती मानिसमा १ सय ६९ ग्वाटेमाला, २२ एल साल्भाडोर, १८ होन्डुरस, ६ श्रीलंका र ४ नेपालका थिए । ती सबैले यात्राका लागि करिब ७ हजार ३ सय १९ डलर तिरेका थिए ।
नेपालीबाहेक अरूको अवस्था के छ ?
धेरै मारिन्छन् र केहि मर्छन्
मेक्सिकोमा अपराधीको हात परे, अमेरिका छिर्न चाहने मर्छन् पनि । मेक्सिकोमा समूहमा मानिस मारिएको समाचार देखेपछि अवैध रुपमा अमेरिका पस्न खोज्ने पो प-यो कि भन्ने भइहाल्छ । ‘न्युयोर्क टाइम्स’ले पटक-पटक छापेका समाचार यसै भन्छन् ।
सन् २०१० अगस्तमा मध्य तथा दक्षिण अमेरिकाका ७२ जना मारिएका थिए । तीनै मानिसको शव अप्रिलमा फेला परेको थियो । अप्रिल ८ को ‘न्युयोर्क टाइम्स’ मा ५९ वटा शव अमेरिकाको टेक्सास राज्यनजिकै मेक्सिकोमा फेला परेको समाचार छापिएको छ ।
अप्रिल १२ मा यो संख्या ८८ पुगेको थियो, ‘न्युयोर्क टाइम्स भन्छ ।
अप्रिल २८ मा त्यो संख्या बढेर १ सय ८३ पुगेको ‘फलो अप’ मा ‘न्युयोर्क टाइम्स’ मै छापिएको छ । लागूऔषध र मानव-तस्करीका लागि मेक्सिको समाचार आउने गरेको छ । यो ठाउँ टेक्सासको सीमाबाट ९० माइल दक्षिणमा छ ।
अवैध बस्नेको संख्या
यति हुँदाहुँदै पनि अमेरिकामा अवैध बस्नेको संख्या सन् २००९ बाट सन् २०१० हुँदा बढेन भन्ने तथ्यांक वासिंगटनस्थित ‘पिउ हिस्प्यानिक सेन्टर’ले सार्वजनिक ग-यो । ‘न्युयोर्क टाइम्स’ कै अर्को समाचारमा भनिएको छ, ‘सन् २००९ को भन्दा नबढ्दा पनि एक करोड १२ लाख मानिस अवैध आप्रवासी छन् । सन् २००७ मा यो संख्या १ करोड २० लाख पुगेको थियो ।’
सन् २००९ र २०१० मा मा मात्र ४-४ लाख अवैध आप्रवासी आफ्नो मुलुक फर्काइएका थिए । यो संख्या अमेरिकी इतिहासकै धेरै हो । यस्ता अवैध आप्रवासीबाट सन् २००९ मा ३ लाख ५० हजार बच्चा अमेरिकामै जन्मिए । यो अमेरिकामा जन्मिएका कूल बालबालिकाको ८ प्रतिशत हो । यहाँ बच्चा जन्मेपछि बाबुआमालाई वैध हुन कानुनी अधिकार छ ।
‘लतिना’का कुरा
‘फ्रान्जिस्का कास्टिल्लो’ ले धेरै मानिसका उदाहरण दिएर आफ्नो स्तम्भको उठान गरेकी छन् । महिलाहरुलाई राम्रो काम दिने प्रलोभनमा वैध रुपमा अमेरिका ल्याएर निम्न कोटीको काम दिने, बलात्कार गर्ने गरेको उनले फेला पारेकी छन् ।
यो धन्दामा वर्षेनि १० अर्ब डलरको अवैध व्यवसाय चलेको र ९० हजार मानिस अवैध धन्दाको शिकार भएको पाइने गरेको ‘स्टेट डिपार्टमेन्ट’ को तथ्यांक प्रस्तुत गरेकी छन् ।
उनको लेखको मध्यतिर भनिएको छ, ‘मानव-तस्करले १५ हजार ल्याटिन अमेरिकी महिलाहरु मात्र वर्षेनि यौन-धन्दाका लागि अवैध अमेरिका ल्याउँछन् ।’
अमेरिकी सरकारले यस्तो काममा संलग्न भएको फेला पारेर फर्काएका उदाहरण पनि उनले दिएकी छन् ।
यसरी मानव-तस्करको हातबाट अमेरिका आइपुग्नेमा ४० प्रतिशत ल्याटिन अमेरिकी, २३ प्रतिशत गोरा, २१ प्रतिशत काला, १३ प्रतिशत एसियाली र अन्य ३ प्रतिशत रहेछन् ।
‘ब्युरो अफ जस्टिस स्ट्याटिस्टिक्स’ को सन् २००९ को तथ्यांकअनुसार मानव-तस्करको शिकार भएकामध्ये ८३ प्रतिशत यौन-धन्दामा लगाइन्छन्, १२ प्रतिशत मजदूर हुन्छन भने ५ प्रतिशत अन्य काममा लाग्छन् ।
लेखको बिट मार्दै उनले मानव-तस्करको शंका लागेमा ८८८-३७३-७८८८ मा उजुरी गर्न सकिने बताएकी छन् ।
धन्य हुन्,
आतियेह, लतिना र ‘छिमेकमा दास’ (द स्लेभ्स नेक्स्ट डुअर) शिर्षकको लेखकी प्रस्तोता ‘फ्रान्जिस्का कास्टिल्लो’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<