सरको टाउकोमा…
सहप्राध्यापक डा. भरत सुब्बा विराटनगरस्थित स्नातकोत्तर क्याम्पसमा प्राणीशास्त्र पढाउनुहुन्छ । उहाँको जन्म २००८ जेठ ६ गते इलामको गजुरमुखी गाउँ विकास समिति, नारुहाङमा भएको हो । उहाँका पिताको नाम धनराज र माताको नाम मनमती हो । उहाँहरू पाँच दाजुभाइ र पाँच दिदीबहिनी जन्मनु भएको हो । भरत माहिलो छोरा हो । उहाँले २०४३ सालमा कलेजमा पढाउन थाल्नुभएको हो । धरान क्याम्पस (हात्तीसार) बाट उहाँ २०४७ सालमा विराटनगर आउनुभएको हो । उहाँले भारत र नेपालका धेरै ठाउँ पुगेर प्राणीहरूबारे स्थलगत अध्ययन गर्नुभएको छ । उहाँले माछा विषयमा विद्यावारिधि (पिएचडी) गर्नुभएको छ । उहाँका विभिन्न लेख-रचना नेपालका धेरै पत्रपत्रिकामा छापिएका छन् । उहाँका तीन पुस्तक तयार छन् । छापिएका छैनन् । सुब्बाले विभिन्न पत्रिका र पुस्तकको सम्पादन गर्नुभएको छ । उहाँ विभिन्न संस्थामा रहेर काम पनि गर्दै आउनुभएको छ । यसपटक सुब्बा सानो छँदाका केही सम्झना :
गाउँमा बुबाले २००८ सालमा सोल्जर बोर्डिङ स्कुल खोल्नुभएको थियो । त्यो कटेरो (सानो घर) थियो । ३०/४० जना बालबालिका जम्मा भएर पढ्थ्यौं । त्यहाँबाट एकैपटक कक्षा ४ मा आमचोकको महेन्द्रोदय स्कुलमा भर्ना भएँ । अनि मेरो पढाई झापाको दमकस्थित सिंहदेवी हाइस्कुलमा भयो । म पढाइ राम्रो भएको विद्यार्थी थिएँ । त्यहिंबाट २०२५ सालमा एसएलसी दिएँ । हाम्रो एसएलसी सेन्टर धरानको डिपोट स्कुलमा परेको थियो । धरान जान कच्ची सडक थियो । ठूल्ठूला पाङ्ग्रा भएका गाडी आउँथे । यस्तैमा धरान केन्द्र भएर जाँच दिइयो ।
धरानको पुतलीसकडमा कमानसिंहका घरमा मेरो डेरा थियो । सेकेन्ड डिभिजनमा पास पनि भएँ ।
मलाई स्कुल पढ्दा बायोलोजी र फिजिक्स मनपर्थ्यो । इतिहास साह्रै अल्छि लाग्थ्यो । अक्षर पनि राम्रा लेख्थें । सानै भए पनि धेरै हाँस्थें । सधैं हाँसिरहने स्वभाव थियो । बिनाकारण पनि हाँस्थें ।
इलामबाट हामी दार्जिलिङ गइरहन्थ्यौं । हाम्रो घरबाट त्यहाँ पुग्न ३ दिन लाग्थ्यो । म ८५ वर्षका हजुरबुबासँग पनि हिंडेर दार्जिलिङ गएको छु ।
म धेरै चन्चले थिएँ । एकपटक चप्पल हुत्त हान्दा पर्खाल नाघेर अर्को कक्षामा पुग्यो । त्यो चप्पल त सरको टाउकोमा लागेछ । कक्षा ७ मा आमचोकमा पढ्दाको कुरा हो । सरले गालीमात्र गर्नुभयो र भन्नुभयो, ‘तँ धेरै चकचक नगर ।’ म पढाइमा राम्रो भएकाले सरले गालीमात्र गर्नुभएको हो । मैले कमै सजायँ पाएँ । अरुको कान निमोठ्न भने धेरै पाएँ । सरले नै उत्तर दिन नसक्नेलाई आफूले उत्तर सुनाएर कान निमोठ्न भन्नुहुन्थ्यो ।
आमचोकमा बिदा हुँदा घर गइन्थ्यो । बिदामा गोठालो जान मन लाग्थ्यो । बाख्रा चराउन जान्थे । एकपटक बाख्रा चितुवाले खाएको छ । म चाहिं भोर्लाको रुखमा चढेर बचेको थिएँ । चितुवाले रगतमात्र खाँदो रहेछ । मासु छाड्यो । मैले मासु बेचे ।
मलाई मलहारसँग माछा मार्न पनि मनपर्थ्यो । चरा मारेको मन पर्दैनथ्यो । कसैले समातेर ल्यायो भने उडाइदिन्थे । साथी प्रेम सुब्बा चरा मार्न सिपालु थियो । उ चरा मार्थ्यो र त्यहि चराका बारेमा मलाई बताउँथ्यो । उसले विभिन्न जानकारी दिएकैले म चराका बारेमा जान्ने हुँदै गएँ । गौथली श्रीपञ्चमीमा आउँछन् र नागपञ्चमीमा फर्कन्छन् भन्ने जानेको थिएँ ।
सानो छँदा खुब पौडन्थे । काठको साइकल बनाएर कुदाउँथे ।
हाम्रो गाउँमा दशैं, तिहार, माघे संक्रान्ति मनाइन्थ्यो । साउने संक्रान्ति पनि रमाइलो हुन्थ्यो । औंसी र पूर्णिमा आएको याद हुन्थ्यो । चाडपर्व आएको रमाइलो लाग्थ्यो । किनभने मीठोमीठो खान पाइन्थ्यो ।
त्यहाँ धान, मकै बढी फल्थ्यो । माथि आलु र तल धान हुने गरी हाम्रो खेतबारी थियो ।
गाउँमा सबै जातिका मानिस मिलेर बस्थे । त्यहाँ लिम्बू, राई, मगर, क्षेत्री, बाहुन सबै थिए ।
(शब्द : राजेश कोइराला, तस्बिर : भीम घिमिरे, २०६७ वैशाख १९ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)
I like this article, if do you have any more article ? I need about his. or similar article like this article about others? Because any news either paper or electronic all of they are always negative.
Thank Rajesh Jee . Nice article on Bharat Sir . I was there in Hattisar College as a student of Food Technology when he was lecturer of Zoology .though he has not directly taught us ,but we been round up many time with him around Hattisar and Bijaypur for bird watching and learn more about birds from him .
I belive he is doing well and in good health .