डी. बी. थापा सानो छँदा

उसबेलाको च्यान्टे

डी.बी. (डम्बरबहादुर) थापा राजधानीको न्यूरोडस्थित फोटो कन्सर्नका संस्थापक हुनुहुन्छ । उहाँले फोटोग्राफी र चलचित्र निर्माणमा धेरै समय बिताउनुभएको छ । उहाँको जन्म १९९१ फागुनमा धादिङको मुलपानी गाउँ विकास समिति २ मुर्चुकमा भएको हो । पिता नरबहादुर र माता कृष्णकुमारीका एक छोरी र दुई छोरी जन्मिए । ती दुई छोरी डीबीका बहिनी हुनुहुन्छ । सानैमा उहाँ भारत जानुभयो । फोटोग्राफी र चलचित्रका क्षेत्रमा काम गर्नुभयो । त्यो अनुभवलाई देश फर्केर काममा लगाउनुभयो । यस्तै काम र तालिमका लागि थापाले फ्रान्स, जर्मनी, बेलायत, स्विट्जरल्यान्ड, रुस, जापान जस्ता एसिया र युरोपका सबैजसो देश भ्रमण गर्नुभएको छ । उहाँले नेपाल चलचित्र विकास कम्पनी, शान्ति फिल्म्स प्राइभेट लिमिटेड, नेपाल कलर ल्याब संघ, फोटोग्राफिक एसोसिएसन अफ नेपाल, नेपाल फोटोग्राफिक सोसाइटी, वेस्टर्न इन्डिया सिनेमटोग्राफी एसोसिएसन जस्ता संस्थामा रहेर काम गर्नुभएको छ । ‘माया-प्रीति’, ‘जीवन-ज्योति’ जस्ता चलचित्र बनाउनुभएको छ । विभिन्न सम्मान पाएका थापा सानो छँदाका केही सम्झना :
म सात वर्षको हुँदा बुबाको निधन भयो । आमाले बढो दुख गरेर हामी तीनजनालाई हुर्काउनुभयो । मुर्चुक त्यसबेला दुर्गम थियो । बाहिरबाट कोही मान्छे आयो भने हामी ढुंगापछाडी लुक्न जान्थ्यौं । म ११ वर्षको हुन्जेल हामी त्यहिं बस्यौं ।
हाम्रो थोरै खेती थियो । खेती पुग्न आधा दिन हिंड्नुपर्थ्यो । खेतीबाट आएको अन्नले छ महिना पनि पुग्दैनथ्यो । कोदो हाम्रो मुख्य अन्न थियो । धान त कम हुन्थ्यो र भात दशैंमा मात्र खाइन्थ्यो । धान फलाउन पानी चाहिन्छ । दशैंका लागि घैया धान हुन्थ्यो । त्यहाँ आकाशे पानीका भरमा धान फल्थ्यो । कोदोबाहेक मकैले ठूलो भरोसा गरेको थियो । अनिकालमा सिस्नु र त्यसको जरा खाएको मलाई याद छ । पीठो हालेर पकाएको सिस्नु मीठो लाग्थ्यो । सानोमा गाई गोठालो जानु पर्थ्यो । आमाले खाजा खान पोल्टामा मकै हालिदिनुहुन्थ्यो । मलाई मकै निकै मनपर्थ्यो ।
म नयाँ कुरा गर्न चाहन्थे । मेहनेती थिएँ । माथिबाट खोला फर्काएर कुलो काट्दै ल्याउँथे । धारा हाल्थें । तर पानी बाटोमा गएर हिलो भएपछि फेरि बन्द गरेको थिएँ । अरुका बिहेमा ब्याट्री-ब्याट्री जोडेर बत्ती बालिदिन्थे । माथि चढेर बत्ती बलेको देखेर दंग पर्थे । म बाजा बजाउन सिपालु थिएँ, बिहा आदिमा बजाइने बाजा बजाउँथे ।
त्यहाँ पढ्ने राम्रो व्यवस्था थिएन । हामी पाटीमा पढ्थ्यौं । कपुरी क, बूढो ख…. भन्दै गीत गाउँदै हिड्थ्यौं । हामी गाउँका ८/१० बालकलाई वीरबहादुर थापाले पढाउनुभएको थियो । म सुरुरु रुख चढ्थें । माछा मार्न त च्याम्पियन थिएँ । चरा मार्न उत्तिकै जान्ने । हामी मुर्चुकमा ‘गीर’, ‘पाङ्ग्रा’ खेल्थ्यौं । पाङ्ग्रा बटुलेर बेचेको याद छ । २० पाङ्ग्रा एक पैसामा बिक्थ्यो । पाङ्ग्रा धेरै जम्मा पार्ने त धनी जस्तै हुन्थ्यो । म लौरो काटेर तिखार्न जान्दथें । अनि बिहानभर त्यहि काम हुन्थ्यो । ‘खुर्पे ठ्याक’ कम्मरमा भिरेर हिंडेपछि आफूलाई ‘पर्फेक्ट’ लाग्थ्यो । खुकुरीसँग चकमक, कर्द पनि हुन्थे । चकमक ढुंगाले रगडेर आगो बाल्थ्यौं । आगो बालेर माछा पोलेर खान्थ्यौं ।
गाउमा बिहेजस्ता केही कार्यक्रम भए मलाई खोज्थे । म नाच्न उत्तिकै सिपालु थिएँ । शरीर फूर्तिलो थियो । मादल मज्जाले बजाउँथे ।
एकजना लाहूरेले गाउँमा फोन बाजा (ग्रामोफोन) ल्याएका थिए । त्यसमा गोलो चक्का हालेपछि गीत बज्थ्यो । हामी बाजा हेर्न जान्थ्यौं । नजिक पुग्दा लाहुरेले, ‘पर जा’ भन्थे । हामी कसरी बजेको भनेर जान्न चाहन्थ्यौं । उनी, ‘यसभित्र सानासाना मान्छे छन्,’ भन्थे । मलाई विश्वास लाग्दैनथ्यो । यहि खुल्दुलीले गर्दा मलाई आज यहाँ ल्याइपुर्‍यायो ।
म एघार वर्षको भएपछि जागिर पाइने आसमा हामी काठमाडौं आयौं । बुबाले कुश्लेचौर (कालधाराभन्दा तल) एउटा घर किन्नुभएको थियो । त्यहाँबाट काठमाडौं आउन ४/५ दिन लाग्यो । बाटोमा चाहिने सामल बोकेर आयौं । बाटोमा ठाउँठाउँमा बास बस्नुपर्थ्यो । खोलामा पुल थिएनन । टाउको सामान राखेर तर्नुपर्थ्यो ।
काठमाडौं आएपछि केही समय बित्यो । म १३ वर्षको उमेर भारतको कोलकाता गएँ । पढ्ने राम्रो अवसर नपाए पनि मलाई केही गरेर देखाउनु थियो । मसँग गोपीलाल, पुन्टे थिए । भीमफेदीबाट गोपीलाललाई पिटपाट गरेर पुलिसले फर्काए । हामी गयौं । खुकुरी भीरेर जानुपर्छ, ब्रिटिशहरू डराउँछन् भन्थे । हामीले त्यसै गर्‍यौं । त्यसबेला भारतमा बेलायतको शासन थियो । जुलुस, सभा, लडाईं भइरहन्थ्यो । त्यहाँ ग्रामोफोन बनाउने कम्पनीमा नै काम गरें । सडकमा बालिएका बत्तीको उज्यालोमा पढ्थ्यौं । नपढे पनि मैले धेरै ज्ञान पाएको छु । मलाई नपढेकोमा त्यति पछुतो छैन ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६६ चैत २२ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<