गेहेन्द्रप्रसाद धिमाल सानो छँदा

बाँसबाट कोदोबारी

गेहेन्द्रप्रसाद धिमाल (धिमाल जी.) चलचित्र निर्माणमा व्यवस्थापक रहँदै आउनुभएको छ । उहाँले भारत र नेपालका चलचित्रमा काम गर्नुभएको छ । उहाँका वृत्तचित्र विश्वका धेरै देशमा पुगेका छन् । भारतमा उहाँले ‘जब याद किसीकी आती है’ र ‘दिल्लगी’ हिन्दी चलचित्रमा स्पट ब्वाय (सहयोगी केटो) का रुपमा काम थाल्नुभएको हो । त्यसपछि उहाँ नेपाली चलचित्र ‘माइतीघर’मा सहायक उत्पादन व्यवस्थापक हुनुभयो । त्यसपछि धिमालले नेपालमै नेपाली, नेपालमै हिन्दी चलचित्रको छायांकनका लागि व्यवस्थापनको काम हेर्नुभयो । त्यसरी बनेका धेरै चलचित्र छन् । उहाँ छायांकनका लागि चाहिने उच्चस्तरीय सामानसहित सधैं तयार बस्नुहुन्छ । वर्षभर विदेशीहरूसँग चलचित्र र वृत्तचित्र बनाउनमा व्यस्त रहनुहुन्छ । उहाँको जन्म २००३ असोजमा काठमाडौं, सुन्दरीजलको आलापोट, फुँयाल गाउँमा भएको हो । उहाँका पिताको नाम गंगाप्रसाद र माताको नाम भागिरथी धिमाल हो । उहाँहरू चार दाजुभाइ र दुइ दिदी जन्मनुभएको हो । धिमालले भारत, पाकिस्तान, बंगलादेश, थाइल्यान्ड, हङकङ, मलेसिया, सिंगापुर भ्रमण गर्नुभएको छ । विभिन्न सम्मान र पुरस्कार पाएका गेहेन्द्र सानो छँदाका केही सम्झना :
मेरो बाल्यकाल आलापोट र ठहिटीमा बित्यो । ठहिटीमा हामीलाई पढ्न सजिलो होस् भनेर बुबाले घर किन्नुभएको थियो ।
आलापोटमा मलाई वासुदेव भण्डारीले अक्षर चिनाउनु भएको हो । रामहरि अर्यालले अंग्रेजी र गणित पढाउनुभयो । त्यहाँ मेरा भतिजा राम-लक्ष्मण मिल्ने साथी थिए । तिनीहरूकै घरमा धेरै समय बित्थ्यो । अबेरसम्म बदमासी गर्‍यो, खेल्यो । उनीहरूकै घरमा सुत्यो । रुकु भाउजु मलाई खोज्न हिड्नुहुन्थ्यो र काँधमा बोकेर ल्याउनुहुन्थ्यो । आमा धेरै रोगी भएकाले मेरो हेरचाह भाउजुले नै गर्नुभयो ।
मलाई पढ्न अल्छि लाग्थ्यो । तर कुनै नयाँ यन्त्र आयो भने चलाउन चासो राख्थें । मैले गाडी चलाउन आफैं सिके । क्यामरा लिएर तस्बिर खिचाउन आफैं सिके । कम्प्युटर आफैं सिके । सानोमा म खुब बदमासी गर्थे ।
हामी आलापोटमा किरा-किरा खेल्थ्यौं । लस्करै बस्ने पछाडीका मान्छेले अगाडीकाको कम्मरमा समाउने अनि अर्कोले आएर पछाडीबाट हटाउँदै जाने खेल थियो । म खुब कुटाइ खान्थें । तर मलाई जहिले पनि जित्नुपर्थ्यो ।
ठहिटीमा पनि शनिबार घरै नबस्ने बानी थियो । साइकल भाडामा भर्खर पाउन थालेको थियो । चार/पाँच दिन साइकल लिएर हिड्ने पनि गर्थे । सुन्दरीजलको उकालोमा साइकल बोकेर लान्थे । त्यहाँ लामो बाटो थियो । त्यहाँ साइकल चलाउँथे । अरुले नगरेको काम गर्न मन लाग्थ्यो । हाम्रो छेउमा ढकाल गाउँ छ । त्यहाँ दुइतर्फ पाखा र बीचमा बाटो थियो । त्यहाँ पनि साइकल कुदाउँथे । साइकलबाट कति लडियो कति लडियो ।
बुबाले खुब पिट्नुहुन्थ्यो । तमाखु खाने पित्तलको टुटीले टाउको हान्नुहुन्थ्यो । फोका त कति हुन्थे कति । कति कुटे पनि केही नलाग्ने, बुबा कायल हुनुहुन्थ्यो ।
आलापोटमा ‘गिर्रा’ खेल्थ्यौं । बाँसको जराको बल र जराकै अंकुशे बनाएर गल्फ खेलेजस्तो खेलिन्थ्यो । त्यो माघे-संक्रान्तिमा मात्र खेलिन्थ्यो ।
फेदबाट चढ्दै गएर बाँस नुहाएपछि भुराभुरी बोलाएर झुल्ने खेलिन्थ्यो । एकपटक यस्तै गर्दा भतिजो चतुर्भुज आयो । उसको आवाज ठूलो थियो । त्यो सुनेर झुलिरहेका भुराभुरी सबै भागे र मलाई भने बाँसले गुलेलीले फ्याँकेजस्तै फ्याँक्यो । म कोदोबारीमा पछारिए । तीन दिन त बेहोस भएँछु । बाबियाको खरानी र दूध खाएपछि अलि ठिक भयो र १५ दिनमा मात्र तंग्रिएँ ।
आलापोटमा बालविकास विद्यालय, जरिबुटेको स्कुल पढें । त्यसपछि कक्षा ५ मा क्षेत्रपाटीको जेपी स्कुलमा भर्ना भएँ । मलाई ‘ड्रइङ’ सबभन्दा मन नपर्ने विषय थियो । स्कुलमा हाजिर हुने र अन्तिम कक्षा छाडेर श्रीहल, मुनलाइट हलमा सिनेमा हेर्न पुग्थें । समयमा घर पुग्ने र पढेको जस्तो गर्थें ।
पढ्दापढ्दै कक्षा ८/९ मा भागेर कोलकाता पुगें । माछापोखरीमा चौकीदारी गरें । महिनाको २५ रुपैयाँ तलब थियो । म कोलकातामा भएको बुबाले थाहा पाउनु भएछ । मान्छे लिएर गएर नेपाल फर्काउनुभयो । फेरि कक्षा १० को टेस्ट दिएपछि भागें र मुम्बइ पुगें ।
अभिनेतृ माला सिन्हाको नीजि सचिवलाई भनेर काम थालें । गाडीको सिट कभर बनाउने काम गर्दा घुँडा मारेर काम गर्नुपर्थ्यो । म त बिरामी भएँ । त्यो काम छाडेर स्पट ब्वाय भएँ र चलचित्रमा लागें ।
अन्त्यमा, मैले नपढेर धेरै धोका पाएँ । पढ्नु सबभन्दा ठूलो काम हो । सम्पत्ति हो । धेरै पढेको भए म ठूलो मान्छे हुन्थें ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६६ चैत ८ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<