रामचन्द्र अधिकारी सानो छँदा

भँगेरा भुतुक्क

रामचन्द्र अधिकारी चलचित्र कलाकार हुनुहुन्छ । उहाँले करिब २ सयभन्दा बढी चलचित्र, एक सय ५० टेलिश्रृंखला, १५ नाटकमा अभिनय गर्नुभएको छ । उहाँले अभिनय गरेको पहिलो नाटक ‘सच्चा प्रेम’ हो । हाँस्यव्यंग्यकार भैरव अर्यालले लेखेको उक्त नाटक राजधानीको जोरपाटीमा देखाइएको थियो । त्यसपछि उहाँ ‘श्री समूह’ नाट्यसंस्थामा पुग्नुभयो । ‘अँध्यारो उज्यालो’ नाटकमा अभिनय गर्नुभयो । उक्त नाटक देशभर घुमेर देखाइयो । ०३६/३७ मा मात्र उहाँ नाटकमा देखिनुभयो । श्री समूहकै धेरै कलाकारले चलचित्र ‘वासुदेव’मा अभिनय गरे । अधिकारीको त्यो पहिलो चलचित्र थियो । नेपाल टेलिभिजन खुलेपछि मुलुकको पहिलो टेलिश्रृंखला ‘पृथ्वीनारायण शाह’मा अभिनय गर्नुभयो । उहाँको त्यो पहिलो टेलिश्रृंखला थियो । उहाँले धेरै सम्मान, पुरस्कार पाउनु भएको छ । पछिल्लोपटक भारतीय जीटिभीको टेलिश्रृंखला ‘अगले जनम मे मोहे बेटिया कीजो’मा पनि उहाँले अभिनय गर्नुभएको छ । उहाँले अभिनय गरेको ‘मुनामदन’ चलचित्र ओस्कार पुरस्कारको मनोनयनमा परेको थियो । कलाकारितामा रमाउँदै आएका अधिकारीको जन्म २०१२ मंसिर २३ गते काठमाडौंको गोठाटार, इचोटमा भएको हो । पिता बद्रीप्रसाद र माता मैंयाँका ३ छोरा र एक छोरी जन्मे । उहाँ जेठो हो । अधिकारी नेपाल टेलिकमका कर्मचारी पनि हुनुहुन्छ । यसपटक अधिकारी सानो छँदाका केही सम्झना :
मेरो बाल्यकाल गोठाटारमा बित्यो । हाम्रो खेत थोरै थियो । उब्जेको अन्नले खान पुग्दैनथ्यो । मजदूरी गर्नुपर्थ्यो । मेलापात जानुपर्थ्यो । पर्ममा काम गर्नुपर्थ्यो । बुबा दमरोगी हुनुहुन्थ्यो । म जेठो छोरो भएकाले मबाट धेरै आशा गरिएको थियो । म खेतमा काम गर्न जाँदिनथें । आमालाई काम सघाउँथें । म भात पकाउन, पानी ल्याउन सघाउँथें ।
मेरो न्वारानको नाम चेतनाथ हो । ६/७ वर्ष हुँदा पाखुरामा फोको निस्कीयो । मलाई ‘फोके’ भनेर बोलाउँथे ।
म तेज विनायक स्कुलमा पढ्न थालें । कक्षा २ पछि पढ्न पाइँन । त्यसबेला स्कुल छाप्रोमा थियो । हामीलाई कृष्णभक्त श्रेष्ठ, दवाडी गुरुले पढाउनुभयो । मेरा साथीहरू भोला रेग्मी, रामकृष्ण दाहाल, अर्जुन थापा आदि हुन् ।
म सात वर्षको हुँदाको एउटा घटना छ । एकपटक बागमतीमा पौडन गएका थियौं । बर्खाको समय थियो । पौडदा मैले पानी र हिलो खाएछु । मसँग साथीहरू मोहनबाबु दाहाल, शंकर भट्टराई, श्रीराम पुडासैनी पनि थिए । शंकर अलि अग्ला थिए । उनले तानेर बचाए ।
त्यसैबेला तिरको कुरा हो । आमाले भाईलाई भात र मलाई ढिडो दिंदा म खुब रोएँ । अलि ठूलो भएपछि मैले भँगेरा मारेको देखेर आमाले खुब गाली गर्नुभयो । म हातले प्वाक्क हिर्काएर भँगेरा मार्थें । फुच्चा साथीसँग भँगेरा पोलेर खान्थ्यौं ।
मेरो मामाघर काभ्रेको नाला हो । म आमासँग हिंडेर मामाघर जान्थें । बाटामा भरियाहरू भेटिन्थे । उनीहरूका पटपट फुटेका पैताला र फाटेका लुगा देखेर आमालाई म सोध्थे, ‘आमा किन त्यस्तो भएको ?’ आमा भन्नुहुन्थ्यो, ‘उनीहरू काम गर्ने मान्छे । लुगा नपाएर होला । जुत्ता लगाउन पाएनन अनि खुट्टा फुटेको हो । ल हिंड ।’ अहिले पनि मलाई त्यस्ता घटना याद आइरहन्छन् ।
म १२ वर्षको भएपछि एकजना मानिसले मलाई काम लगाइदिन्छु भनेर हेटौडा लगे । त्यहाँ काम गरेर एक वर्ष बसें र ५ सय रुपैयाँ घर पठाएँ । एकदिन आएका एकजना पाहुनाले मलाई फूर्तिलो देखेर बनारस लान्छु भने । बढी तलब पाइन्छ भनेर म जाने भएँ । उहाँ बिहान चार बजे उठ्नुअघि म घरबाट निस्के । बाटामा भेट गर्दै हामी पथलैयासम्म हिड्यौं । ट्रक चढेर रक्सौल पुग्यौं । उनको भेट त्यहाँ एकजना श्रेष्ठसँग भयो । उनीहरू के के खासखास खुसखुस गरे । ती श्रेष्ठले, ‘मकहाँ पठाइदिनु,’ भनेको सुनें । मलाई त्यहाँ पुर्‍याउने मान्छेले अर्कैका जिम्मा लगाए । बनारसमा उनकहाँ बसें । तर त्यहाँ रहुन्जेल पेंटभरि खान कहिल्यै दिएनन् । सँगै बस्ने भारतीय दम्पत्तिले बोलाएर रोटी-तरकारी दिन्थे । केहीपछि त्यो परिवार मलंगवा आयो । त्यहाँ उनीहरूको घर थियो । त्यहाँबाट लालबन्दी जाँदा मैले गोठाटारकै पदमबहादुर दाहाललाई भेंटे । यता आएपछि कहिले घर जाउँ जस्तो भइरहेको थियो । उताको तलब छाडेर राजमार्ग बनाउन ८/९ महिना काम गरें । ७ सय रुपैयाँसहित घर आएँ । घर आएर व्रतबन्ध भयो ।
अन्त्यमा, मैले नपढेकाले दुःख पाएँ । पढ्नु सबभन्दा ठूलो काम हो । सम्पत्ति हो ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६६ फागुन २३ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<