नारायणीमा पौडी
प्रतिभा सुवेदी सामाजिक क्षेत्रमा कार्यरत महिला हुनुहुन्छ । उहाँ ‘नारी चेतना केन्द्र, नेपाल’ नामक संस्था चलाउँदै आउनुभएको छ । प्रतिभा उक्त संस्थाकै संस्थापक-अध्यक्ष हुनुहुन्छ । उहाँको जन्म २०१० साल काठमाडौंको मालीगाउँमा भएको । पिता गोपीनाथ र माता भवानी खतिवडाका ५ छोरा र दुई छोरी जन्मिएका हुन् । प्रतिभा कान्छी छोरी हुनुहुन्छ । उहाँले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए र शिक्षाशास्त्रमा बीएड गर्नुभएको छ । सेन्ट फ्रान्सिस जेभियर युनिभर्सिटी, क्यानडाको एक्स्टेन्सन डिपार्टमेन्ट कोडी इन्टरनेसनलबाट समाजशास्त्रमा डिप्लोमा गर्नुभएको छ । चितवनको टाँडी क्याम्पसमा केही समय पढाउनुभएको छ । महिला विकास शाखामा पाँच वर्ष काम गर्नुभएको छ । अशोका फेलोशिप पाएकी प्रतिभाले क्यानडा, अमेरिका, भारत, पाकिस्तान, जापान, फ्रान्स, चीन आदि देशको यात्रा गर्नुभएको छ । उहाँका ‘विविध पक्षमा नेपाली नारी’, ‘नेपाली वुमन राइजिङ’, ‘महिला-पुरुष समविकासको आधार’ जस्ता पुस्तक प्रकाशित छन् । उहाँका धेरै लेखरचना पत्रपत्रिकामा प्रकाशित भइरहेका हुन्छन् । यसपटक प्रतिभा सानो छँदाका केही सम्झना :
हामीलाई बुबा र आमाले नै पढ्न सिकाउनु भयो । अझ आमाले सिकाउनुहुन्थ्यो । बुबा मालपोतमा काम गर्नुहुन्थ्यो । त्यसैले हामीले एक ठाउँमा बसेर पढ्ने अवसर पाएनौं । २०१५ सालमा बुबा कृष्णनगर, तौलिहवा जाँदा हामी पनि गयौं । त्यहाँ हिन्दी भाषाको प्रभाव थियो । ‘पचाम, पचिस- दुनी एकिस…’ भनेर पढ्नुपर्थ्यो । २०१८ सालमा काठमाडौं आउँदा हामी त मधेशीजस्ता भएका थियौं । हाम्रो बोली, चालचलनमा उतैको प्रभाव देखिन्थ्यो । त्यहि वर्ष बुबा चितवन जानुभयो । हामी पनि गयौं । म कक्षा ४ मा चितवन हाइस्कुलमा भर्ना भएँ । कक्षा ४ को अन्तिम परीक्षामा सहभागी हुँदा अनौठो घटना भयो । त्यसअघि परीक्षा दिइएकै थिएन । ३ घण्टा लेख्नुपर्ने । १६ वटा प्रश्न । आफूले केही नहेरि लेख्न थालें । सबै प्रश्नको उत्तर दिने प्रयास गर्दा समय सकियो । आत्तिएकी थिएँ । समय सकिएको घन्टी बजेर कपि खोस्दा सन्चो भएजस्तो भयो । बाहिर आएर दिदीले प्रश्नपत्रको माथिल्लो भागमा लेखेको संख्यामा मात्र उत्तर दिनुपर्छ भनेपछि भोलिबाट त्यसै गरें ।
मैले चितवन हाइस्कुलबाटै २०२५ मा एसएलसी दिएँ । सेकेन्ड डिभीजनमा पास गरें । मलाई स्कुल पढ्दा अंग्रेजी गाह्रो लाग्थ्यो । नेपाली, गणित र चित्रकला मनपर्थ्यो । म औसत विद्यार्थी हुँ । अतिरिक्त क्रियाकलापमा भाग लिन्थें । छोरीहरूलाई भनेर तीनखुट्टे, सियो-धागो खेलाइन्थ्यो । कहिलेकाहीं नृत्य गर्थे । वादविवाद र निबन्ध प्रतियोगितामा भाग लिन्थें । अक्षर राम्रा थिए । बुबा र दाजुले अक्षर राम्रा पार्न सिकाउनुहुन्थ्यो ।
चितवनमा मसँग पढेका साथीहरू : तीर्थ खनियाँ, सीता प्रधान, जगन्नाथ पौडेल, नीलकण्ठ उप्रेती, लक्ष्मी मल्ल पोखरेल आदि हुन् । हाम्रा सरहरू : भीष्मकान्त अधिकारी त हेडसर नै हुनुहुन्थ्यो । भुषण गुरुले संस्कृत र नेपाली पढाउनुहुन्थ्यो । भारतीय शिक्षक पनि हुनुहुन्थ्यो । हिरा श्रेष्ठले विज्ञान पढाउनुहुन्थ्यो । हिरा एकजनामात्र हाम्रो म्याडम हो ।
बहादुरगञ्जमा हुँदा भाई बन्धु र मलाई एकजना गाउँलेले पूजा छ भनेर लगे । मधेशको पूजा राती ११ बजे सकियो । यता बुबाआमा हामीलाई खोज्न थाल्नुभएछ । राती घर आइपुग्दा बुबाले पिट्नुभयो । अबदेखि यस्तो काम गर्दैनौं त भन्यौं । पछि चितवनमा गोविन्द घिमिरे नामका सिपाहीले रामनगर जंगलको गणेशस्थान लगे । जंगलमा हामी हरायौं । उनी तर्सिए । हामी केटाकेटी के भयो के ? थाहा भएन । बल्ल बाटो फेला पारेर घर फर्कियौं । स्कुलमा पनि गृहकार्य नगर्दा र काम बिराउँदा सजाय पाइन्थ्यो ।
नारायणीमा छलि-छलि पौडन जाने, साइकल कुदाउने अझ ओरालोमा डब्बल कुदाउने खुब गरियो । बाल्यकाल रमाइलोमा नै बित्यो ।
मैले जीवनमा जानेको कुरा – जीवनमा दुःखमात्र हुँदैन । सुख पनि आउँछ । हतारिनु हुँदैन । मेहनत गरिरहनुपर्छ । खुब पढ्नुपर्छ । पढेरै आत्मविश्वास बढ्छ ।
(शब्द : राजेश कोइराला, २०६६ फागुन १६ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)