कुबेर गर्तौला सानो छँदा

भूत र ख्याकसँग के को डर ?

कुबेर गर्तौला वरिष्ठ सञ्चारकर्मी हुनुहुन्छ । उहाँले धेरै संख्यामा शिक्षा, स्वास्थ्य, कृषि आदि विषयमा जनचेतना जगाउने श्रव्यदृश्य सामग्रीको निर्माणमा ठूलो भूमिका निभाउनुभएको छ । त्यस्ता सामग्री तयार पार्नुअघि लेखिने ‘स्क्रीप्ट’ का लागि उहाँ चर्चित हुनुहुन्छ । उहाँले लेखेको रेडियो नाटक, रेडियो कार्यक्रम, टेलिश्रृंखला असंख्य छन् । चेतनामुलक टेलिश्रृंखला ‘उजेली’ र चलचित्र ‘चमेली’ निर्माणमा पनि उहाँको नाम जोडिएर आउँछ । चमेलीको कथा लेखेवापत ‘सर्वोत्कृष्ट कथा लेखन’को पुरस्कार पाउनुभएको थियो । उहाँ थुप्रै शैक्षिक र राष्ट्रिय गीत लेख्नुभएको छ । उहाँका ती गीत नेपालका ख्यातिप्राप्त कलाकारहरूले गाउनु भएको छ । उहाँले तीन दशकभन्दा बढी समय रेडियो नेपालमा रहेर काम गर्नुभएको छ । उहाँको जन्म १९९३ सालमा काठमाडौंको विशालनगरमा भएको हो । उहाँका पिताको नाम डोरबहादुर र माताको नाम इश्वरीदेवी हो । उहाँहरू दुई दाजुभाइ जन्मनुभएको हो । उहाँका भाइ ओमकार गायक हुनुहुन्छ । उहाँले अष्ट्रेलिया, मलेसिया, भारत, बेलायत, अमेरिका, क्यानडाजस्ता धेरै देशयात्रा गर्नुभएको छ । गर्तौलाले नेसनल कलेजबाट बिए पढ्नुभएको छ । चेतनामुलक श्रव्यदृश्य सामग्रीका विषयमा परदेशमा तालिम लिनुभएको छ । यस्ता सामग्री तयारीसम्बन्धी विदेशी पुस्तक तथा जर्नलमा उहाँको नाम प्रशस्त भेटिन्छ । उहाँले सिकाएर अगाडी बढेका धेरै रेडियो तथा टेलिभिजनकर्मी छन् । यसपटक गर्तौला सानो छँदाका केही सम्झना :
विशालनगरको हाम्रो घर विशाल नै थियो । खानदान ठूलो थियो । त्यहाँ खानदानी शैली थियो । तर अन्धविश्वास उत्तिकै थियो । आमाहरूले बाहिर निस्कनु हुन्नथ्यो ।
म सानै थिएँ, भाइले त महिनामात्र काटेको थियो । बुबा बित्नुभयो । बुबा सुवेदार हुनुहुन्थ्यो । हाम्रो मामाघर दोलखामा थियो । आमा, म र भाइ त्यतै गयौं । टुहुरो भएपछि एक ठाउँमा बसिएन । आफन्तले माया गर्थे । यता र उता गरिरहन्थें ।
मामाघर जाँदा यहाँबाट हिड्नुपर्थ्यो । लसुन, काउली बोकेर जाइन्थ्यो । बाटोमा लसुन दिएर राती बास बस्न पाइन्थ्यो ।
रामायण र महाभारतले मलाई सानैदेखि प्रभाव पारेको थियो । त्यसैले मैले कहिल्यै असत्य बोलिन । मेरो ब्रतवन्ध ८ वर्षकै उमेरमा भयो । ब्रतवन्धको ६ महिना बोल्नुहुन्न भनिन्थ्यो । धारामा नुहाउन जाँदा जनै गाँठो पर्‍यो । मर्छुजस्तो लागेर तहबीलदारलाई बोलाएँ । उनले खोलिदिए । उनले, ‘मर्न लागेको थिए, मैले बचाएँ’, भने । झुठ बोलेपछि मलाई रिस उठ्यो । खुकुरी लिएर खेंदें । अरुलाई अन्याय भएको सहन्नथें । कसैलाई अन्याय भएको देख्दा हात छाड्थें । सानासाना साथीहरूलाई नेतृत्व गर्थे । म सञ्चारक्षेत्रमा नलागेको भए नेता हुन्थे जस्तो लाग्छ ।
सेवा गर्नुपर्छ भन्ने लाग्थ्यो । कसैले बच्चालाई पिटेको देख्दा माया लाग्थ्यो । एकपटक औषधी किन्न दिएको पैसा दान दिएर फर्केको छु । सर्टका टाँक आज सबै हुन्थे । भोलि हुँदैनथे ।
सानोमा म भूतसँग लड्न जान्छु भन्थें । ख्याकले लगे लगोस् भन्थें । मलाई भूत कसरी आउँछ भन्ने लाग्थ्यो र घरका साना प्वालबाट राती हेरिरहन्थे । के को भूत आउनु नि ?
हाम्रो २००२ सालमा घरमा अंशवन्डा गरियो । भान्सा अलग भयो । २००५ मा पद्म शमशेर प्रधानमन्त्री भएपछि हाम्रो त्यहि घर किनेका थिए । उनी नबसेकै अवस्थामा विश्वेश्वरप्रसाद कोइरालालाई त्यहि घरमा थुनिएको हो ।
मामाघर गएपछि मैले उतै पाँच पास गरें । उसबेला पाँच पास र छ पास भन्ने चलन थियो । हामीले पढ्ने किताब इश्वरचन्द्र विद्यासागरको ‘फर्स्ट बुक’ थियो । त्यो किताब ‘गोरुको पाना’, ‘चिलको पाना’ सम्म पढेको भनिन्थ्यो । ‘कति पढेका छौ ?’ भनेर कसैले सोध्यो भने, ‘गोरुको पाना, चिलको पानासम्म पढेको छु,’ भन्ने चलन थियो ।
त्यसबेला जुद्धोदय स्कुललाई पब्लिक स्कुल भनिन्थ्यो । मलाई त्यहाँ भर्ना गर्न लगियो । त्यो स्कुल नेपाल बैंकको पश्चिमपट्टी लामो टहरामा थियो । त्यहाँ पूर्णमान श्रेष्ठ सर हुनुहुन्थ्यो । उहाँलाई सलाम गर्नुपर्छ भनेपछि मैले सैनिकजस्ता तनक्क तन्किएर सलाम गरें । त्यहाँ कक्षा ४ मा भर्ना भएँ । बेलुका घर फर्केपछि पब्लिक स्कुल लान्छु भनेर जुद्धोदय लाने भनेर झगडा गरेको थिएँ । कसैसँग हात फैलाउने बानी थिएन । साढे सत्र रुपैयाँ नपाउँदा झण्डै एसएलसीको फारम भर्न पाइएन । साथी उदयशंकर आदिले पैसा दिएपछि फारम भरें । कर्नेलको नाति भए पनि धेरै दुःख भयो । खानसमेत नपाउने अवस्था आयो ।
हामी सानोमा बासमति, पायाँ, खोपी खेल्थ्यौं । पायाँ खेल्दाका साथी कुमार घले, बुद्धिरत्न तुलाधर, इश्वरचन्द्र आदि थिए ।
उन्नति देख्ने हो भने बालबालिकालाई मौका दिनुपर्छ भन्छु ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६६ फागुन ९ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<