माया पौडेल ‘आशावादी’ सानो छँदा

एक मुठा बिंडी ….

माया पौडेल ‘आशावादी’ भानु कलाकेन्द्र र भानु-मोरङ सांस्कृतिक समितिको अध्यक्ष हुनुहुन्छ । उहाँ विशेष त नृत्य, अभिनय र गायनका क्षेत्रमा सक्रिय हुनुहुन्छ । मायाको जन्म २०१० चैत १२ भारतको आसाम राज्यमा भएको हो । मायाका पिताको नाम दाताराम र माताको भागिरथी निरौला हो । उहाँका एक दाजु नन्दप्रसाद हुनुहुन्छ । भानु-मोरङ सांस्कृतिक समितिको स्थापना २०१९ साल र भानु कलाकेन्द्रको स्थापना २०३७ मा भएको हो । विराटनगरलाई केन्द्र बनाएर कलाकारिता गर्ने यी संस्थाका संस्थापक चतुर्भुज आशावादी मायाका श्रीमान हुनुहुन्छ । चतुर्भुजको २०५९ साउनमा निधन भयो । नारायणी कलामन्दिर (चितवन) बाट कलाकारिता थालेकी मायाले श्रीमानको निधनपछि कलाकेन्द्र र सांस्कृतिक समितिको प्रमुख हुनुभएको हो । मायाले केही टेलिश्रृंखला, चलचित्र र धेरै नाटकमा अभिनय गर्नुभएको छ । कला देखाउन सबै जिल्ला पुग्नुभएको छ । विशेष गरी मैथिली नाटकमा सहभागिता जनाउँदा भारतमा भएका प्रतियोगितामा बेग्लाबेग्लै समयमा पुरस्कृत हुनुभएको छ । धेरै सम्मान पाएकी माया सानो छँदाका केही सम्झना :
म ३/४ वर्षको हुँदा आमा, दाजु र मलाई मामाले चितवन ल्याउनुभयो । ब्रह्मपुत्रमा आएको ठूलो बाढीले हामी आसाममा सुरक्षित भएनौं । त्यसैले नेपाल आउनु पर्‍यो । हामीलाई पोथीमारीबाट तेजपुर ल्याइयो र त्यसपछि त्यहाँबाट नेपाल आइयो ।
म चितवनको स्थानीय बालकुमारी माविमा भर्ना भएँ । कक्षा ६ सम्म त त्यहिं पढें । नेपाल आउन्जेल पनि आसामी भाषामा गीत गाउँथे । स्वर राम्रो छ भनेर एकपटक स्कुलमा गीत गाउन लगाए । मैले आसामी भाषामा गाएँ । कसले बुझ्यो र ? एकजना साथीले नेपालीमा गीत गाइन । उनले जीतिन् । मलाई लाज भयो । अब म कहिल्यै गाउँदिन भन्ने अठोट गरें । बुबा पनि गीत गाउनु हुन्थ्यो रे । बुबाले दुई विवाह गर्नुभएको हो । हामी कान्छी श्रीमतीबाट जन्मेका हौं । तर बुबा हामीसँग कहिल्यै बस्नु भएन । दाजु ‘माउथ हार्मोनियम’ बजाउनुहुन्थ्यो । म गुनगुनाउँथे । म १४ वर्षकी हुँदा झापा, दमकमा मैले बुबालाई देख्ने मौका पाएँ । बुबा राम्रो हुनुहुन्थ्यो । बुबालाई देखेर मेरी साथी पनि छक्क परेकी थिइन ।
दाजु नारायणी स-मिलमा काम गर्नुहुन्थ्यो । त्यसको कार्यालय पाटनमा थियो । उहाँ काठमाडौं उपत्यका आउने भएपछि म पनि उहाँसँगै आएँ । क्षेत्रपाटीको युवक माविमा पढ्न थालें । २०२८ मा त्यसै विद्यालयबाट एसएलसी दिन थालें । तर दोस्रो दिन नारायणी कलामन्दिरको एक कार्यक्रममा नृत्य गर्न म वीरगञ्ज पुगेकी थिएँ । पढाई डामाडोल भयो । उसबेला नृत्य गर्दा केही पाइन्नथ्यो । एक कप चिया र पाउरोटी खान पाउँदा दंग परिन्थ्यो । मलाई काठमाडौंमा कुमारदर्शन योगीले नृत्यको प्रशिक्षण दिनुभयो । मैले नाचेको र गाएकोमा दाजु खुसी नै हुनुहुन्थ्यो ।
२०२५ सालमा हामी चितवनबाट जनकपुर सर्‍यौं । त्यसैले तराईकै केही रोचक सम्झना छन् । एकपटक कुरा हो । त्यहाँ अरुले बिंडी खाएको देख्थे । एउटा एउटा सल्काएको देखेर मलाई लाग्यो, ‘कति लोभी रहेछन् ।’ एक झुप्पा सुपारी झारें र एक प्याकेट बिंडी ल्याएँ । एकैपटक सल्काएर तानेको त बेहोस नै भएँ ।
घरका छेउमा ग्वाली थियो । त्यहाँ हामीले खिचडी पकाउने भनी पलंगमुनि आगो बाल्यौं । साथी थिइन्- बसुन्धरा तिम्सिना । आगोले ग्वाली (सानो घर) नै सल्कियो । हामी भाग्यौं । कसले गर्‍यो भनेर कसैलाई थाहा भएन । काम गर्ने मानिसले गाली खाए ।
खेतको धान चराले खान्थ्यो । हामी धपाउन जान्थ्यौं । फर्कदा मेरो खुट्टामा एउटा थैली ठोक्कियो । त्यसबाट अनौठो आवाज आयो । खोलेर हेर्दा पैसा देखें । गहना पनि रहेछन् । घर ल्याएर आमालाई देखाउँदा चोरिस् भन्नुभयो । दाजुले बलिरहेको चिर्पटले हिर्काउनुभयो । एउटी महिला बैंकमा राख्न जाँदा खसालेको थाहा भएपछि आमा र दाजुलाई लज्जा भयो । ती महिलाले मलाई पुरस्कार स्वरुप पाँच सय रुपैयाँ दिएकी थिइन । मैले, ‘तेरो पैसाले मेरो चोट निको हुन्छ’ भनेर त्यो पाँच सयको नोटलाई च्यातें ।
यस्तै रमाइलो गर्दा बाल्यकाल बित्यो ।
(शब्द : राजेश कोइराला, तस्बिर : सुन्दर श्रेष्ठ, २०६६ पुस १९ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<