लक्ष्मी भुषाल ‘बूढी-आमै’ सानो छँदा

सानैदेखि बूढी-आमै

लक्ष्मी भुषाल रेडियो नेपालको कृषि कार्यक्रमकी ‘बूढी आमै’ हुनुहुन्छ । कृषि सुचना केन्द्रकी अधिकृत सुश्री भुषाल गत असोजदेखि जागिरे हुनुहुन्न । तर नाटकको काम भने गर्दै हुनुहुन्छ । उहाँले २०२३ मंसिरदेखि जागिर खानुभएको हो । लक्ष्मीको जन्म २००८ असोज १५ मा काठमाडौंको डिल्लीबजारमा भएको हो । उहाँका पिताको नाम मानबहादुर र माताको नाम रत्नकुमारी हो । उहाँका एक दाई, दुई भाई र एक बहिनी जन्मनुभएको हो । लक्ष्मी जेठी छोरी हुनुहुन्छ । उहाँले जागिर थाल्दा कार्यालयको नाम ‘कृषि सूचना शाखा’ थियो । पछि ‘कृषि सूचना महाशाखा’ बन्यो र पछि ‘कृषि सुचना तथा सञ्चार केन्द्र’ भयो । करिब ४३ वर्षमा उहाँले आवाज दिएका नाटक हजारौं छन् । उहाँले जर्मनी, मलेसिया, फिलिपिन्स, स्विट्जरल्यान्ड, हङकङ आदि भ्रमण गर्नुभएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान, नेपाल सरकार आदिले सम्मान गरे । उहाँले धेरै कदरपत्र पाउनु भएको छ । यसपटक भुषाल सानो छँदाका केही सम्झना :
म सानो छँदा डिल्लीबजार गाउँजस्तै थियो । सबै चाँडै सुत्थे । नसुत्ने र ढिलो उठ्नेको औषधि म गर्थें । बेलुका नौ बजे सुतेपछि म बिहान ४ बजे उठ्थे । म ढोका पोत्थे । ढिलो उठ्ने घरको पनि ढोका पोतिदिन्थे । त्यहि लाजले अरु उठ्थे । यसो गरेको देखेर मलाई त्यसबेला सबैजना ‘यो बूढी हुन्छे’ भन्थे । कोही झगडा गर्‍यो भने म हँसिया लिएर जान्थे । झम्टन्थे । डरले सब झगडा बन्द हुन्थ्यो । फेरि सबै भन्थे, ‘यो बूढी जस्ती छ ।’
मेरा मिल्ने साथी ढेवा र मीरा थिए । हामीले कहिल्यै खेलेर समय बिताएनौं । झाडि हुन्थ्यो, त्यतै दाउरा खोज्थ्यौं । घर ल्याउँथ्यौं । त्यहि दाउराले घरमा खाना पकाइन्थ्यो । एकदिन हामीलाई चुरोट खान मनलाग्यो । त्यसबेला ‘फूलमार’ चुरोट हुन्थ्यो । पैसा थिएन । मैले बाबाको खल्तीबाट १ रुपैयाँ ५० पैसा चोरें । साथीले तन्ना ल्याए । हामी एउटा इनारको छेउमा बस्यौं । मकै-भट्मास पनि घरबाट लगेको थियो । मकै-भट्माससँग मुला खायौं । खाँदाखाँदै हाम्रो एउटा योजना बन्यो- इनारमा हामफाल्ने । तर मरिने डर । पहिला को हामफाल्ने ? भन्ने भयो । पहिला कोही नहुने भएपछि त्यो योजना सफल भएन । त्यसपछि हामी एयरपोर्ट हेर्न जाने भयौं । पानी परेको थियो । तन्ना तिन टुक्रा पारेर ओड्यौं । हामी एयरपोर्ट पुग्यौं । प्लेन भएकै ठाउँमा पुग्यौं । रमाइलो हेर्दाहेर्दै झमक्क साँझ पर्‍यो । अध्यारो भयो । आठ/दस वर्षका बच्चा हामी त छलियौं । कताबाट आएको, कता जाने ? थाहा भएन । साथीहरू हराए । म हिंडे । हिंड्दाहिंड्दै म त बगलामुखीको मन्दिरमा पुगेछु । म रुन थाले । त्यहाँ एउटा घरमा लगेर एउटा नेवार परिवारले मलाई उसिना चामलको भात र आलु खान दिए । भोलिपल्ट डिल्लीबजार आएँ । त्यसपछि मेरा साथीसँग मेरो भेट भएन । घर गइँन । एकजनाले समातेर थाना पुर्‍याइदिए । पुलिसले सबथोक सोधे । बुबाको नाम बताएपछि घर पुर्‍याइदिए । बुबाले गाली गर्नुभयो । हातखुट्टा फित्ताले बाँधेर खानेकुरा अगाडी राखिदिनुभयो र ‘खा’ भन्नुभयो । त्यसरी कसरी खानु र ? ‘अबदेखि यसरी बाहिर नजाने भए खोलिदिन्छु’, भन्नुभयो । मैले नजाने भनेर तीनपटक भनेपछि खोलिदिनुभयो । सबै खानेकुरा मलाई मनपर्ने थियो ।
दशैंमा भेडा, च्याङ्ग्रा ल्याउँथे । म चाहिं घरको गेट खोलिदिन्थे । रातभर ती बस्थे । बिहान छाड्थें । घरमा अरु मासु खान्थे । मैले कहिल्यै खाइँन । मलाई धर्म-कर्ममा रुचि थियो । गुन्द्रुक, भट्मास, हरियो लसुन, लप्सी हालेर बनाएको अचार मनपर्थ्यो ।
म सानी हुँदा गम्भीर हुँ । अरु खालि बसेको देख्दा भन्थें, ‘किन खालि बसेको ? केहि काम गर्नु नि ।’ बोलिले नै अरुलाई हसाउँथे । नाच हेर्न जान्थें । नक्कल गर्थे । घरको काम सघाउँथे । कसैलाई दुःख पर्दा दया लाग्थ्यो ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६६ मंसिर २१ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<