मछरी चित्रकार सानो छँदा

माछाजस्तै

मछरी चित्रकार गाडी चलाउने चाहिने अनुमतिपत्र (लाइसेन्स) लिने पहिलो नेपाली महिला हुनुहुन्छ । उहाँले २००९ साल जेठ २९ मा लाइसेन्स लिनुभएको हो । उहाँले सुरुमा काठमाडौंको पुतलीसडकदेखि टुँडीखेलसम्म जीप चलाउनुभएको थियो । त्यो जीप ५४५ नम्बरको थियो । मछरीको जन्म १९८८ साल भाइटिकाको दिन काठमाडौंको यट्खामा भएको थियो । उहाँका पिताको नाम कृष्णबहादुर र माताको नाम भद्रमाया हो । उहाँहरू ३ दाजुभाई र ४ दिदीबहिनी जन्मनुभएको हो । मछरी जेठी छोरी हो । चित्रकार पेशाले चित्र बनाउने र फोटो खिचाउने काममा लागेको पाइन्छ । उहाँले भारत, थाइल्यान्ड, सिंगापुर, हङकङ, दुबई, श्रीलंका आदि देशको भ्रमण गर्नुभएको छ । यसपटक चित्रकार सानो छँदाका केही सम्झना :
म सानोमा चकचके थिएँ । वामे सर्दा बुबाले बनाएको चित्र बिग्रिएछ । अनि उहाँले, ‘यो कस्तो चकचके मछलीजस्तो,’ भन्नुभएछ । अनि मलाई सबैले मछली भन्न थाले । नाम बिग्रदै गयो र मलाई मछरी भन्न थालियो । मेरो बाल्यकालको नाम अमृतदेवी हो ।
म यट्खामा हुर्के । म सात वर्षको हुँदा आमा बित्नुभयो । अनि मैले घरको काम गर्नुपर्ने भयो । भाईबहिनीले पढ्ने मौका पाए । अझ माहिला बहिनीपछिका सबैले पढे । मलाई पनि पढ्ने रहर थियो । म लुकेर शुक्रराज शास्त्रीकी छोरी चन्द्रकान्ताकहाँ पढ्न जान्थें । उहाँले सिलोटमा क ख…, अ आ … सिकाइदिनुभएको थियो ।
घरमुनिबाटै धेरै जात्रा जान्थे । हामीले इन्द्रजात्रा र गाई जात्रा सधैं देख्थ्यौं । त्यसबाहेक माघेसंक्रान्ति र दशैं पनि रमाइलो हुन्थ्यो । दशैंमा नयाँ लुगा लगाउन पाइने र पिङ खेलिने भएकाले रमाइलो भएको हो ।
आमा बितेपछि छिमेकका आमाका साथीहरूसँग म पशुपतिनाथ र स्वयम्भू जान्थे । बुबाले पनि घोडेजात्रा हेर्न लैजानुहुन्थ्यो । आफू हिंड्न नसक्दा खर्पनमा राखेर पनि लगेको याद छ । मच्छिन्द्रनाथको जात्रा हेर्न पनि जान्थे ।
घरको काम सकेपछि साथीहरूसँग खेल्न निस्कन्थे । मेरा साथीहरू झ्यान, कान्छी मैयाँ, नानी छोरी र भामा थिए । हामी लुकामारी, घ्वायँ, ध्वाईकासा आदि खेल खेल्थ्यौं ।
घर खर्च बचाएर आमाले पैसा उभार्नुहुन्थ्यो । तीस रुपैयाँ पारेपछि मेरो पेटमा पोटुका बनाएर एक तोला सुन किनेर ल्याउ भन्नुहुन्थ्यो । हात्तीमार्का सुन तोलाको तीस रुपैयाँमा आउँथ्यो भने तेजाबी सुन २० रुपैयाँ तोला पर्थ्यो ।
सात वर्षकी हुँदा दुवै कानका तल र निधारमा अचम्मका फोका आए । मलाई चिन्ता लाग्यो । पछि चिरफार गर्दा हरायो ।
मलाई जेरी, स्वारी, हलुवा मनपर्थ्यो । हाम्रो चारतले घर थियो । त्यसबेला पनि बिजुली थियो ।
सात सालमा राणा शासन गएपछि जुलुसमा भाग लिन न्युरोड गएकी थिएँ । त्यसबेला हाम्रो तीनपांग्रे गाडी थियो ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६६ मंसिर ७ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<