प्रा डा गंगा श्रेष्ठ सानो छँदा

लन्डन पुग्दा

प्रा डा गंगा श्रेष्ठ नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानमा प्राज्ञ हुनुहुन्छ । उहाँले त्रिचन्द्र कलेजमा एक र बाँकी समय त्रिभुवन विश्वविद्यालयकै तथ्यांक केन्द्रिय विभागमा तथ्यांकशास्त्र पढाएको चालिस वर्ष पुगेको छ । उहाँको जन्म २००४ माघमा ललितपुरको झम्सिखेलमा भएको हो । पिता भरतलाल र माता प्रेमकुमारीका तीन छोरा र चार छोरी जन्मिए । उहाँ साहिली छोरी हो । त्रिचन्द्र कलेजबाट आइएस्सी र बीएस्सी गरेपछि उहाँले भारतको भागपुर युनिभर्सिटिबाट तथ्यांकशास्त्रमा स्नातकोत्तर गर्नुभयो । दिल्ली युनिभर्सिटिबाट पिएचडी पूरा गर्नुभयो । उहाँले बिएस्सीका लागि तथ्यांकशास्त्र विषयको अंग्रेजीमा दुई पुस्तक एक्लै र नेपालीमा एक पुस्तक अरुसँग मिलेर लेख्नुभएको छ । बेलायत, अमेरिका, इटाली, अष्ट्रेलिया, स्विट्जरल्यान्ड, बंगलादेश, भारत आदि देश पुग्नुभएको छ । गंगाले एमएस्सी र पिएचडी गरेपछि महेन्द्र विद्याभूषण, विश्वविद्यालयबाट शिक्षा पुरस्कार तथा इटालीको ‘इन्टरनेसनल सेन्टर फर थ्यौरिटिकल फिजिक्स’बाट एसोसियट अवार्ड पाउनुभएको थियो । यसपटक श्रेष्ठ सानो छँदाका केही सम्झना :
हाम्रो परिवार ठूलो थियो । ठूली दिदीको १२ वर्षको हुँदा पढाई छुट्यो । उहाँको १६ वर्षको हुँदा बिहे भयो । हामी तीन बहिनीले भने पढ्न पायौं । छोरीहरूलाई पढाउनुपर्छ भन्नेमा चाहिं आमाको जोड थियो ।
बुबा बेलायतका लागि राजदूत शंकर शमशेरका नीजि सचिव हुनुहुन्थ्यो । त्यसैले म सानै हुँदा हामी लन्डन गयौं । दिदीहरू ठूला भएकाले छाडेर जानुपर्दा दुःख लागेको थियो । बुबा, आमा, म र बहिनी लन्डन गएका थियौं । म र बहिनी परिवारका साना सदस्य भएकाले बुबा-आमाले यहाँ छाड्न चाहनु भएन । त्यसबेला भारतका विभिन्न ठाउँ हुँदै मुम्बई पुगियो । त्यसपछि १९/२० दिनको पानीजहाज यात्रामा लन्डन पुगियो । यात्रा नेपालबाट जानेको सानो-सानो टोली नै थियो । दुईटी बज्यै, फर्स्ट सेक्रेटरी इश्वरराज मिश्रको परिवारका दुई सदस्य, हामी चार जना र एकजना बाजे हुनुहुन्थ्यो ।
जहाज हिंडेजस्तो पनि हुँदैनथ्यो । घरमै बसेजस्तो भनौं या सिंगो टोल, शहरजस्तो हुन्थ्यो । मलाई गुलियो खानेकुरा खुब मनपर्छ । त्यहाँ कोकाकोला किन्न पाइन्थ्यो । कोक किनेर खुब खाइयो । त्यहाँ एकदिन बिराएर नृत्य हुन्थ्यो । फेरि फिल्म पनि देखाइन्थ्यो । पानी रातो, कालो, नीलो देखिन्थ्यो । रातो र कालो पानी देख्दा रिङ्गटा लाग्थ्यो । ४ ठाउँमा जहाज रोकिन्थ्यो । रात हुन्थ्यो । दिन हुन्थ्यो ।
लन्डनमा बस्दा म ठूली भएकाले स्कुल जान्थे । तर त्यहाँ एक वर्षमात्र बसियो । त्यो पनि विभिन्न बिदाका कारण एक वर्ष पूरै त्यहाँको स्कुल जान पाइएन । मलाई शिक्षकको अनुहार अलिअलि याद छ । उहाँले मलाई नै हेरेजस्तो लाग्थ्यो । डर लाग्थ्यो । त्यहाँका केही साथिहरू र लन्डनको केही सम्झना छ । त्यहाँ हामीले टेलिभिजन हेर्‍यौं । ‘टम एन्ड जेरी’ को कार्टुन उसबेला नै हामीले हेरेका हौं । तर टेलिभिजन ‘सेतो/कालो’ हुन्थ्यो ।
राणाशासन ढलेपछि राजदूत शमशेरको काम सकियो । बुबाले परिवार यतै फर्काउने निर्णय गर्नुभयो । दाईको छोरा जन्मिएको थियो । नाति जन्मिएको खुसीयालिमा बुबा नेपाल फर्कन चाहनुहुन्थ्यो । हामी फर्क्यौं ।
स्वदेश फर्केपछि हामी झम्सिखेलको टिका विद्याश्रम पढ्न जान थाल्यौं । त्यहाँ डेढ वर्षमात्र पढियो । ८/९ वर्षको उमेरमा कक्षा २ मा भर्ना भएर कक्षा ४ सम्म पढियो । त्यहाँका टिका सर निकै कडा स्वभावका हुनुहुन्थ्यो । ६/६ महिनामा कक्षा चढ्ने चलन थियो ।
त्यसपछि मदन मेमोरियलमा कक्षा ६ मा भर्ना भएँ । त्यहाँ एक वर्ष पढियो । त्यसपछि कक्षा ७ देखि पाटनढोकाको आदर्श कन्या निकेतनमा पढियो । त्यहि विद्यालयबाट एसएलसी दिइयो । कक्षा ७ देखि १० सम्म माहिली दिदी र म सँगै थियौं । कहिलैकाहिं झगडा हुन्थ्यो । मैले २०१८ सालमा एसएलसी दिएँ । म सेकेन्ड डिभिजनमा पास भएँ । दिदी फेल हुनुभयो । उहाँ घरायसी काम गर्न रुचाउने भएकाले पढाई राम्रो थिएन ।
स्कुल पढ्दा मेरो पढाई राम्रो थियो । कक्षा २ देखि नै म कहिल्यै सेकेन्ड भइँन । तर एसएलसीमा राम्रो भएन । मलाई म्याथ र इंग्लिस लिटरेचर मनपर्ने विषय थिए । कक्षा ८ सम्म मेरा ह्यान्डराइटिङ राम्रा थिए । आदर्श कन्यामा सानुनानी म्याडमले मेरो कपि उठाएर ‘यी हेर त यस्तो हुनुपर्छ ह्यान्डराइटिङ’ भन्नुहुन्थ्यो । पछि त बिग्रदै गए ।
म सानोमा धेर बोल्थे । पछि यो मेरो बानी हट्यो । साह्रै सानी छँदा गाग्रोमा पानी बोकेर पूजा गर्न लाग्दा म चौथो तलाको एकदमै लड्ने छेउमा पुगें । तर म लडिन । यो घटना मलाई त याद छैन । आमा बारम्बार सुनाउनुहुन्थ्यो ।
झम्सिखेलमा मीठ्ठू र मञ्जु बिष्ट भन्ने साथि थिए । उता आदर्शमा बिन्दुमैयाँ खड्का, बाबामैयाँ केसी थिए ।
स्कुलमा हामी रिङ खेल्थ्यौं । झम्सिखेलमा राम्रो खेलेकाले आदर्शमा दिदी र मेरो टिमले ७ देखि १० सम्म नै जितेको थियो ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६६ कात्तिक ८ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<