पुरुषोत्तम दाहाल सानो छँदा

सय डढ्यो

पुरुषोत्तम दाहाल पत्रकार हुनुहुन्छ । उहाँ एक मानवअधिकारवादी पनि हो । राजनीतिकशास्त्रमा एमए गरेका दाहाल वाल्मिकी क्याम्पसमा त्यहि विषय पढाउनु हुन्छ । उहाँको जन्म २०१५ मंसिर १३ गते ओखलढुंगाको बिगुटारमा भएको हो । उहाँका पिताको नाम पण्डित रत्नप्रसाद र आमाको नाम टिकाकुमारी हो । उहाँहरू ६ दाजुभाई र तीन दिदीबहिनी जन्मनुभएको हो । २०३४ देखि पत्रकारिता गर्दै आएका दाहालले नेपाल टाइम्स दैनिक, राष्ट्रपुकार साप्ताहिक, नेपालवाणी साप्ताहिक, देशान्तर साप्ताहिक, चेतना साप्ताहिक आदिमा काम गर्नुभयो । जनआन्दोलन १ पछि उहाँले रेडियो नेपालमा ‘घटना र विचार’ कार्यक्रमका प्रस्तोता, राष्टिय समाचार समितिको अध्यक्ष, कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री रहँदा सञ्चार सल्लाहकार हुनुभयो । ‘राजधानी’ दैनिक निस्कदा प्रधान सम्पादक हुनुहुन्थ्यो । ०५९ पछि दुई वर्ष च्यानल नेपालको ‘अग्निपरीक्षा’ कार्यक्रमका प्रस्तोता हुनुभयो । उहाँ ०४५ मा स्थापित नेपाल मानवअधिकार संगठनका संस्थापकमध्ये एकजना हो । ०५३ जेठमा स्थापित मानवअधिकार तथा शान्ति समाजमा अहिले सभापति हुनुहुन्छ । उहाँले एक दर्जन देशको भ्रमण गर्नुभएको छ । एक्लै दुई र संयुक्त लेखनबाट उहाँका चार पुस्तक प्रकाशित छन् । महेन्द्रविक्रम मानवअधिकार पुरस्कार, प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार २०५८ आदि प्राप्त दाहाल सानो छँदाका केही सम्झना :
म जन्मेको बिगुटार गरिब गाउँ हो । २/३ का मानिसमात्र वर्षका सबै दिन दुई छाक खान सक्ने थिए । अरु धेरैको दिन एक छाक खाएर बित्थ्यो ।
मेरा बुबा एक्लो छोरो । बुबा काठमाडौं आउनुभयो । शिवपुरी बाबाको चेलो भएर १९९० देखि २००६ सम्म बिताउनुभयो । घर फर्केपछि २००९ मा बिहे गर्नुभयो र हामी जन्म्यौं । घर फर्कदा बाबाका चेला पुण्यप्रसाद दाहाललाई साथै लिएर आउनुभयो । गाउँमा अक्षर चिनेका मानिस एक/दुई थिए । अनि बुबा र पुण्यप्रसाद मिलेर हाम्रै घरमा बेलुका केटाकेटीलाई पढाउन थाल्नुभयो । मकैको बोट (ढोड) र सिटा बालेर पढाइन्थ्यो । पछि त्यहि सानो शिक्षा दिने थलो भाषा पाठशाला बन्यो । म पनि भाषा पाठशालाको विद्यार्थी भएँ । अक्षर चिन्दा ५/६ वर्षको थिएँ । धुलौटोमा छेस्काले लेखेर पढाई सुरु भयो । कक्षा ३ सम्म भाषा पाठशालामा पढियो । त्यसपछि लौकौमुदी, अमरकोश पढियो ।
म ६/७ वर्षको हुँदा आमाले पात्रो हेर्न लगाउनुभयो । जाडो थियो । म अँगेनाछेउमा थिएँ । खोपाबाट पात्रो झिक्दा त्यसमा भएको १२० रुपैयाँ आगोमा खस्यो । मैले थाहा पाइँन । आमाले देख्नुभएछ । आगोबाट निकाल्दा २० रुपैयाँमात्र बचेछ । पछि बुबा आउनुभयो । बुबाले मलाई र आमालाई एक-एक थप्पड लगाउनुभयो । त्यो पैसा कतैबाट ऋणलाई कसैलाई तिर्नु पर्नेछ रहेछ । रिस पनि किन नउठोस् त ? त्यो थप्पड बुबाको दोस्रो थियो । एकपटक अंकगणित नबुझ्दा पहिलो थप्पड खाएको थिएँ । त्यसबाहेक बुबाले मलाई जीवनभर पिट्नु भएको याद छैन् । पाठशालामा पनि गुरुहरुले माया गर्नुभयो । गालीसम्म गरेको याद छैन ।
असारदेखि असोजसम्म धेरै जुका लाग्थे । हामी घरको काम गर्थ्यौं । कोदोको बीउ उखेलेर बोक्दा मेरो ढाड खुइलिएको थियो ।
म सात-आठको हुँदा कोजाग्रतको भोलिपल्ट पाठशाला खुल्यो । हामी गयौं । गुरु नभएकाले त्यहिंनजिक रोटेपिङ खेल्न गयौं । म सानो चढ्न सकिनँ । मैले हातले समाएँ । पिङ घुम्यो । म माथि पुगें । त्यहिं मेरो हात फुस्क्यो । म गद्य्राङ-गुन्द्रुङ खसे । अचेत भएँछु । मर्‍यो भनेर सबै भागेछन् । एक जना दिदीले उठाएर उहाँकै घरको पिंढीमा ल्याएर राख्नुभएछ । आमा र बुबाबाहिर जानुभएको थियो । आमा आउनुभयो । २/३ घण्टापछि होस आयो । देब्रे हात मर्केको रहेछ । हड्चुर लगाएर पट्टि बाँधेपछि महिना दिनमा निको भयो ।
२०२७ मा म काठमाडौं आएँ । कति दिन रत्नपार्कमा सुत्नु पर्‍यो । रानीपोखरीको संस्कृत पाठशालामा पढ्न थालें । काठमाडौं आउँदा बुबाले एक सय र आमाले चालिस रुपैयाँ दिनुभयो । कहाँकहाँ डेरा बसियो । बागबजारमा बस्दा सात दिन खाना खान पाइएन । ट्वाइलेट जाँदा म ढलेको देखेर घरबेटी आमाले हामी सबैलाई खाना खुवाउनुभयो । काठमाडौंमा पढ्दा गिट्टी, बालुवा र सिमेन्ट बोकेर खर्च जुटाउँथे । पशुपतिमा गएर रुद्री पढ्दा पाँच रुपैयाँ र ठूलो पेडा पाइन्थ्यो । एउटा पेडाले पेंट भर्थ्यो । ३० पैसाले एक छाक खान पुग्थ्यो । एकपटक टाइफाइडले बिरामी हुँदा परीक्षा दिंन कठिन भयो । साथीले रिक्सामा हालेर जुद्धोदय पुर्‍याए । तर म फेल भएँ । म रुँदा सुकदेव पौडेल सर पनि रुनुभयो र, ‘धर्तीनजिक छ, आकाश टाढा । आफूभन्दा तल पनि हेर्न सिक्नु भन्नुभयो । आकाश सकिंदैन,’ भन्नुभयो ।
कक्षा ८ मा पढ्दा वक्तृत्वकलामा स्वर्णपदक जितेपछि म समाजमा बोल्न सक्ने भएँ ।
काठमाडौंबाट गएका बेला घाँस काट्न पताले जंगल गएँ । म सानो रुख र अलि ठूलो रुखमा माहिला बा चढ्नुभयो । म चढेको रुखछेउ अर्को रुखबाट भालु हामफाल्यो । ममाथि खसेजस्तो लाग्यो । चिच्याएँ । हात खुस्क्यो । खसें । खुट्टा मर्केछ ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६६ कात्तिक १ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<