एकसुरे बालक
राधेश्याम प्रधान नृत्य-निर्देशक हुनुहुन्छ । उहाँले ‘माला’, ‘चान्डालिका’ (नेवारी), ‘संघर्ष’, ‘न्हीला न्हीला हुँ’ (नेवारी) जस्ता आधा दर्जनभन्दा बढी चलचित्रमा नृत्य-निर्देशन गर्नुभएको छ । थुप्रै भिडियो चलचित्रमा पनि नृत्य निर्देशन गर्नुभएको छ । उहाँको जन्म २०१० वैशाख १५ मा काभ्रेपलान्चोकको बनेपाको ओकुटोलमा भएको हो । उहाँ चिनीयाँलाल र उत्तरकुमारीका माहिला छोरा हुनुहुन्छ । उहाँहरू तीन दाजुभाई र तीन दिदीबहिनी जन्मनुभएको हो । उहाँले ०२६ देखि ०६३ सालसम्म नेपाल प्रज्ञा प्रतिष्ठानमा रहेर नृत्यको विकासका लागि काम गर्नुभयो । ०२१ मा नृत्य प्रशिक्षण लिंदा नारायणदेवी प्रधानसँग उहाँको चिनजान भयो । उहाँहरू दुवै ११ वर्षका हुनुहुन्थ्यो । लामो समय सँगै काम गरेका राधेश्याम र नारायणदेवीले पछि विवाह गर्नुभयो । नारायणदेवी भने अहिले पनि प्रज्ञामा नृत्य-निर्देशक हुनुहुन्छ । भारतका इलाहावादबाट नृत्यमा एमए गरेका प्रधानले नृत्यकारकै रुपमा विश्वका धेरै देश घुम्नुभएको छ । राष्ट्रसेवाका लागि धेरै सम्मान र पुरस्कार पाएका प्रधान सानो छँदाका केही सम्झना :
बुबा बनेपाको नामचलेका व्यापारी हुनुहुन्थ्यो । हाम्रो कपडा र घरायसी सामानको पसल थियो । बुबा नै मेरो पहिलो गुरु पनि हो । उहाँले नै पढ्न सिकाउनुभयो । हामी अक्षर चिन्दा सिलेटमा लेख्थ्यौं । कक्षा २ मा पुगेपछि मात्र कपिमा लेख्न थालियो । हामीसँग भारतमा बनेको फाउन्टेन पेन हुन्थ्यो ।
मैले बनेपाको आजाद स्कुलमा पढें । त्यसबेला हाम्रो स्कुल अहिले भएको ठाउँमा थिएन । अलि टाढा थियो । २० मिनेट लाग्थ्यो । हिंडेर जानुपर्थ्यो ।
म पढाईमा भन्दा कलाकारितामा बढी ध्यान दिन्थे । मैले ०१८ सालदेखि नृत्य गर्न थालेको हुँ । मैले पुष्पलाल ‘उमंग’ श्रेष्ठलाई नृत्यको पहिलो गुरु बनाएँ । उहाँलाई अनुरोध गरें । त्यसबेला नृत्य सिक्दा पैसा तिर्नुपर्दैनथ्यो । स्कुलबाट फर्केपछि म उहाँसँग नृत्य सिक्थें । ०१८/१९ मा गुरुले एउटा कार्यक्रम गर्नुभयो । मैले त्यसैमा पहिलोपटक नृत्य गरेको थिएँ । कार्यक्रम गर्न पनि कलाकारले नै पैसा भेला पार्नुपर्थ्यो । मैले पसलबाट पैसा चोरें । त्यो पैसाले मञ्च बनाउने, खाजा खाने, पूजा गर्ने गरिन्थ्यो । कुखुरा चोरेन भने नाट्यश्वरी खुसी हुन्नन भने कुखुरा चोर्ने चलन थियो । तर मैले कुखुरा भने चोरिन ।
मलाई फुपूका छोरा (दाई) मृगेन्द्रमानसिंह प्रधानले नृत्यमा अझ अगाडी बढाउनुभयो । उहाँ काठमाडौंमा हुनुहुन्थ्यो । उहाँले बोलाएपछि म काठमाडौं आएँ । २०२१ देखि ०२३ सम्म प्रज्ञामा नृत्य सिंके । ०२३ मा बनेपा फर्के । आशानारायण भोछेंलाई गुरु बनाएर नाटक सिके । तीन महिना त उहाँकै घरमा बसियो । घर बिर्सने गरी नाटक सिकियो । एउटा सामाजिक नाटक हामीले देखायौं । म नायक थिएँ । नारायणघाटतिरका दुईटी केटी नायिका थिए ।
त्यसपछि म खालि भएँ । दुई वर्ष देशका विभिन्न भाग पुगे । घुमें । २०२६ सालमा मैले प्रज्ञामै जागिर पाएँ ।
कक्षा १० बनेपामा पढे पनि म काठमाडौं आएँ । पकनाजोलको युवक स्कुलमा कक्षा १० पढेर ०२३ मा एसएलसी दिएँ । थर्ड डिभिजनमा पास भएँ । मसँग त्यसबेला मिल्ने साथी वसन्त श्रेष्ठ, गौतमरत्न तुलाधर, मदनदास श्रेष्ठ, हरिकृष्ण दर्शनधारी आदि हुनुहुन्थ्यो । हामी एउटै स्कुलका विद्यार्थी हौं । बनेपामा मेरा मिल्ने साथी विमल श्रेष्ठ, हरिकृष्ण श्रेष्ठ थिए ।
म सानोमा एकसुरे थिएँ । एउटा काम गरेपछि अर्को गर्न नजान्ने । पढाई ठिकैमात्र थियो । १२ रोपनी जति जग्गा थियो । खेतमा काम गरिन्थ्यो । गाईवस्तु पालेका थिए । तर गोठाला भने कहिले गइँन । बनेपाको ल्याकु दरबारको चौरमा हामी फुटबल खेल्थ्यौं । चिउरा र रक्सी त खाजामा हुन्थ्यो ।
मेरो मामाघर क्षेत्रपाटीमा हो । बनेपाबाट भक्तपुर हिंडेर आएपछि लरी चढ्न पाइन्थ्यो । हामी सामान लिन काठमाडौं आउँथ्यौं । एकपटक साइकलमा आउन-जान गरेको त दुई दिन त शरीर हल न चल भयो । यो ०१८/१९ सालको कुरा हो ।
एकपटक बनेपामा साइकल चलाउँदा एकजना मानिसको कुहिनोमा ठोक्किएर २० मिटर चिप्ले । शरीरभर दिसा लाग्यो । नजिकै खोला थियो । आफू नुहाएँ, कपडा सुकाएँ, साइकल धोएँ र कपडा सुकेपछि लगाएर फर्कें ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६६ असोज १८ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)