सधैं बुद्रुक बुद्रुक
नारायणदेवी प्रधान वरिष्ठ नृत्यांगना हुनुहुन्छ । उहाँको जन्म २०१० असोजमा ललितपुरको सोनीम्ह टोलमा भएको हो । नारायणदेवीका पिताको नाम नारायणदास र माताको तीर्थमाया हो । उहाँका दुई दाजु र दुई दिदी जन्मनुभएको हो । पाँच सन्तानमध्ये उहाँ कान्छी हो । नृत्यमा स्नातकोत्तर गरेकी नारायणदेवीले विश्वका थुप्रै देश भ्रमण गर्नुभएको छ । उहाँले पाएका पुरस्कारको सूची निकै लामो छ । नारायणदेवीले नेपाल प्रज्ञा प्रतिष्ठानमा ४५ वर्ष बिताइसक्नुभएको छ । उहाँले यीनै वर्षमा देखेका र भोगेका घटना समेटेर एउटा पुस्तक लेख्ने योजना बनाउनुभएको छ । यसपटक नारायणदेवी सानो छँदाका केही घटना :
मलाई मेरो जेठो दाजु हरिदासले पढ्न सिकाउनु भयो । उहाँ नै मेरो पहिलो गुरु हो । त्यसबेला छोरीलाई पढाउने चलन उत्ति धेरै थिएन । नाँच्नु त पटक्कै हुँदैनथ्यो । तर दाजुले नै मलाई यो क्षेत्रमा लाग्न हौसला दिनुभयो । दाजु र उहाँका साथीहरू मिलेर ‘ललितकला कुञ्ज’ संस्था खोलेको थियो । त्यो संस्थामा अरु कोही आउँदैनथ्यो । संस्था खोल्नेकै घरमा जो जे जान्दछ, त्यहि गर्थ्यो । मलाई नृत्यमा भाग लिने मौका मिल्यो ।
बुबा सेनाको जागिरे हुनुहुन्थ्यो । तर उहाँ म सानै छँदा बित्नुभयो । मलाई बुबाको अनुहार याद छैन । आमा र दाईहरूले नै हुर्काउनुभएको हो । समाजमा नृत्य गर्नेलाई राम्रो ठान्दैनथे । आमा पनि त्यस्तै सोच्नुहुन्थ्यो । ‘ललितकला कुञ्ज’मा गएर म भगवानको नृत्य गर्छु भन्दा आमाले पत्याउनुभएको थियो । एकपटक आमा नृत्य हेर्न जानुभयो । म तामाङ सेलो नृत्यमा आए । आमाले गाली गर्नुभयो ।
म एघार वर्षको हुँदा नै प्रज्ञा प्रतिष्ठानमा नृत्यका लागि जागिर खान थालें । वसुन्धरा भुषाल र म त्यसबेलादेखि कै साथी हौं । प्रतिष्ठान अहिलेको भवन थिएन । महिनाको तलब एक सय रुपैयाँ थियो । तीन महिनाको तीन सय भयो । एकैपटक चेक दिएको थियो । चेक दिएपछि बालकृष्ण समले भन्नुभयो, ‘यो के हो ? थाहा छ ?’ मैले भने, ‘थाहा छैन ।’ उहाँले भन्नुभयो, ‘पैसा हो पैसा ।’ मैले सोधें, ‘हो र ? अ यो त कागज हो ।’ उहाँले भन्नुभयो, ‘यो पैसा लगेर आमालाई आमालाई दिनु ।’ चेक लगेर आमालाई दिएँ । आमालाई त के थाहा ? दाजुलाई अलिअलि थाहा रहेछ । दाजुले उहाँका एकजना साथीलाई दिएपछि चेक साटियो ।
तीन सय रुपैयाँमध्ये मैले २५ रुपैयाँ खर्च गरें । एउटा छाता किने । १० रुपैयाँ जतिमा छाता आयो । एउटा फ्रक किने । मट्टीतेलले बाल्ने स्टोभ भर्खर बजारमा आएको थियो । त्यो किन्दासमेत एक सय रुपैयाँ पनि सकिएन ।
प्रज्ञा आउँदा साह्रै सानै थिए । बुद्रुक बुद्रुक उफ्रन्थे । प्रज्ञाको भवन बनिरहेका बेला राजा महेन्द्र हेर्न आउनुहुन्थ्यो । आफूलाई के थाहा ? ‘राजा हो’ भन्दा होइनजस्तो लाग्थ्यो । कहिले गाडी चढेर आउने त कहिले हिंडेर आउने । भवन बनाइरहेका बेला चार कुनाबाट हेर्ने । कालो चश्मा र दौरासुरुवाल लाएको हुन्थ्यो । हामी भने बच्चै थियौं । ‘नचल, उठ, राजालाई नमस्कार’ भन्थे । उठेर नमस्कार गर्थ्यौं ।
एकपटक राजालाई कार्यक्रम देखाउने कार्यक्रम बनाइयो । माधवप्रसाद घिमिरेले तयार पारेको गीतमा ब्याले नृत्य गर्यौं । उहाँलाई पदक मिलेको थियो । कवि घिमिरे पछिसम्म त्यहि पदक लाएर हिंड्नुहुन्थ्यो ।
म कक्षा ५ मा हुँदा प्रज्ञा पुगेको । दाईले साइकलमा त्यहाँ पुर्याउनुहुन्थ्यो । बिहान पढ्न जान्थे । दिउँसो एक बजे प्रज्ञामा नृत्य तालिम हुन्थ्यो । मैले त्यसबेलाको ‘हाफक्लास’ देखि ६/७ सम्म पाटनको आदर्श कन्या निकेतनमा पढें । त्यसपछि प्रज्ञाले पढाई बाधा भयो । अनि म नविन प्रौढ स्कुल जान थालें । बेलुका पढ्थे । २०२७ सालमा एसएलसी दिएँ । प्रौढमा पढ्दा सन्तकुमार शाक्य, लक्ष्मी महर्जन, रुबी जोशी, बाबुलाल महर्जन मेरा साथी थिए ।
मलाई दिलबहादुर श्रेष्ठले ट्युसन पढाउनुभयो । उहाँ पढाउँदै हुक्का खाँदै गर्नुहुन्थो । एकपटक झ्यालमा गएर तम्बाखुको खरानी फुक्दै गर्दा मैले उहाँको मेच तानिदिए । उहाँ नहेरि मेचमा बस्न खोज्दा डङ्ग्रङ् लड्नुभयो । कोइला मुखभरि खनियो । हामी भागेर तल्लो तला पुग्यौं । उठेर खेदाएपछि भाग्यौं । त्यसपछि ठुलोहुन्जेल अगाडी परेनौं ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६६ भदौ २१ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)