इतिहासका औंला समातेर
प्रा. श्रीकृष्ण आचार्य महेन्द्र संस्कृत विश्व-विद्यालयका पूर्वउपकुलपति हुनुहुन्छ । आचार्यले २०१६ देखि २०२३ सालसम्म संस्कृत प्रधान पाठशाला पढाउनुभयो । २०२३ देखि २०४७ सम्म वाल्मिकी क्याम्पसमा संस्कृतको ‘सिद्धान्त ज्योतिष’ पढाउनुभयो । श्रीकृष्णको जन्म १९९४ साल भदौ महिनामा भएको हो । उहाँ इतिहासशिरोमणि बाबुराम आचार्यका कान्छा छोरा हुनुहुन्छ । उहाँकी माताको नाम तीर्थकुमारी हो । उहाँका एक दाजु र ४ दिदी जन्मनुभएको हो । आचार्यले ‘बाबुराम आचार्य स्मृतिग्रन्थ’ लगायत पिताका ‘जनरल भीमसेन थापा : यिनलाई मैले जस्तो देखें’ ‘बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहको दिव्योपदेश’, ‘नेपालको सांस्कृतिक परम्परा’, ‘अब यस्तो कहिल्यै नहोस्’, ‘चीन, तिब्बत र नेपाल’, ‘श्री ५ प्रतापसिंह शाह : जीवनी र कार्यकाल’, ‘प्राचीनकालको नेपाल’ जस्ता पुस्तक सम्पादन र परिमार्जन गर्दै आउनुभएको छ । यसपटक आचार्य सानो छँदाका केहि सम्झना :
हाम्रो घर अहिलेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिकै गौचर सिनामङ्गलमा थियो । मेरो जन्म त्यहिं भएको हो । त्यसबेला त्यहाँ ठूलो गौचर थियो । त्यसै गौचरमा अहिलेको अन्तर्राष्ट्रिय विमानस्थल बनेको हो । गौचर आसपासका गाउँबाट गाईवस्तु चर्न आउँथे । यसै गौचरमा खेल्दै मैले आफ्नो बाल्यकाल बिताएँ ।
नेपालमा हवाइजहाज आउनु पहिले अहिलेको विमानस्थल रहेकै ठाउँमा सैनिकलाई निसाना हान्न सिक्ने- सिकाउने ‘ताराघर’ थियो । हिउँदमा त्यहाँ नेपाली र ब्रिटिश दूतावासका सैनिक पालैपालो तारो हान्ने अभ्यास गर्न आउँथे । त्यहाँ गल्फ पनि खेलेको देखिन्थ्यो । ००६ वैशाखमा नेपालमा पहिलोपटक विमान उत्र्यो । विमान पञ्जाबी पाइलटले उडाएर ल्याएका थिए । सुरुमा विमान हेर्न थोरै मानिस आए । पछि काठमाडौं, ललितपुर र भक्तपुरका सबै युवा त्यहाँ भेला भए । त्यति संख्यामा दशौं हजार मानिस भेला भएको मैले देखेको थिइँन । १/२ घण्टा बसेर विमान फर्किएको थियो । मानिसको भीड बढेपछि प्रहरीले घेरा बढाउँदै विमान घेर्यो ।
राजा त्रिभुवन भारत बसेका बेला जनताको राय बुझ्न २००७ सालमा ब्रिटिश टोली नेपाल आएको थियो । प्रजातन्त्रप्रति जनलहर देखाउन पनि दशौं हजार मानिस भेला भए । यो अर्को ठूलो भीड थियो । पानी खान नपुगेर घरका गाग्राको पानीसमेत लानुपरेको थियो ।
मेरो पढाई घरबाट सुरु भएको हो । पिताजी मेरो पहिलो गुरु हो । त्यसबेला हाम्रो घर आसपास कुनै स्कुल थिएन । हाम्रो घर गुरुकुल जस्तो थियो । गाउँभरका बालक पढ्नका लागि बिहान-बेलुका हाम्रो घरमा आउँथे । ३/४ किलोमिटर टाढादेखि पनि बालकहरू आउँथे । बालिकालाई पढाइन्नथ्यो । छिमेकी बालकसँग बसेर मैले पढ्न सुरु गरेको हुँ ।
२००४ फागुनमा मलाई रानीपोखरी पश्चिमको संस्कृत प्रधान पाठशालामा भर्ना गरिदिनुभयो । घरमा पढ्दा कञ्चन पुडासैनी मेरा साथी थिए । पाठशालामा मधुसूदन ढकाल र डा. केशवराम जोशी साथी थिए ।
पिता त्यसबेला नेपाली भाषा प्रकाशिनी समितिमा ग्रन्थकारका रुपमा काम गर्नुहुन्थ्यो । तर उहाँका आँखा कमजोर हुँदै नदेख्ने भएका थिए । उहाँलाई डोर्याउँदै लान्थे । म पाठशाला जान्थे । पिताजी कार्यालय जानुहुन्थ्यो । बेलुका फेरि औंला समातेर घर ल्याउँथे । उहाँका पछिपछि लागेर इतिहास र ज्ञानका कुरा सिक्न धेरै युवा पछि लाग्थे । घर पुग्न ढिलो हुन्थ्यो । हजुरआमा लालटिन लिएर हामीलाई लिन आइपुग्नुहुन्थ्यो ।
पिताजीका आँखा कमजोर हुनु एउटा दुःख थियो । दाजुलाई क्षयरोग भयो । उहाँको उपचार गर्दा हामीले धेरै सम्पत्ति सकियो । त्यसबेला क्षयरोग लागेपछि एक हजार दिनमा मर्छ भन्थे । रोगको उपचार गर्ने उपाय थिएन । टोखामा स्वास्थ्य निवास थियो । त्यहाँ डा. कपराना नामका डाक्टर थिए । क्षयरोगको उपचार गर्थे । उपचार गर्न प्रतिक्षासूचीमा नाम लेखाउनु पर्थ्यो । पालो आउँदा धेरैको ज्यान गइसकेको हुन्थ्यो । पिताजीले स्वास्थ्य विभागका निर्देशक बबर शमशेरलाई बिन्तीपत्र लेखी उपचार गराउनु भयो । एकपटक हेरेको १५० रुपैयाँ लाग्थ्यो । एक रोपनी जग्गा बेच्दा एकपटक देखाउन पुग्थ्यो । दाजु निको हुँदा हामीलाई खान नपुग्ने अवस्था भयो । विमानस्थल बन्ने भएपछि सरकारले हामीलाई उठायो ।
म सानो छँदा शान्त स्वभावको थिएँ । एघार वर्षको भएपछि विद्यालय जान थालेदेखि मैले पढ्नबाहेक अरु केही गर्न भ्याइँन ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६६ भदौ १४ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)