कलियुग कलियुग खितित्त
सहाना प्रधान पूर्वमन्त्री हुनुहुन्छ । उहाँको जन्म १९८४ साल असार ३ गते काठमाडौको असन त्यौडमा भएको हो । उहाँका पिताको नाम शंकरलाल र आमाको रम्भा हो । २००४ वैशाखमा राणाविरोधी नारा लगाउने चार महिला कार्यकर्तामध्ये उहाँ पनि एक हुनुहुन्थ्यो । उहाँका साथ कनकलता, स्नेहलता र उहाँकै दिदी साधना हुनुहुन्थ्यो । उहाँहरु गिरफ्तार हुनुभयो । एक हप्ता आमरण अनसनपछि छुट्नुभयो । प्रधानमन्त्री पद्म शमशेर महिलालाई शिक्षा दिलाउने भएपछि फर्कनुभएको हो । २००४ मा एसएलसी पास हुनुभयो । २००५ मा भाइ शंकरसँगै लखनऊको इजावेल थोवन कलेज पुग्नुभयो । त्यहाँबाट आईए सक्नुभयो । २००७ मा फर्कनुभयो । कन्यामन्दिर स्कुल र सीताराम हाइस्कूलमा पढाउनुभयो । महिला संघको महासचिव हुनुभयो । राजनीति थाल्नुभयो । २००९ मा भारतको पटना बोर्डअन्तर्गत नेपालबाट बीएको परीक्षा दिने ७२ मध्ये उहाँ एकमात्र महिला हुनुहुन्थ्यो । ०१० माघमा उहाँको विवाह नेता पुष्पलाल श्रेष्ठसँग भयो । पुष्पलाल राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । सहाना परिवारकै काममा लाग्नुभयो । राजा महेन्द्रले राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाए । ०१८ पछि उहाँले त्रिचन्द्र, पद्मकन्या कलेज र त्रिभुवन विश्वविद्यालयमा पढाउनुभयो । राजनीति गरेको आरोपमा ०३२ पछि उहाँलाई पढाउन दिइएन । ०३५ मा पुष्पलालको निधन पछि उहाँले पूरै पार्टीको नेतृत्व गर्न थाल्नुभयो । जनआन्दोलन ०४६ मा वाममोर्चा अध्यक्ष हुनुभयो । आन्दोलनपछि अहिलेसम्म पटकपटक मन्त्री हुनुभएको छ । उहाँको आत्मकथाको पुस्तक ‘स्मृतिका आँखीझ्यालबाट’ प्रकाशित छ । यसपटक प्रधान सानो छँदाका केही सम्झना :
मलाई आमाको अनुहार पटक्कै याद छैन । भाइ जन्मेको आठ महिनामा आमा बित्नुभयो । उसबेला घरघरमा धारो थिएन । पानी लिन निकै पर जानुपर्थ्यो । ३५/३६ जनाको परिवारलाई पानी त धेरै चाहिन्थ्यो । एकपटक पानी लिन जाँदा चोरले आमाको गाग्रो खोस्न खोजेछ । थप्पड हानेछ । त्यसबेलै त्यस्तो घटना भएकाले उहाँ खुब डराउनुभयो । निकैपछि सम्म बिरामीजस्तै हुनुभयो । रुचाएर खाना खानुभएन । काम बढ्ता गर्नु त पर्थ्यो नै । उहाँलाई क्षयरोग (टिबी) लाग्यो । त्यस्तो रोगको उपचार गर्न गाह्रो थियो । कसै गरे पनि आमालाई बचाउन सकिएन । आमाको निधनपछि मलाई र भाइलाई खर्पनमा बोकाएर यहाँबाट बर्मा भन्ने देश लगियो । काठमाडौं छाड्न चन्द्रागिरी पार गर्नुपर्थ्यो । कोलकाता पुगियो । रेलको सिठिको आवाज कानमा अझै गुन्जीएजस्तो लाग्छ । त्यहाँबाट पानीजहाजमा बर्माको राजधानी रंगुन जानुपर्थ्यो । सात दिनमा पुगिएको थियो । बर्मा पुगेपछि ठूलो बग्गीमा बसेर यात्रा गरियो । त्यहाँ काका सूर्यलाल र फूपाजु हुनुहुन्थ्यो । एउटा शाक्य परिवार थियो । क्षेत्रीकी छोरी बिहे गरेपछि नेपाल बस्न नसकेर शाक्य त्यहाँ पुगेका थिए । शाक्यकै घरमा हामीलाई रोटी र तरकारी पकाएर खुवाए । अनि हामीलाई उत्तरी बर्माको जानुथियो । त्यहाँ नेपालीको ठूलो बस्ती थियो । त्यहाँका नेपाली दूधको व्यापार गर्थे ।
मेरा हजुरबुबा जुम्ल्याहा राम र लक्ष्मण हुनुहुन्थ्यो । उहाँहरूले एकै घरका दिदीबहिनी बिहे गर्नुभएको थियो । हजुरआमाहरू ठूल्नानी र सान्नानी हुनुहुन्थ्यो । आमाको निधनपछि मेरी हजुरआमा सान्नानीले मलाई हुर्काउनु र बढाउनुभयो । मेरा बुबा फोटोग्राफर हुनुहुन्थ्यो । हजुरबुबा दरबारका ३२ कोटी साहु हुनुहुन्थ्यो । त्यस्ता साहुले राजालाई ऋण दिन्थे ।
बर्मा पुगेको ६ महिनामा स्कुल जान थाल्यौं । देव शमशेरका सन्तान त्यहाँ पुगेका रहेछन् । ‘नेपाली प्राथमिक स्कुल’ खोलेका रहेछन् । हामी त्यहिं पढ्न थाल्यौं । उनी हाम्रो घरमा पनि आउँथे । मास्टरबा भन्थ्यौं । त्यहाँ २ वर्ष पढेपछि ट्यामल मिडल स्कुल गयौं । कक्षा ४ सम्म त्यहाँ पढें । कक्षा ५ देखि ७ सम्म सरकारी हाइस्कुलमा पढ्यौं ।
हामीलाई बर्मा नलगेको भए नेपालमा निरक्षर रहिन्थ्यो । नेपाल फर्केपछि यो ठाउ पो मनपरेन । हामीलाई पढ्न बन्देज थियो । मेरा हजुरबुबा त पहिले नै बित्नुभएको थियो । हामीले किताब लिएको देख्दा हजुरबुबाका दाई ‘कलियुग कलि..’ भन्नुहुन्थ्यो । उहाँलाई जीब्रोको क्यान्सर भयो । १७ दिन पशुपतिमा राखेपछि निधन भयो । अरु रुन्थे । पढ्न नदिने बुढो मर्यो भनेर हामी भकारी पछाडि गएर पेंट मिचिमिचि हास्यौं ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६६ भदौ ७ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)