एस पी आसा सानो छँदा

देवकोटा, अंग्रेजी र सिल्ली

एसपी आसा साहित्यकार हुनुहुन्छ । उहाँको खासनाम श्रीप्रसाद उपाध्याय घिमिरे हो । उहाँका सामाजिक, जासूसी, ऐतिहासिक आदि उपन्यास प्रकाशित छन् । घिमिरेका कूल दुई दर्जन पुस्तक प्रकाशित छन् । उहाँको जन्म २००१ साउन पुत्रदा एकादशीका दिन काठमाडौंको सितापाइलामा भएको हो । उहाँका पिताको नाम विष्णुप्रसाद र माताको नाम प्रेमकुमारी हो । उहाँहरू चार दाजुभाई र चार दिदीबहिनी जन्मनुभएको हो । श्रीप्रसाद जेठो छोरा हो । विभिन्न संस्थामा रहेर काम गर्दै आएका घिमिरेले केही सम्मान पाउनु भएको छ । सधैं लेखनमा व्यस्त रहने उहाँ सानो छदाका केही सम्झना :
त्यो ०११ सालको कुरा हो । म भीमढुंगाको हरिसिद्धीमा पढ्न जान्थे । त्यहाँको त्रिवेणीमा एउटा पाठशाला थियो । मैले पढ्न ढिलो सुरु गरेको हुँ । उसबेला यस्ता बाटो कहाँ थिए ? गोरेटोजस्ता मात्र । हामी पैदल हिड्थ्यौं । हामी सुकुलमा बसेर पढ्थ्यौं । संस्कृतका श्लोक कण्ठ पार्नुपर्थ्यो । भोलिपल्ट सुनाउनुपर्थ्यो । कृष्णप्रसाद ढुंगानाले पढाउनुहुन्थ्यो । सुरुमा मैले अमरकोष पढें । त्यहाँ एक वर्ष बित्यो ।
म १२ वर्षको भएपछि म सीतापाइलाको हरिसिद्धिमा पढ्न जान थालें । त्यहाँ गोविन्दप्रसाद पौडेलको चेलो भएँ । त्यहाँ एक वर्ष पढें ।
अनि १३ वर्ष भएपछि रानीपोखरीको संस्कृत प्रधान पाठशाला गएँ । घरबाटै जान्थे । काठमाडौंकै विद्यार्थीका लागि छात्रावासको व्यवस्था थिएन । बिहान ९ बजे घरबाट हिड्यो भने १०:३० बजे पुगिन्थ्यो । चार बजे बिदा हुन्थ्यो । अलि मज्जाले हिड्यो भने एक घण्टामा घर आउन वा स्कुल पुग्न सकिन्थ्यो । त्यहाँबाट मैले पूर्वमध्यमा सकें ।
सिताराम खनाल मेरा मिल्ने साथी थिए । उनी र म एउटै कक्षाका विद्यार्थी थियौं । उता बालाजुका मदन अर्याल पनि मेरा मिल्ने साथी थिए । तर उनी मभन्दा एक कक्षा माथिका थिए ।
पिताजी पूरोहितको काम गर्नुहुन्थ्यो । डिल्लीबजारका सरदार तारानाथको घरमा पूजा गर्न जानुहुन्थ्यो । कहिलेकाहीं म पनि जान्थे । उसबेला बुबा छाउनीको छालाघरमा खरिदार हुनुहुन्थ्यो । त्यहाँका हाकिम तारानाथ हुनुहुन्थ्यो ।
महाकवि लक्ष्मीप्रसाद देवकोटा डिल्लीबजारमै बस्नुहुन्थ्यो । एकपटक पिताले महाकविलाई, ‘मेरा छोरालाई पनि अंग्रेजी पढाइदिनुपर्‍यो,’ भन्नुभयो । देवकोटाले, ‘अंग्रेजी पढ्यो भने मजस्तै सिल्ली हुन्छ,’ भन्नुभयो । देवकोटासँग भेट भइरहन्थ्यो । म सानो भएकाले महाकवि कस्तालाई भनिन्छ ? उत्तिको बुझेको थिइँन । उहाँले एकपटक मलाई २ पैसाको ढ्याक दिनुभएको थियो ।
म संस्कृत पाठशाला जाँदा बाहिरको केही खान्नथें । घरमा खाएर गएपछि बेलुका घरमै खाने गर्थें । २ पैसा भए, भनेजस्तो जे पनि खान पुग्थ्यो ।
मेरो वाल्यकाल संस्कृत पढेर बित्यो । पिताजीले मलाई नेपाली र अंग्रेजी पढ्न दिनुभएन । सानोमा म लुकिलुकि नेपाली पढ्थें । अंग्रेजी त निकै ठूलो भएपछि पढेको हुँ ।
घरमा सबै छोराछोरी पढ्ने थियौं । एउटा टुकी थियो । टुकी बाल्न मट्टीतेल चाहिन्थ्यो । मट्टीतेल लिन असन जानुपर्थ्यो । पाठशाला जाँदा मैले पनि मट्टीतेल लिएर घर फर्केको छु । पहिले २५ पैसामा एक माना मट्टीतेल आउँथ्यो । पछि एक मोहर पर्न थाल्यो । मैले पाँच पैसा माना नुन पनि किनेर घर ल्याएको छु ।
टुकी बालेर अग्लो ठाउँमा राखिन्थ्यो । त्यसैको उज्यालोमा एकातिर आमा खाना पकाउनुहुन्थ्यो भने अर्कातिर हामी पढ्थ्यौं । राति भएपछि म एक्लै ‘नयाँ कोठा’ मा बस्थे । सबै निदाएपछि म टुकी बालेर नेपाली भाषाका किताब पढ्थे ।
०१८ सालमा मैले पूर्वमध्यमा सकें । त्यसपछि पिताजीलाई अंग्रेजी त पढ्नुपर्छ भन्ने कुरा खुसी पारेर अंग्रेजी सिके । सानोमा उत्तिको ठूलो बदमासी गरिएन । अझ भनौं न घरबाहिर बदमासी गरिएन । कहिलेकाही पिताजीको खल्तीबाट पैसा चोरिन्थ्यो । पिताले पूरेत्याईं गरेर ल्याएको पैसा पाउँदा चोर्ने हो । चोरेको पैसाले सलाई किन्थे र राति पढ्थे । लुकेर चुरोट खान्थें । त्यसबेला ‘फूलमार’ र ‘मटरमार’ दुई खालका चुरोट थिए । त्यो पनि भीमढुंगा पढ्न जाँदा अरुको लहैलहैमा लागेर चुरोट सिके । २ पैसाको एक बट्टा चुरोट आउँथ्यो । चुरोट सकिएपछि बट्टाको कित्ता बनाएर खेलिन्थ्यो ।
सानोमा खोपी खेलिन्थ्यो । त्यो पिताजीलाई मन पर्दैनथ्यो । पिट्नुहुन्थ्यो । नलीले पिट्नुहुन्थ्यो । गाला चड्काउनुहुन्थ्यो ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६६ साउन ३२ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<