नृत्यपछि अक्षर
शुभद्रा अधिकारी चर्चित सिनेकलाकार हुनुहुन्छ । उहाँको जन्म २००४ भदौ २० गते काठमाडौंको असनमा भएको हो । उहाँका पिताको नाम बलराम र माताको नाम नुरादेवी हो । नुरादेवी कार्की गायिका हुनुहुन्थ्यो । गायिका तारादेवी, शुभद्राकी मामाकी छोरी हो । शुभद्राले सयौं चलचित्र र टेलिचलचित्रमा काम गर्नुभएको छ । उहाँले काम गरेका नाटक, गीतिनाटक र भिडियोफिल्म पनि असंख्य छन् । उहाँले ‘मनको बाँध’ चलचित्रबाट ठूलो पर्दामा अभिनय सुरु गर्नुभएको हो । ‘चिनो’, ‘कन्यादान’, ‘भाउजु’ चलचित्रले निकै चर्चित बनायो । चलचित्र छायांकनका लागि उहाँले मुलुकका विभिन्न स्थान पुग्ने मौका पाउनुभएको छ । कलाकार भएरै अमेरिका, भारत, इरान, रुस, बर्मा, चीन, उत्तर कोरिया, हङकङ, जापान, थाइल्यान्ड, बंगलादेश, पाकिस्तानजस्ता देश पुग्नुभएको छ । सयौं पुरस्कार र सम्मान पाउनुभएको छ । यसपटक उहाँ सानो छँदाका केही सम्झना :
म जन्मँदा आमाले निकै गाह्रो भएछ । उहाँ बेहोस हुनुभएछ । म चाहिं निकै कष्ट साथ जन्मेछु । तर म इन्तु न चिन्तु रहेछ । सबैले भन्नुभएछ, ‘ल यो मरेकै जन्मिछ ।’ अनि मलाई टालोमा पोको पारेर बाहिर राखिएछ । उता आमाको होस नखुलेपछि बुबाले डा. हल्डरलाई बोलाउनुभएछ ।
डा. हल्डर राजदरबारमा उपचार गर्नुहुन्थ्यो । बुबा चाहिं असनको आफ्नो पसलबाट दरबारमा फलफूल लानुहुन्थ्यो । बुबाले डाक्टर त्यहिँ चिन्नुभएको रहेछ ।
डा. हल्डर आएपछि बच्चा जन्मेको खोइ त ? भन्ने भएछ । उहाँले यसो जाँच गर्दा त म बाँच्नेजस्तो देख्नुभएछ । पानी तताउन लगाएर शरीरमा रगत चल्न बारम्बार सुम्सुम्याएपछि मैले आवाज निकालें रे । मैले आवाज निकाल्दासम्म आमा बेहोस नै हुनुहुँदोरहेछ । मलाई रुवा भिजाएर ग्लुकोज खुवाइयो ।
म पाँच वर्ष नपुग्दै बुबाको निधन भयो । त्यसपछिका ३/४ वर्षपछि आमा र म मामाघरमा बस्न थाल्यौं । मामाघर इन्द्रचोक र घर असन । टाढा त थिएन ।
मैले अक्षरभन्दा पहिले खुट्टाको चाल जाने । आमालाई ठुमरी, राग सिकाउन आउने बद्री उस्तादले ‘यो छोरी चञ्चल छ । नृत्य गराउन पाए हुन्थ्यो’, भन्नुभएछ । म आउँदाजाँदा हात र आँखाले इशारा गर्नुहुन्थ्यो । नृत्य सिक्न थालें । आमाको प्रेरणा र उस्तादलाई गुरु बनाएँ । ४/५ महिनामा ‘नागिन’ नृत्य जानें ।
म सात वर्षकी हुँदा आमासँग तीर्थ गर्न भारत जाँदा केहि दिन बिर्लापुरमा बस्यौं । आमा हार्मोनियम बजाउने र म नाच्ने कुरा एक कान, दुई कान गर्दै हल्ला भएछ । त्यहाँको एक स्कुलमा श्रीपञ्चमीको कार्यक्रम हुन लागेको रहेछ । स्कुलका नृत्यका शिक्षक आएर आग्रह गरे । मैले नातिकाजीको ‘पहाडमा बसी वनमा खेली…’ र ‘राधा ना बोले ना बोले रे….’ गीतमा नृत्य गरे । मलाई सम्मान गरियो । १५० भारतीय रुपैयाँ पनि दिइयो ।
पढाई कहिल्यै नियमित हुन पाएन । इन्द्रचोक, तरनचोकमा मानन्धर सरले क ख सिकाउनुहुन्थ्यो । सुकुलमा बसेर पढ्थ्यौं । त्यसपछि म लैनचौरको कन्या स्कुलमा कक्षा १ मा गएर भर्ना भएँ । पढ्छु पढ्छु जाँच दिने बेलामा कार्यक्रममा जानु पर्थ्यो । कहिल्यै कक्षा बढ्न पाएन । घरमा प्राइभेट पढें । दरबार हाइस्कुलमा गएँ । कक्षा ७ मा पढ्न मिल्ने भयो । पढ्न पनि थालें । तर परीक्षा आउने बेलामा विजय मल्लले राजा महेन्द्रको कविता ‘उसैको लागि’ लाई ‘आले-आनी’ नामको नाटक बनाउनु भएछ । मलाई अभिनय गर्न बोलाउनुभयो । फेरि परीक्षा त चौपट भयो । फेरि कक्षा ९ मा भर्ना भएँ । केशवलाल प्रधानसँग प्राइभेट पढें । ९ पास भएँ ।
कक्षा १० मा महिनाको १६/१७ शुल्क तिर्नुपर्थ्यो । फेरि विजय मल्लले ‘कोही किन बर्बाद होस्’ नाटक ल्याउनुभयो । पढाई बर्बाद् भयो ।
मामाघरमा बसेर आमालाई थोरै सहयोग गर्ने भएकाले म नृत्य, नाटक वा अन्य अभिनयका लागि जान्थे । मैले कमाएका पैसाले नै हजुरआमालाई फलफूल ख्वाउँथे ।
रञ्जना हलछेउ किरण खरेल बस्नुहुन्थ्यो । उहाँ र अरु साथी मिलेर ‘महेन्द्रकला किरण’ संस्था खोल्नुभएछ । मेराबारे सुन्नुभएको रहेछ । एकदिन बाहिर साथीसँग गट्टा खेलिरहेकी थिएँ । बटुकृष्ण ज्वालाका साथ आएर सोध्नुभयो, ‘शुभद्राको घर कुन हो ?’ म खितिती हाँस्न थाले र भने, ‘मै हुँ शुभद्रा ।’ आमासँग भेटेर मलाई कार्यक्रममा लानुभयो ।
घरका मानिस सिनेमा हेर्न जाने सुँइको पाएपछि तयार हुन्थें । हात समातेर जान्थे । भारतीय नृत्यंगना ‘कुक्कू’ जस्तो नृत्य सिक्थे र ऐना हेरेर गर्थे ।
सेनाको कला विभागमा तीन वर्ष जागिर खाएँ । प्रज्ञा प्रतिष्ठान बनेपछि त्यता सरेर काम गरें ।
सानैमा बिहा भयो । अभिनय गरिरहें । पढाइ भने अघिबढेन ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६६ साउन ४ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)