तिलकमान श्रेष्ठ सानो छँदा

रिडि घर, पाल्पा मामाघर

 

Tilak-Man-Shrestha_Chemistry-Sir

तिलकमान श्रेष्ठसँग कलेज र विश्वविद्यालय तहमा रसायनशास्त्र (केमेष्ट्रि) पढाएको लामो अनुभव छ । उहाँको जन्म वि.सं. २००० साल असार, रिडीमा भएको हो । उहाँका पिताको नाम ऋतुमान र माताको नाम बेतीलक्ष्मी हो । तिलकमान पाँच भाइ र ३ दिदीबहिनी जन्मनुभएको हो । उहाँ माहिलो छोरा हो । उहाँले त्रिभुवन विश्वविद्यालयबाट रसायनशास्त्रमा एमएस्सी गरेपछि जर्मनी गएर पढ्नु भयो । जर्मनीबाट फर्केपछि २०३१ सालमा धरानको हात्तीसार क्याम्पस पुग्नुभयो । उहाँ ८/९ वर्ष सहायक क्याम्पस-प्रमुख र ४ वर्ष क्याम्पस-प्रमुख हुनुभयो । अरू आठ वर्ष जति रसायनशास्त्रको अध्यापन गराएर २४ वर्ष धरानमा बिताउनुभयो । २०५६ मा त्रिवि, रसायनशास्त्र विभाग, कीर्तिपुरमा आउनुभयो र ०६३ सालसम्म पढाउनुभयो । धरानमा उहाँले खाद्यप्रविधिको स्नातक तह (बिटेक, बिएबराबर) मा माइक्रोबायोलोजी विषय पढाउन बन्दोबस्त गर्नुभयो । हात्तीसारमा एमटेक (खाद्यप्रविधिमा एमएस्सी) को पाठ्यक्रम तयार पार्न अगुवाई गर्नुभयो । उहाँले जर्मनी, फ्रान्स, दक्षिण कोरिया, स्विट्जरल्यान्ड, ग्रीस, युगोस्लाभिया (अहिले यो देश टुक्रिएर धेरैवटा भएका छन्) आदि भ्रमण गर्नुभएको छ । गत वर्ष मुटुको समस्या देखापर्‍यो । शहिद शुक्रलाल अस्पतालका मुटुरोगका चिकित्सक डा. भगवान कोइरालाका कारण दोस्रो जीवन पाएको बताउने श्रेष्ठ सानो छँदाका केही सम्झना :

बुबा व्यापार गर्नुहुन्थ्यो । मामाघरमा धेरै पढ्नेहरू भएकाले आमाले हामीलाई पढाउनुपर्छ भन्नेमा जोड दिनुभयो । मलाई पं. शालिग्राम ज्ञवालीले अक्षर चिनाउनुभयो । बिहान नुहाएर पढ्न जानुपर्थ्यो । उहाँले संस्कृत पढाउनुभयो । उहाँका घरमा गएर पढिन्थ्यो । हामी दुई जना थियौं । कहिले त म एक्लै हुन्थें । २००९/१० सालतिर प्राथमिक विद्यालय खुल्यो । रिडी मिडील स्कुलमा हामीलाई प्रयागलाल श्रेष्ठले पढाउनुभयो । त्यहाँ मेरो मिल्ने साथी महेन्द्र श्रेष्ठ थिए ।
कक्षा ६ भन्दा माथिल्लो कक्षा पढ्न म पाल्पा गएँ । पाल्पा, तानसेन मेरो मामाघर हो । पाल्पामा पद्मोदय पाल्पा पब्लिक हाइस्कुलमा पढें ।
म मामा दशरथमानसिंहको चेलो पनि त भएँ । उहाँको औषधी पसल थियो । उहाँ औषधीको नाम लेख्नुहुन्थ्यो । म विभिन्न औषधी मिसाएर ‘मिक्स्चर’ बनाउँथे ।
मामाघर चार वर्ष बसेर २०१५ सालमा एसएलसी दिएँ । परीक्षाकेन्द्र पनि हाम्रै विद्यालयमा परेको थियो । एसएलसी परीक्षा दिन त्यसको दुई वर्षअघिसम्म त काठमाडौं जानुपर्थ्यो । हामी ३० जना जति थियौं । सबैजसो पास भएका थियौं । म चाहिं सेकेन्ड डिभिजनमा पास भएँ ।
हामीलाई नारायणप्रसाद श्रेष्ठ, चुडाबहादुर हमाल, माधवप्रसाद देवकोटाले पढाउनुभएको थियो । माधव सर नेपाली पढाउनु हुन्थ्यो । उहाँले खुब राम्ररी पढाउने भएकाले मलाई नेपाली विषय धेरै मनपर्थ्यो ।
म शान्त स्वभावको थिएँ । कालीगण्डकीमा पौडी खेल्ने र माछा मार्ने गर्थें । एकपटक साना टिन बाँधेर सिधै कालीगण्डकीमा हाम्फाल्दा एकजना पौडीबाजले बचाए ।
रिडी बगरमा फुटबल खुब खेलिन्थ्यो । रिडीको टिम लगेर तानसेनमा खेलाएको पनि थिएँ । नारायण सरको नेतृत्वमा साहित्यिक कार्यक्रममा अग्रसर भएर लाग्थें ।
रिडीमा माघेसंक्रान्ति र ठूलो एकादशीमा ऋषिकेश जात्रा खुब रमाइलो हुन्थ्यो । बेलविवाह गर्दा नेवारका पूरोहित काठमाडौंबाट लाने चलन थियो । दसैंमा टिका लगाए पनि दक्षिणा दिने चलन थिएन । भाइटिका र म्हःपूजा मनाउने चलन थियो ।
मामाघर र आफ्नो घर पुग्ने एक बिहान लाग्थ्यो । यी दुई घरले नै मलाई असल मान्छे बनायो ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६६ असार २८ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<