तीन रंगका पर्चा तीन ठाउँमा
भाइ दाइ (सानुलाल श्रेष्ठ) काठमाडौंका पुराना नेता हुनुहुन्छ । उहाँ २०११ सालमै कम्युनिष्ट पार्टीको जिल्ला सदस्यसम्म हुनुभएको थियो । त्यहिबेलादेखि राजनीतिबाट अलग रहनुभयो । भाइ दाइ अहिले भजनकिर्तन र समाजसेवामा दिन बिताउनुहुन्छ । उहाँको जन्म १९८६ भदौ कृष्ण पक्ष एकादशीका दिन काठमाडौं जिल्लाको अट्कुनारायण थानमा भएको हो । सानुलालका पिताको नाम हरिलाल र माताको जगतमाया हो । उहाँका चार दाजुभाइ र पाँच दिदीबहिनी जन्मनुभयो । उहाँ साहिलो हो । कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठलाई काठमाडौंमा यताबाट उता पुर्याउने, सुरक्षा दिने, बस्ने ठाउँ मिलाउने गर्नुहुन्थ्यो । पुष्पलाललाई उहाँले सहिद गंगालालको भाइ भनेर चिन्नुभयो र पछि आफ्नै नेता मान्नुभयो । पुष्पलालले विभिन्न पुस्तक दिनुभयो र अनुवाद गर्न लगाउनुभयो । उहाँलाई नेपाली भाषा आउँदैनथ्यो । राजनीतिमा लाग्ने र नेपाली भाषा सिक्ने मौका पनि पुष्पलालकै प्रेरणाबाट मिल्यो । उहाँले राणाविरोधी आन्दोलनमा काम गरेका धेरै मानिसले अझै पनि आदर गर्छन् । यसपटक भाइ दाइ सानो छँदाका केही सम्झना :
सात सालमा राणा-कांग्रेस दिल्ली सम्झौता भयो । सम्झौताको विरोधमा काठमाडौंका तीन ठाउँ : महाँकाल स्थान, भद्रकाली र बिजुली अड्डामा तीन रंगमा पर्चा छरियो । महाँकालमा पर्चा मैले छरें । त्यो पर्चा कम्युनिष्ट पार्टीको खुलापत्र थियो र त्यसमा दिल्ली सम्झौताको विरोध थियो । ती पर्चा हातले लेखेर स्टेनोग्राफ गरिएका थिए । हामी कम्युनिष्ट भए पनि प्रजा परिषद्अन्तर्गत राणाविरोधी काम गर्थ्यौं ।
पुष्पलालसँग मेरो भेट २००६ सालमा भयो । नारायणदास जोशीले काठमाडौं गणेशस्थानमा भेट गराउनुभएको हो । साहना प्रधानका दाजू गौरीभक्तले परिचय गराउनुभयो ।
राणाविरोधी अभियानमा अनौठा काम हुन्थे । माघ महिनाभर सबै मानिस बिहानै खोलामा नुहाउन जान्थे । सबैलाई उठाउन शंख फुकिन्थ्यो र भनिन्थ्यो :
हे जक मस्त दँ दँ
मिखाँ निगलँ कँ कँ
ल्हा निप्पा चु चु
तुती निप्पा चु चु
यसको अर्थ यस्तो हो :
हे केटाकेटी हो उठ उठ
दुवै आँखा खोल
दुवै हातले टेक
दुवै खुट्टाले टेक
यसमा बालबालिकालाई उठाएजस्तो भए पनि राणाविरोधमा लागौं भन्ने सन्देश थियो । धार्मिक परम्परालाई राजनीतिमा मिसाएर विरोध गरिन्थ्यो ।
कुनै बिराम पर्दा कतारोमा कट हालेर चोखो ठाउँमा फ्याँक्ने चलन थियो । हामी भने कतारोको सबैभन्दा तल पर्चा हालेर अर्को ठाउँमा पुर्याउँथ्यौं । घरको बाहिर ‘हरे राम हरे कृष्ण’ भइरहेको हुन्थ्यो । भित्र कांग्रेसको बैठक चल्थ्यो ।
मलाई राजनीतिमा लाग्ने चासो थोरै पढेकाले भएको हो । मैले घरमा थोरै पढें । भूगोलपार्कछेउ हाकु पाठशाला थियो । त्यहाँ गएर पढियो । वसन्तपुरमा साखः गुर्जुले पढाउनुभयो । उहाँ पूरोहित भएकाले पढाउन पाएको हो । अरुले भए पढाउन पाइन्नथ्यो । उहाँले वर्णमालापछि अमरकोश, बुद्धि चाणक्य पढाउनुभयो । हाकु पाठशालामा ६ महिना र गुर्जुसँग २ वर्ष पढियो । पछि मरुहिटीका जु दाइसँग पढियो । जु दाइसँग दुई वर्ष पढियो । मरुहिटी, ढुंगेधाराका सत्यलाल श्रेष्ठसँग ३ वर्ष पढियो । उहाँले पसलमा बस्दा काम लाग्ने कुरा पढाउनुभयो । मेरो बुबाको कपडाको पसल थियो । पसलमा सघाउँदा मलाई पढ्ने फूर्सद नै हुँदैनथ्यो । कुनै गुरुले पैसा लिनुभएन ।
बुबा राजाको पक्षमा हुनुहुन्थ्यो भने म कम्युनिष्ट थिएँ । २०११ सालमा बुबा बितेपछि पार्टीले मलाई घर व्यवहार हेर्न बिदा नै दियो ।
म सानोमा शान्त स्वभावको थिएँ । हामी ‘पान-दस’ (डण्डीबीयोजस्तै) खेल्थ्यौं । नाङ्लोको बिट गुडाएर यताउता जान्थ्यौं । च्याम्पटी खेल्थ्यौं ।
मलाई सानोमा चटामरी, जंगी सेल, मनवौ (हलुवा) र दूध खान मनपर्थ्यो । त्यसबेला पशुपति, गौशालाबाट दूध आउँथ्यो ।
मामाको बिहेमा नरदेवी जाँदा म हराएँ । त्यसबेला म ११ वर्षको थिएँ । सानोमा मलाई खर्पनमा राखेर दक्षिणकाली लगियो । पछि राजनीतिक कार्यक्रमका लागि साइकल चढेर भक्तपुरसम्म पुग्थें ।
राजनीति र पछि बुबाको व्यवहार हेर्दै बाल्यकाल बित्यो ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६६ असार २१ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)