चरी भरर साहिली

बुबा भारतीय सेनामा जागिर खानु जानुभएको थियो । दोस्रो विश्वयुद्धमा बेलायती सेनाका लागि बर्मामा जापानविरुद्ध लड्का उहाँ घाइते हुनुभयो । तीन ठाउँमा गोली लाग्यो । एकपटक घाइते भएपछि उहाँको जागिर सकियो । अनि घर फर्कनुभयो । त्यसबेला राणाशासनविरुद्ध विद्रोह सुरु भएको थियो । उहाँ रक्षादलको सुरुवाती संगठनमा प्रशिक्षक हुनुभयो । क्रान्ति सफल उहाँ मन्त्रीको सुरक्षागार्ड हुनुभयो । त्यसपछि बुबा प्रहरीमा जानुभयो । उहाँ एकैपटक डिएसपी हुनुभयो । कायममुकायम एसपी बनाएर धनगढी पठाइयो ।
बुबा क्रान्तिमा रहँदा मेरो बाल्यकाल रुम्जाटारमा बित्यो । मैले रुम्जाटारमै क ख सिके । धनगढी गएपछि २०१८ सालमा म त्रिनगर माविमा पढ्न थालें । त्यहाँ कक्षा ४ सम्म पढें । बुबाको त्यहाँ जागिर सकियो । मलाई मामा नवराज गुरुङले रुम्जाटार फर्काउनुभयो । रुम्जाटार माविमा कक्षा ५ देखि ७ सम्म पढें । कक्षा ७ को अन्तिम परीक्षा दिएपछि फेरि धनगढी आइयो । फेरि त्रिनगरमै कक्षा १० सम्म पढें । एसएलसी दिन हामीले नेपालगञ्ज जानुपर्यो । करिब १० जना परीक्षामा सामेल भएकोमा दुई जना पास भयो । टेकबहादुर बम र म । कक्षा १० मा पुग्दा दुई जना छात्रा थिए ।
हाम्रो घरमा हिन्दू संस्कार चल्थ्यो । पूजापाठ हुन्थ्यो । बुबा बारम्बार श्लोक भन्नुहुन्थ्यो । किनभने उहाँले पूरोहितसँग पढ्नुभएको थियो । हजुरबुबाले पूरोहितसँग उहाँहरूको पढ्ने व्यवस्था गरिदिनुभएको थियो ।
धनगढीमा थारु समुदायको ठूला वस्तीहरू छन् । सानोमा हामी देवीदेउता पूजा गर्थ्यौं भने थारु समुदायका मानिस हात्ती, घोडा, भूतजस्ता आकार बनाएर पूजा गर्थे ।
म सानोमा पढ्न र थोरै खेल्नमा ध्यान दिन्थे । रुम्जाटारमा ‘दो’ (लात्ती हान्ने) खेलिन्थ्यो । धनगढीमा बढी भलिबल खेलें ।
कक्षामा सेकेन्ड वा थर्ड हुन्थे । टेकबहादुर सधैं फर्स्ट हुन्थे । टेकबहादुर हामीभन्दा जेठा पनि थिए । गोपालप्रसाद श्रेष्ठसँग सधैं मेरो टक्कर पर्थ्यो । मलाई गणित, विज्ञान र अंग्रेजी मनपर्थ्यो । तीनै विषयमा राम्रो अंक आएकाले एसएलसीमा थर्ड डिभिजन आए पनि आइएस्सी पढ्न पाएँ ।
धनगढी स्कूलमा म कविता लेख्थें । सरस्वती पूजामा लोकलयमा आधारित गीत मैले सुनाएको थिएँ, त्यो यस्तो छ :
सरस्वतीको पूजा गर्नुपर्छ सबले
अनि विद्या आउँछ खुसी मनले
धेरैपछि म स्कुल पुग्दा सरस्वती पूजा नै परेको थियो । विद्यार्थी त्यहि गाइरहेका थिए । मलाई असाध्य सुखी लाग्यो ।
एकपटक राजा महेन्द्र धनगढी आउनुभएको थियो । म कक्षा चारमा पढ्थे । राजालाई सेना र प्रहरीले पालोपालो सांस्कृतिक कार्यक्रम देखाउँथे । प्रहरीको पालोमा म ‘चरी भरर साहिली…’ गीतमा नाचे । मलाई त राजाले बोलाउनु भयो । म त बुबाको जस्तै प्रहरीझैं गएँ । तनक्क तन्केर सलाम गरें । राजाले सोध्नुभयो, ‘तिम्रो नाम के हो ?’ मैले महेन्द्र भनें । नजिकै उभिएका आइजीलाई हेरेर उहाँले ‘मेरोजस्तै रहेछ’ भन्नुभयो । राजाले, ‘मलाई चिन्छौं ?’ भनेर सोध्दा म अक्क न बक्क परें । अनुहार हेरें राजा जस्तो छ । घरको फोटो सम्झें- होजस्तो लाग्यो । तर राजाजस्तो ठूलो मान्छे मेरा सामुन्ने कसरी हुनसक्छ भन्ने भयो । म बोल्न सकिन । राजाले, ‘कतिमा पढ्छौ ?’ भन्दा मैले, ‘कक्षा ४ मा’ भनें । राजाले ‘थोरै भयो’ भन्नुभयो ।
म नृत्यबाहेक नाटकमा खेल्थे । विजय मल्लको ‘कोही किन बर्बाद् होस्’ मा म नायक ध्रुव बनेको थिएँ । कविता लेखेर एकपटक २१ वटा कपि पाउँदा धेरै खुसी भएँ ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६६ असार १४ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)