जीतबहादुर केसी सानो छँदा

टाउकोमा ट्वाक्क

जीतबहादुर केसी नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रथमपटक पदक दिलाउने खेलाडी हुनुहुन्छ । उहाँको जन्म २००५ भदौ ४ दोलखाको चरीकोट, पोगटी गाविस ५ मा भएको हो । उहाँ गरीब किसान परिवारमा जन्मनुभएको हो । उहाँका पिता बिर्खबहादुर र माताको नाम वन्दना हो । उहाँका एक दाजु र दुई दिदी जन्मनुभयो । जीतबहादुर १६ वर्षकै उमेरमा ०२१ मा सैनिक हुनुभयो । १३ वर्ष जागिर खाएर छाड्नुभयो । पहिलोपटक २०२८ सालमा वीरगंजमा आयोजित प्रथम राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा भाग लिई स्वर्णपदक पाउनु भयो । यससहित १६ वटा राष्ट्रिय स्तरका प्रतियोगिताका स्वर्णपदक पाउनुभयो । केसीले सन् १९७२ को २० औं म्यूनिख ओलम्पिकका लागि जर्मनमा भएको छनौट प्रशिक्षणमा एशियाली मुलुकको २ घण्टा २३ मिनेटका रेकर्ड बनाउनु भयो । तर पदक पाउनुभएन । सन् १९७३ मा फिलिपिन्सको राजधानी मनिलामा आयोजित ट्रयाक एन्ड फिल्ड प्रतियोगितामा सहभागी हुनुभयो । म्याराथुन दौड २ घण्टा २६ मिनेटमा पूरा गरेर काँस्य पदक पाउनुभयो । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले पाएको यही नै पहिलो पदक हो । सन् १९८० मा बैंककमा भएको ८ औं एसियाली खेलकूदमा १२ औं भएपछि खेलबाट सन्यास लिनुभयो । ०२४ देखि खेलकूदमा लागेका केसी ०४९ सालमा कर्मचारी कटौतीमा पर्नुभयो । खेलकुद परिषद्को जागिर गयो । तर उहाँलाई परिषद्ले नै प्रशिक्षकका रुपमा काम दिइरहेको छ । प्रत्येक बिहान राजधानीको दशरथ रंगशालामा उहाँ सयौं धावकलाई सिकाइरहनु भएको भेटिनुहुन्छ । उहाँ खेल्नकै लागि फिलिपिन्स, थाइल्यान्ड, जर्मनी, इरान, दक्षिण कोरिया आदि देश पुग्नुभएको छ । केसीले ३ वटा एसियाली खेलकुद, एउटा ओलम्पिक र दुईटा एसियन ट्रयाक एन्ड फिल्डमा खेल्नुभयो । यसपटक धावक केसी सानो छँदाका केही सम्झना :
म सानो छँदा गाउँमा स्कुल थिएन । एकजना अलि पढेका तिलबहादुर बुढा हुनुहुन्थ्यो । प्रत्येक दिन साँझ खाना खाएपछि हामी ८/९ जना बालक उहाँकै घर जान्थ्यौं । अक्षर लेख्न फल्याकमा अँगारको धुलो दलेर पाटी बनाइन्थ्यो । त्यसमा खरिले लेख्थ्यौं । बुढाले हामीलाई तमसुक लेख्न सिकाउनुभएको थियो । तमसुक भने नेपाली कागजले लेख्यौं ।
आइमाइले पढ्नुहुँदैन भन्थे । त्यसैले दिदीहरुले त के गाउँमा छोरीमान्छे कसैले पढ्दैनथे ।
पढाउने भएपनि उहाँको स्वभाव कडा थियो । उहाँ हुक्का तान्नुहुन्थ्यो । हामीले हुक्का माझिदिनुपर्थ्यो । तमाखु भरिदिनुपर्थ्यो । आगो बालेर हुक्का सल्काइदिनुपर्थ्यो । आफू उपरखुट्टी लगाई ट्वार्र ट्वार्र हुक्का तानेर बस्नुहुन्थ्यो । हामी थाकेका हुन्थ्यौं । यसो झकायो वा निदायो भने पाइपले टाउकोमा ट्वाक्क हिर्काउनुहुन्थ्यो । राति हामी उहाँकै घरमा सुत्थ्यौं ।
बिहान घर गएपछि बाख्रालाई घाँस काट्न जाइन्थ्यो । दिउँसो गाईवस्तु चराउन गइन्थ्यो । हाम्रा घरमा धेरै पशु पालिएका थिए । लेक र बेसी दुवै तिर बसीन्थ्यो ।
गाईवस्तु हेर्न जाँदा डण्डीबियो, कपर्दी खेलिन्थ्यो । खाली ठाउँमा लगेर गाईवस्तु छाडेपछि आफू फुक्का हुन पाइन्थ्यो । मज्जा थियो । हामीसँग ठूल्ठूला मान्छे पनि गोठाला जान्थे । आईमाई मान्छे पनि हुन्थे । हामी फुच्चेहरुलाई काँक्रा चोर्न पठाउँथे ।
एकपटकको कुरा हो । म थाक्रोमा चढें । तल त घरधनीको कुकुर आयो । भुक्न थाल्यो । मैले धपाउन खोजें । त्यो गएन । एउटा पाकेको बडेमानको काँक्रो थियो । टिपेर हानेको त कराउँदै खोल्सातिर भाग्यो । कुकुर कराएपछि गाउँमा कुकुरलाई चितुवाले लग्यो भन्ने हुन्थ्यो । घरधनी र परिवारका सबै कुकुर भएतिर दौडे । म चाहिं थाक्रोबाट उत्रेर भागें ।
सानोमा दसैं खुब रमाइलो हुन्थ्यो । खाँडीको कपडाबाट दौरा-सुरुवाल सिलाइदिनुहुन्थ्यो । दसैंपछि तिहार रमाइलो हुन्थ्यो । जुवा खेल्ने चलन थियो । आफू बालक गएर हेर्थ्यौं । पिङ पनि खेल्थ्यौं । देउसी खेल्यौं । रातरात भर खेलेर एकपटक एकजनाको पाँच रुपैयाँसम्म भएको थियो । त्यति पैसा त प्रशस्त हो । एक मोहर (पचास पैसा) मा एक पाथी मकै आउँथ्यो । हजार रुपैयाँ भएको मानिस धनी मानिन्थ्यो । त्यस्तालाई ‘हजारिया’ भन्थें ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६६ असार ७ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<