भरत प्याकुरेल सानो छँदा

छिन्नमस्तामा मस्त

भरत नेपाली प्याकुरेलले विभिन्न कक्षाका लागि नेपाली किताब लेख्नुभएको छ । केही किताबको सम्पादन गर्नुभएको छ । उहाँको जन्म २०१० मंसीर धान्य पूर्णिमाका दिन सप्तरी जिल्लाको छिन्नमस्ता सखडामा भएको हो । बुबा जानकीप्रसाद र आमा शकुन्तला देवीका उहाँ जेठो छोरा हुनुहुन्छ । उहाँका एक भाइ र दुई दिदीबहिनी जन्मनुभयो । उहाँले पाठ्यक्रम केन्द्र, सानोठिमीबाट प्रकाशित ‘मेरो नेपाली किताब’ कक्षा ४, ‘हाम्रो नेपाली किताब’ कक्षा ७ लेख्नुभएको छ । त्यस्तै साझा प्रकाशनद्वारा प्रकाशित साझा नेपाली ‘क’ देखि कक्षा ६ सम्म, त्यस्तै रत्नपुस्तकबाट प्रकाशित नेपाली भाषा पाठमाला ‘क’ देखि कक्षा ५ सम्म एवम् चमेली, प्रकाशजस्ता साक्षरता पुस्तक लेख्नुभएको छ । उहाँबाट शिक्षक निर्देशिका विभिन्न पाठ्यपुस्तकको विषयवस्तु तथा भाषा सम्पादन भएका छन् । पाठ्यपुस्तक लेखक प्याकुरेलसँग शिक्षा मन्त्रालयअन्तर्गत विद्यालय निरीक्षक, भाषा विशेषज्ञ, उपनिर्देशक, वरिष्ठ विज्ञ तथा जिल्ला शिक्षा अधिकारीको अनुभव छ । उहाँले मलेसिया, जापान, थाइल्यान्ड, भारत, बेलायत, पाकिस्तान, डेनमार्कको भ्रमण गर्नुभएको छ । उहाँ शिक्षा मन्त्रालय, केशरमहलमा उपसचिव हुनुहुन्छ । यसपटक भरत सानो छँदाका केही सम्झना :
मेरो बाल्यकाल सखडा गाउँमा बित्यो । प्रसिद्ध छिन्नमस्ता मन्दिरको पूर्वपट्टी छिन्नमस्ता मिडिल स्कुल थियो । अहिले त्यो स्कुल माध्यमिक भइसकेको छ । त्यही स्कुलबाट मेरो शिक्षा सुरु भयो । शिक्षा दिने पहिलो गुरु मेरी आमा हो । आमाले पहिलो पुस्तक ‘मनोहर पोथी’ दिनुभयो, जुन हिन्दीमा थियो । मैले त्यही पुस्तकबाट क, ख सिके । मेरो पढ्ने समय बिहान-बेलुका थियो । आमा भान्सामा बस्नुहुन्थ्यो । म चाहिँ भान्साको अलिपर पिर्कामा सिलोट र खरी लिएर बस्थें । आमा चुलो नजिकबाटै बसेर अह्राउनु हुन्थ्यो । म उहाँले भनेजस्तै सिलोटमा लेख्थें र देखाउँथे । आमाले घाम हेरेर समयको अन्दाज गर्नुहुन्थ्यो । नभन्दै १०/१५ मिनेट ढिलो चाँडो भए पनि घडी हेरेजस्तै ठिक्क समय मिल्थ्यो ।
विद्यालय जानेबेलामा बाटोबाट साथीहरूले बोलाउँथे । एक अर्कालाई पर्खिंदै स्कुल पुग्थ्यौं । सरस्वतीको प्रार्थना गर्थ्यौं । अनि कक्षामा जान्थ्यौं । एक बजेतिर करिब ४० मिनेटको टिफिन हुन्थ्यो । नजिकै भएकाले कुदेर घर पुग्थें । खाजा खाएर फर्कन्थ्यौं । ४ बजे छुट्टी भएपछि किताब कापी घरमा थन्काएर छिन्नमस्ता मन्दिरसँगैका चौरमा भकुन्डो खेल्थ्यौं । साँझ पर्न थालेपछि घर फर्किन्थ्यौं । बेलुकी पढ्नका लागि लालटिनको सिसा सफा गर्ने, मट्टितेल हाल्ने अनि किताब कापी लिएर पढन सुरु गर्थ्यौं । त्यतिबेला बिजुली थिएन । लालटिनको उज्यालोमा पढ्ने काममात्र हुन्थ्यो । पढ्दा स्वर निकालेर पढ्नुपर्थ्यो । बुबा, हजुरबाले मैले पढेको अशुव्द उच्चारण सच्चाई दिनुहुन्थ्यो । पढ्न सकेपछि खाना खाइवरि म चाहिँ हजुबुबालाई पर्खिन्थे । सुत्नुअघि उहाँसँग रामायण, महाभारतका कथा सुन्न जान्थें । उहाँले पनि बढो रमाइलोसँग कथा सुनाउनुहुन्थ्यो ।
मलाई पढाउने गुरुहरू धेरैजसो मेरा बुबाका साथीहरू हुनुहुन्थ्यो । तर हेड सर नागेश्वर मल्लिक हुनुहुन्थ्यो । सबैभन्दा कडा अनि सबैलाई उत्तिकै माया गर्ने । विद्यालयमा सबैभन्दा बढी गाह्रो विषय गणित लाग्थ्यो । मलाई नेपाली अंग्रेजी पढ्न रहर लाग्थ्यो । यी विषयमा सबै बढी अङ्क ल्याउँथें ।
सबैभन्दा रमाइलो दसैंताका हुन्थ्यो । विद्यालय छुट्टी हुन्थ्यो । नौरथादेखि नै मन्दिर वरिपरि मिठाइका पसल राखिन्थ्यो । टाढा टाढादेखि मानिस छिन्नमस्ता भगवती दर्शन गर्न आउँथे । बोका र परेवाको बलि चढाइन्थ्यो । मन्दिर अगाडिको ठूलो पोखरीमा भक्त नुहाउँथे । मन्दिरवरपर ब्राह्मण चण्डी पाठ गर्थे । म चाहिँ बिहानदेखि मन्दिरमै साथीहरूसँग रमाइलो गरी बस्थें ।
गाउँमा नाटक मन्डली थियो । चाडपर्वमा देखाउन खासगरी दसैंताकाका लागि नाटक तयारी गर्थे । नाटकहरू हिन्दी भाषामा प्रदर्शन गरिन्थ्यो । आफू सानै भएकाले मलाई प्रल्हाद, ध्रुव, हरिश्चन्द्रको छोरा रोहितको भूमिका दिन्थे । म पनि नाटकमा खेल्न औधि रुचाउँथे । सखडाको नाटक मन्डली उत्कृष्ट थियो । टाढाबाट नाटक हेर्न आउँथे ।
मैले एसएलसी २०२६ सालमा प्राइभेट विद्यार्थीका रूपमा दिएँ । त्यसपछि देश र विदेशमा पढें ।
मैले आफ्नो भाषाको किताब लेखें । साना नानीहरूले आफ्ना देशमा प्रकाशित, लेखिएका भाषा, साहित्य वा अन्य विधामा लेखिएका पुस्तक पढ्ने र बुझ्ने बानी बसाल्नु पर्छ ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६६ जेठ ३१ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<