किरण केसी सानो छँदा

बिगार नगर्ने म छुकछुके

किरण केसी सबैले चिनेका हाँस्यकलाकार हुनुहुन्छ । उहाँको जन्म ललितपुरको इमाडोलमा २०१४ असार १५ मा भएको हो । दुर्गाबहादुर र इन्द्रकुमारीका उहाँ कान्छो र तेह्रौं सन्तान हुनुहुन्छ । उहाँले राष्ट्रिय नाचघरमा जागिर खाँदा नै कलाकारिता सुरु गर्नुभएको हो । २०२८ सालमा ‘धानका बाला इलरी- बिलरी….’ गीतमा नाचेर उहाँ पहिलोपटक मञ्चमा पुग्नुभएको हो । उहाँले अभिनय गरेको पहिलो टेलिफिल्म ‘मदनकृष्ण-हरिवंश’ को ‘१५ गते’ भने पहिलो चलचित्र शम्भु प्रधानको निर्देशनमा बनेको ‘सन्तान’ हो । केसीले अहिलेसम्म करिब २ सय ५० वटा टेलिफिल्म र ८५ वटा फिल्ममा अभिनय गरिसक्नुभएको छ । केसीले गोरखा दक्षिणबाहु, राष्ट्रिय पुरस्कारका साथै ४० जिल्लामा पुरस्कृत हुने मौका पाउनुभएको छ । देशका ६५ जिल्ला घुम्नुभएको छ भने विश्वका ३५ देश पुग्नुभएको छ । ती देशमा गएर कार्यक्रम गर्नुभएको छ । करिब तीन हजार पटक मञ्चमा गएर अभिनय गर्नुभएको छ । केसीका बारेमा ‘शब्दचित्रमा किरण केसी’ नामक पुस्तक गत वर्ष उहाँकै जन्म दिनमा छापियो । उक्त पुस्तक टीका ढकालले लेख्नुभएको हो । उहाँका दुई गीति एल्बम पनि आएका छन् । ती हुन्, ‘ए राता मकै’ र ‘धरोधर्म माइली’ । उहाँ कलाकार मदनकृष्ण श्रेष्ठकै गीत र संगीतमा अब अर्को एल्बम निकाल्दै हुनुहुन्छ । यसपटक किरण केसी सानो छँदाका केही सम्झना :
मेरो न्वारानको नाम ‘केशव’ हो । सबैले मलाई ‘भैया’ भनेर बोलाउँथे ।
म आठ-नौ वर्षको हुँदासम्म आमाको दूध खान्थे ।
सानो छँदा म चञ्चले स्वभावको थिएँ । अझै पनि त्यस्तै छु । चकचक गरे पनि बिगार भने त्यति गरेको होइन ।
बुबा नेपाली सेनामा लेफ्टिनेन्ट कर्नेल हुनुहुन्थ्यो । हामीलाई पढाउन धेरै पढेका मानिस आउँथे । मलाई पढाउन जम्दार, सुवेदार, स्कुलका शिक्षक आउँथे । तर पढ्न भनेपछि मेरो टाउको दुख्थ्यो । म त कम पढ्ने, धेरै खेल्ने खालको थियो ।
स्कुलमा पनि सरले ‘पाठ ल्याइस्’ भनेर सोध्दा म भन्थें, ‘ल्याएको छैन ।’
त्यसो त ठ्याप्पै नपढ्ने होइन । अक्षर चिनेको थिएँ । पाटीमा लेखेर अक्षर चिनेपछि मैले मानभवनको एभीएम (आदर्श विद्या मन्दिर) मा कक्षा २ पछि पढें । कक्षा ४ बाट पाटन हाइस्कुलमा पढें । त्यो पाटनको अशोक सिनेमा हलअगाडि थियो । कक्षा ८ पछि लगनखेलमा मच्छिन्द्र इन्स्टीच्युटमा पढियो ।
एभीएम पढ्दा बुबाले मोटरसाइकलमा स्कुल पुर्‍याउनुहुन्थ्यो । बुबाको बीएसए नामको मोटरसाइकल थियो । पाटन र लगनखेल जाँदा त ठूलो पनि भएँ । हिँडेर जाने-आउने गर्थे ।
पढेन भनेर बुबा, माहिला दाइ श्यामबहादुर र साहिंला दाइ सुन्दरबहादुरको सबभन्दा बढी पिटाइ खाएको छु । मच्छिन्द्रमा पढ्दा स्काउट सरले मलाई पिट्नुभयो । त्यसको बदला मैले पिनले छेडेर उहाँको साइकलको हावा निकालिदिएँ ।
पढाइ नराम्रो भए पनि म अतिरिक्त क्रियाकलापमा निकै राम्रो थिएँ । मैले त्यस्तो प्रतियोगिताबाट विद्यालयलाई धेरै पदक दिलाएको छु ।
पाङ्ग्रा गुडाउन खुब मनपर्थ्यो । दिनको पाँच किलोमिटरसम्म पाङ्ग्रा गुडाउँथे । म लुकामारी, पौडी पनि खेल्थें । पौडी खेल्न मनोहरा र कोड्कु खोला पुग्थें । मलाई पौडी नै सबभन्दा बढी मनपर्थ्यो । मसँग खेल्ने, खाने साथीहरू प्रशस्त थिए । हाम्रो ‘ग्याङ’ मा म र रमेश केसी ‘मट्टारे’ अगुवा थियौं । हामी धेरै मिल्थ्यौं । अरू साथी रामराजा केसी, श्याम केसी, मुरारी केसी, मनोहरी भण्डारी, सानकाजी महर्जन, भुवन पौडेल, राजकुमार केसी थिए ।
म बुबाको पैसा चोर्थें । तर दस रुपैयाँभन्दा बढी कहिल्यै चोरिनँ । बुबाको सुत्ने खाटको सिरानतिर उहाँको इस्टकोट झुन्ड्याएको हुन्थ्यो । उहाँहरू सुतेकै बेलामा गएर पनि पैसा चोर्थें । छामेको भरमा दसको नोट चिन्थें । एकपटक सयको नोट आएछ । त्यो फिर्ता गरेर फेरि बुबाले थाहै नपाई दसको नोट झिकेको छु । बुबा खाना खान बस्दा झुण्ड्याएको इस्टकोटबाटै यस्सो उभिएजस्तो गरेर पैसा चोरिहाल्थें । म पैसा लगेर रमेश केसीलाई राख्नदिन्थें । एकदिनमा मज्जाले खर्च गरे पनि पाँच रुपैयाँ सकिँदैनथ्यो । अर्को पाँच रुपैयाँ अर्को दिन सब साथीलाई खाजा ख्वाएर बल्ल सकिन्थ्यो ।
स्कुलबाट फर्कदा घरमा मकै-भटमास राखिदिएको हुन्थ्यो । मलाई त्यस्तो फुक्को खाजा मन पर्दैनथ्यो । रायोको साग भुटेर खान्थें । घर आएपछि ३/४ लिटर मही खान्थे । बाटोमा आउँदा अम्बा, भोगटे, उखु, कागती, सुन्तला, काँक्रो चोरिन्थ्यो । पिटाइ त कहिल्यै खाइएन । म निकै चाँडो दौडेर भाग्थें । बुबालाई आएर, ‘तपाईंको छोराले बदमासी गर्‍यो,’ भनेर पोल लगाइदिन्थे ।
बिदाको दिन गाई र बाख्रा हेर्न जाइन्थ्यो । हामी सातदोबाटोको बीएन्डबी अस्पताल र स्विमिङ कम्प्लेक्स भएका ठाउँमा पुग्थ्यौं । त्यो ठाउँ सबै खाली थियो । पढ्न मन नगरे पनि रत्यौलीमा जाइन्थ्यो । म राम्रो नाच्थें । नाटक पनि गर्थें । दसैं र तिहारमा त म निकै चल्तापुर्जा हुन्थें । सामाजिक काममा सधैं अगाडि हुन्थें । कुलो खन्न पुग्थें । खेतमा पानी हाल्थें ।
अहिले आएर नपढेको दुःख लाग्छ । बुबा मलाई सधैं, ‘पछि थाहा पाउलास्’ भन्नु हुन्थ्यो । त्यसैले समयमा पढ्नुपर्छ भन्छु । विदेश जाँदा अरू अंग्रेजीमा बोल्छन् । म जान्दिनँ । त्यसैले राम्रो पढ्नुपर्छ ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६६ वैशाख ६ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<