खेलाडी कि डाक्टर ?
डा. खगेन्द्रबहादुर श्रेष्ठ चर्चित चिकित्सक हुनुहुन्छ । उहाँसँग नेपाली सेना र त्यसबेलाका राजा वीरेन्द्रको चिकित्सक भई लामो समय बिताएको अनुभव छ । १९९२ साल फागु पूर्णिमामा जन्मेका श्रेष्ठ जेठो छोरा हुनुहुन्छ । उहाँका पिताको नाम डा. भक्तबहादुर र माताको नाम अमितादेवी हो । उहाँहरू ३ दाजुभाइ र एक बहिनी जन्मनुभएको हो । उहाँले भारतको लखनउस्थित किङ जर्जस् मेडिकल कलेजबाट एमबीबीएस गर्नुभएको हो । त्यसपछि संयुक्त अधिराज्य (बेलायत) मा थप डाक्टरी शिक्षा लिनुभएको छ । डाक्टरी सकेर आएपछि उहाँले रेडक्रसका लागि एक वर्ष काम गर्नुभयो । सैनिक अस्पतालमा ७ वर्ष काम गर्नुभयो । विभिन्न संस्थानको सल्लाहकार-चिकित्सक रहनुभयो । अझै केही संस्थानमा सल्लाहकार-चिकित्सक हुनुहुन्छ । राजा वीरेन्द्रको उपचारमा संलग्न भएकै बेला नेपालभ्रमणमा आएका विभिन्न सरकार-प्रमुख र सरकार-प्रमुखको स्वास्थ्य-निगरानी गर्नुभयो । उडानसम्बन्धी उपचारका लागि समेत चिनिएका डा. श्रेष्ठले विभिन्न विमान-दुर्घटनाका छानबिन समितिमा रहेर काम गर्नुभएको छ । विभिन्न राष्ट्रमा गएर अनेकौं कार्यपत्र पेस गर्नुभएको छ । उहाँले धेरै सम्मान र पुरस्कार पाउनुभएको छ । अहिले डा. श्रेष्ठ आफ्नै नाममा ‘डा. खगेन्द्र स्पोर्टस् फाउन्डेसन’ स्थापना गरी खेलकुद र खेलाडीको सेवामा लाग्नुभएको छ । यसपटक डा. श्रेष्ठ सानो छँदाका केही सम्झना :
म छोरा र छोरीतिरकै पहिलो नाति भएर जन्में । त्यसैले मावलमा नजिक भएँ । बुबा ४० वर्षकै उमेरमा बित्नुभयो । त्यसबेला म ७/८ वर्षको मात्र थिएँ । त्यसैले पनि मलाई धेरै माया गर्नुहुन्थ्यो ।
बुबा भएका बेला पनि म उहाँसँग हिँड्थे । उहाँ पचलीमा कुष्ठरोगको उपचार गर्न जानुहुन्थ्यो । उहाँले बिरामी जाँचिरहँदा म स्लेटमा लेखेर बसिरहन्थे ।
काकाहरूले गर्दा मेरो पढाइ राम्रो भएको हो । दुईजना काकाले स्नातक (बीए) सम्म पढ्नुभएको थियो । एकजना त शिक्षक हुनुहुन्थ्यो । पाटन स्कुलको हेडसर ललितबहादुर श्रेष्ठ मेरा काका हुनुहुन्थ्यो । उहाँसँग हिँडेर स्कुल जाँदा-आउँदा बाटोमा पढाउनुहुन्थ्यो । संस्कृत र अंग्रेजीमा कथा भन्न लगाउनुहुन्थ्यो । स्कुलमा पढुन्जेल काकाले जे भन्नुभयो, त्यही गरियो । अर्का काका चन्द्रबहादुर श्रेष्ठ महाकवि लक्ष्मीप्रसाद देवकोटाका साथी हुनुहुन्थ्यो । उहाँले लामो समय महालेखा परीक्षकमा रहेर काम गर्नुभयो ।
घरमा पनि काकाले पढाउनुहुन्थ्यो । काकीले मकलमा अण्डा उसिनेर दिनुहुन्थ्यो । नेपाली कागजमा बेरेर भुङ्ग्रोमा अण्डा केहीबेर राख्दा उसिनिएको हुन्थ्यो ।
हामीलाई सानोमा अक्षर चिनाउने एकजना गुरु हुनुहुन्थ्यो । म सानो छँदा काकाहरू र गुरु त्रिपासा खेल्नुहुन्थ्यो । खेलमा मलाई पनि राख्नुहुन्थ्यो । पाँचमा तीन जोडे कति हुन्छ भन्दै सोध्नुहुन्थ्यो । जानिन भने आठ हुन्छ भन्ने सिकाउनुहुन्थ्यो ।
मैले २००७ सालमा एसएलसी परीक्षा दिएँ । म बोर्ड फोर्थ भएको हुँ । वास्तवमा देशभरमा फर्स्ट डिभिजन १० जनाले मात्र ल्याएका थियौं । म फोर्थ थिएँ । परीक्षा दिने हामी ४० जना जति थियौं । छात्रा थिएनन् । काकाकै कारण म संस्कृतमा राम्रो विद्यार्थी बनें । एसएलसीमा ५० पूर्णांकको संस्कृतमा ४० ल्याएको थिएँ ।
काका लोकमानसिंह हेडसरबाहेक हामीलाई दुर्गाबहादुर श्रेष्ठ, सिद्धिवर, हेमलाल जोशी, तुलसीबहादुर सिंह, अमृतमान, महन्त माड्साब, विष्णुबहादुर सरहरूले पढाउनुभयो । तुलसीबहादुर सिंह सरको एउटा अनौठो विशेषता थियो । उहाँ सबै लुगा कालो रंगका लगाउनुहुन्थ्यो । कालो चश्मा, कालो टोपी, कालै कोट सबै कालो ।
म १२ वर्षको हुँदा अनौठो घटना भयो । मलाई मेनेन्जाइटिस भयो । म मामाघरमा थिएँ । मामाघरमा बिहेको चहलपहल थियो । मलाई बिरामीले धेरै च्यापेछ । मामाघरमा भान्जा मर्नु हुन्न भन्ने भएछ । मलाई घाटे-वैद्यकहाँ लगियो । वैद्यले केही हुँदैन, घर लगे हुन्छ भनेपछि मलाई मामाघरको सट्टा घर लगियो । एकजना डाक्टरले एबी ६९३ नामको औषधि दिए । भोलिपल्ट निको भयो । मेरो मामा पढेको मान्छे, उहाँले औषधि त दोब्बर खुराक दिएको थाहा पाउनुभएछ । उहाँले भन्नुभयो । औषधि आधा गर्दा त मलाई रोग जस्ताको तस्तै भयो । फेरि दोब्बर दिइयो । म निको त भएँ । तर मेरा दुवै आँखा बन्द भए । त्यसपछि यक्षमान वैद्यले ओखती दिएर दुवै आँखा देख्न थालें ।
म मिलनसार थिएँ । मलाई खेलकुदमा धेरै चासो थियो । गुच्चा चाहिँ असाध्यै खेल्थें । डण्डीबियो र चंगामा अरूको ध्यान जान्थ्यो । म धेरै लागिनँ । तिलौरी भाँचेर पनि खेल्थें । खट्टेमा जस्ता खेल खेल्थें । च्याम्पटी पनि खेल्थें । क्यारामबोर्ड घरमा खेल्थें । रामलाल श्रेष्ठ मसँग क्याराम खेल्ने साथी हुन् । म काकासँग पनि क्याराम खेल्थें । क्याराममा हार्यो भने मैले चिलिमका तमाखु भर्नुपर्थ्यो ।
खेलकुदमा मन भए पनि एसएलसीपछि मात्र क्लब गएँ । म १४/१५ वर्षको थिए । खिचापोखरीको ब्वाइज एथलेटिक क्लब गएको हुँ । खेलमा यति धेरै एकोहोरो लागें । एसएलसी चौथो भएको मलाई आईएस्सी पास गर्न धौधौ भयो । मुस्किलले थर्ड डिभिजनमा पास भएँ । बीएस्सीमा झण्डै त्यस्तै भयो । तर हामीले मिलेर ‘कम्बाइन्ड एस्टडी’ गर्दा म खेलकुदबाट टाढा भएँ । पढाइ राम्रो भयो । राम्ररी पास भएँ ।
स्कुल पढ्दा बाढी आएको मौका छोपी हामी बागमती पुग्थ्यौं । स्कुल जानुभन्दा पहिले तीनचोटि पौडियो । टिफिनमा पनि बगलामुखीको कुम्भेश्वरमा पौडन पुग्यो । घर फर्कने बेलामा फेरि पौडन्थ्यौं । म अरूलाई नाई भन्न जान्दिनथें । आफू बदमास नभए पनि नाई भन्न नजानेकाले यस्ता उपद्रो गरिन्थ्यो । छ-सात घण्टा लाइन लागेर सिनेमा हेरिन्थ्यो । जनसेवा हलमा बढी नै सिनेमा हेरियो ।
यसरी नै मेरो बाल्यकाल बित्यो ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६५ चैत २३ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)