बुबाको विज्ञान चेलो
दीनबन्धु कोइरालासँग तीन दशक लामो राष्ट्रसेवाको अनुभव छ । उहाँ पोखराको पर्स्याङमा बस्नुहुन्छ । उहाँले आफ्नो प्रयासमा एउटा विज्ञान प्रयोगशाला बनाउनु भएको छ । उक्त प्रयोगशाला विद्यार्थीका लागि ज्ञानवर्द्धक हुन्छ । प्रयोगशाला हेरेर पोखराका विद्यार्थीले सौर्यमण्डल, पानीजहाज, आकाशेपुल, अन्य खालका पुल, क्षेप्यास्त्र, विकसित ढिकी, रोबोट, सकुनी पासा आदिको जानकारी लिनसक्छन् । दीनबन्धुको जन्म वि. सं. १९९१ असोज ८ मा पर्स्याङमै भएको हो । उहाँका पिताको नाम श्रीप्रसाद र माताको नाम गौरी हो । उहाँहरू दुई दाजुभाइ र उहाँकी दिदी जन्मनुभएको हो । उहाँ कान्छो छोरा हो । उहाँसँग नुवाकोट जिल्लाको थापागाउँमा तीन वर्ष प्रधानाध्यापक र राजधानीको कन्या स्कुलमा एक वर्ष शिक्षक भएको अनुभव छ । त्यसपछि उहाँ सहकारी सव-इन्स्पेक्टर, बचत सहायक निरीक्षक हुनुभयो । यी दुई पदमा रहेर १० वर्ष २ दिन जागिर खानुभयो । त्यसपछि लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरी १८ वर्ष नायव सुब्बा पदमा रहनुभयो । लामो समयको राष्ट्रसेवापछि उहाँले उक्त विज्ञान प्रयोगशाला बनाउनुभयो । अझै अनुसन्धान गरिरहनुहुन्छ । यस्तै अनुसन्धानमा लागिरहनुभएका कोइराला सानो छँदाका केही सम्झना :
विज्ञानको ज्ञान हजुरबुबालाई पनि रहेछ । किनभने उहाँले न्यानो हुने घर बनाउनुभएको थियो । त्यो ज्ञान बुबामा पनि सर्यो ।
एकदिनको कुरा हो । वन जानु पर्ने भयो । वन जान लाग्दा साथीहरूले बाघले फुल पार्छ भनेर साथीले मलाई डर देखाए । म डराएको थाहा पाएर बुबाले मलाई भन्नुभयो, ‘जसका कान हुन्छन्, ती जनावरले फुल पार्दैनन् । तीनका बच्चा हुन्छन् । जसका कानका ठाउँमा प्वालमात्र हुन्छन्, ती जनावरले मात्र फुल पार्छन् ।’
अर्को यस्तै कुरा भयो । खसीका कति दाँत हुन्छन् ? माथि-तल दुवैतर्फ बंगारा हुन्छन् कि हुँदैनन् भन्ने हुँदा बुबाले भन्नुभयो, ‘जसको सिंग वा सिंग आकार हुन्छ, ती जनावरका माथि दाँत हुँदैनन् । बंगारा दुवैतर्फ भए पनि दुवैतर्फ दाँत हुँदैनन् ।’
पछि मलाई लाग्यो, ‘कानमा हुने कुरकुरे हाड फुल बनाउन खर्च भएको हुँदो हो । त्यस्तै माथिल्ला दाँतमा हुने अंश सिंग बनाउन लागेको हुनुपर्छ ।’
एकपटक बजारमा चटक हेर्न गएँ । एउटा बालक घोप्टो परेको हुन्थ्यो । चटकेले सोध्थ्यो, ‘यी सज्जनका गोजीमा के छ ?’ बच्चा भन्थ्यो, ‘कलम छन् ।’ चटकेले सोध्यो, ‘कतिवटा छन् ?’ बालकले भन्यो, ‘तीनवटा छन् ।’ मलाई अचम्म लाग्यो । मैले यो कुरा बुबालाई सोधें । बुबाले भन्नुभयो, ‘के छ ?’ भन्दा कलम भन्ने पहिले सिकाएको हुन्थ्यो । कतिवटा भन्ने शब्द भनेर सोध्दा दुईवटा भन्ने पहिले सिकाएको हुँदो रहेछ । प्रश्नमा जति शब्द प्रयोग हुन्छ । उत्तर पहिले नै भनिएको हुँदो रहेछ । गोजीमा पनि कलम भएकै मानिसका छेउमा गएर प्रश्न सोधेपछि घोप्टो परेको बालकले उत्तर त्यही दिने भयो ।
बुबाले कुनै विद्यालयमा शिक्षा लिनुभएको होइन । उहाँ चिकित्सक पनि होइन । तर उहाँ औषधि-उपचार गर्नुहुन्थ्यो । बीउ-बिजन निकाल्ने नयाँ प्रविधि जान्नुहुन्थ्यो । पाकेका सुन्तला धेरै दिनसम्म कसरी बचाएर राख्ने विधि पनि उहाँलाई थाहा थियो । काठको भूस वा परालमा फलफूल राखेर धेरै दिनसम्म बचाउन सकिन्छ । मैले हजुरबुबाले गरेका केही काम देखें । बुबाबाट धेरै सिक्न पाएँ ।
म सानो छँदा आफैले काँक्रो रोपेको थिएँ । बिहान उठेर मुख धुँदा फलेको काँक्रो चोरिएको पो देखियो । मैले काँक्रो बचाउन एउटा साँचो बनाएँ । बुबाले त मैले गरेको बुझ्नुभयो । तर त्यसबाट कसैलाई नराम्ररी चोट लाग्ने हुनसक्छ भन्ने संकेत दिनुभयो । मैले त्यो साँचो त्यहाँबाट हटाएँ । यदि साँचोका कारण आमालाई कुनै चोट लागेको भए मलाई जीवनभर पीडा हुन्थ्यो । तर आमा र दिदीले साँचो नभए पनि काँक्रो टिप्नु भएन । त्यसबेला म आठ वर्षको हुँदो हुँ । बुबाले त्यही बेला नै मलाई चिन्नुभयो ।
दिदी र मेरो उमेरबीच ६ वर्षको फरक हो । दिदी आमाबाट प्रभावित हुनुहुन्थ्यो । उहाँ आमालाई प्रशस्त काम सघाउनुहुन्थ्यो । तर उहाँको १४ वर्षकै उमेरमा बिहे भयो । उहाँ जाने भएपछि उहाँले आमालाई सघाउनु भन्नुभयो । त्यसो भएपछि म वन जान्थें । दाउरा खोज्थें र घर ल्याउँथे । घाँस काट्थेँ । घरको काममा धेरै समय बिताउने मेरो बाल्यकाल रमाइलो थियो । म वन जाँदा नाम्लो बनाएर ल्याउँथे । घरको मैले मात्र पढ्न पाएँ । दाजु साक्षर हुनुभयो । दिदीले त पढ्न पाउनुभएन ।
मैले ०१७ सालमा एसएलसीको परीक्षा दिएँ । मैले पढेको स्कुल सोल्जर्स बोर्ड भोकेसनल ट्रेडिङ हाइस्कुल हो । अहिले उक्त स्कुललाई अमरसिंह उच्च माविका नामले चिनिन्छ । एसएलसीमा मेरो थर्ड डिभिजन आयो । हाम्रो परीक्षाकेन्द्र मल्टिपर्पोज हाइस्कुलमा परेको थियो । त्यो वर्ष स्कुलको पहिलो ब्याच थियो । हामी १७ विद्यार्थी थियौं । हामी केटामात्र थियौं । १७ मध्ये एक विद्यार्थीमात्र फेल भए ।
कक्षा ८ अघि मैले आफैं घरमा पढें । उक्त हाइस्कुलमा कक्षा ८, ९ र १० पढें । अर्धवार्षिक परीक्षाको एक महिनाअघिमात्र विद्यालय भर्ना भएर मैले कक्षा ८ पढेको थिएँ ।
मलाई अक्षर चिनाउने काम इन्द्रप्रसाद पराजुलीले गर्नुभयो । उहाँ व्याकरणका गुरु हुनुहुन्थ्यो । त्यसबेला व्याकरण पाठशाला, ज्योतिष पाठशाला र भाषा पाठशाला हुन्थे । मैले तीनवटै विद्यालयमा पढें । मेरा काका शिवराज मेरा साथी हुनुहुन्थ्यो । उहाँ काका भए पनि हामी एकै उमेरका थियौं ।
घरमा मलाई बुबाले हिसाब पढाउनुहुन्थ्यो । हिसाब गर्ने धेरै तरिका उहाँलाई आउँथे । कक्षा ८ मा भर्ना हुन योग्य पनि उहाँले बनाउनुभएको हो । मैले एकपटक जादू वर्ग सिकेर आएँ । जादू वर्ग भनेको जताबाट जोडे पनि उति नै आउने कोठे-खेल हो । यो बुबालाई सुनाउँदा उहाँले श्लोक सुनाउनुभयो :
‘अष्टा त्रिवेदा शशि बाँढ नन्दा
रसाब्दी नेत्रा खलु यन्त्र सूर्य’
यो भनेको
८, ३, ४
१, ५, ९
६, ७, २
रहेछ । यी अंक माथि-तल तीन-तीन कोठा भएको नौ कोठे बाकसमा राख्दा जताबाट जोडे पनि १५ हुन्छ । यसरी बुबाले मलाई ज्ञान-विज्ञान सिकाउनुभयो ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६५ फागुन २३ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)