संशोधन मण्डलमा कान्छो
प्रा. दिनेशराज पन्त संस्कृत र इतिहासका प्राध्यापक हुनुहुन्छ । उहाँसँग करिब ३० वर्ष अध्यापन गराएको अनुभव छ । पन्त विसं २००६ साल कात्तिक ३ मा काठमाडौँको ओटुमा जन्मनुभएको हो । उहाँका पिताको नाम नयराज पन्त हो । उहाँ विद्वान् नयराजका कान्छा छोरा हुनुहुन्छ । उहाँहरू दुई दाजुभाइ र तीन दिदीबहिनी जन्मनुभएको हो । राजधानीको प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठमा ३० वर्षदेखि हुनुहुन्छ । सुरुमा उहाँ अनुसन्धाता हुनुहुन्थ्यो भने अहिले प्राध्यापक हुनुहुन्छ । उहाँ विभिन्न प्राज्ञ संघसंस्थामा आबद्ध हुनुहुन्छ । धेरै अनुसन्धान गरेका पन्तले अनेकन सम्मान पनि पाउनुभएको छ । उहाँका विभिन्न पुस्तक प्रकाशित छन् । ३ सय ५० भन्दा बढी अनुसन्धानपत्र पनि प्रकाशित छन् । विभिन्न कार्यमा संलग्न यस्तै धेरै अनुभव भएका पन्तको सानो छँदाका केही सम्झना :
सुरुमा मैले निगालोका कलमले अक्षर लेख्न सिकेँ । साहित्यकार रमेश विकलका मामा देवीप्रसाद भण्डारी मेरा गुरु हुनुहुन्थ्यो । भण्डारीचाहिँ बुबाका चेला हुनुहुन्थ्यो । भण्डारी गुरुले नै मलाई अक्षर चिनाउनुभएको हो ।
म सानोमा राम्रा अक्षर लेख्थेँ । तर बुबाका अक्षर उत्ति राम्रा थिएनन् । पछिपछि मलाई धनवज्र वज्राचार्यले सिकाउनुभयो, पढाउनुभयो । त्यसैले विद्या सुरु गर्ने गुरु धनवज्र गुरु नै हो भन्नुपर्छ ।
म पिताजीको संशोधन मण्डल पाठशालाको कान्छो विद्यार्थी हुँ । हाम्रो पढाइ अहिलेको ट्युसनजस्तो हुन्थ्यो । घरमा हुन्थ्यो । म भर्ना हुँदा हामी १० विद्यार्थी भयौँ । त्यसबेला मलगायत कक्षामा रामजी तिवारी, देवीप्रसाद भण्डारी, भोलानाथ पौडेल, शंकरमान राजवंशी, धनवज्र वज्राचार्य, गौतमवज्र वज्राचार्य, महेशराज पन्त (मेरो दाजु), नयनाथ पौडेल आदि थियौँ । हामी संस्कृत, इतिहास, गणित पढ्थ्यौँ ।
म ५ वर्षको हुँदा आमा बित्नुभयो । त्यो २०११ साल थियो । आमा बित्दाको केही घटना सम्झन्छु । आँसु छुटेको याद छ ।
मेरा मामा डिल्लीबजारका पाण्डे हुन् । मामाघर सम्पन्न थियो । जेठी दिदी मामाघरमा हुर्कनुभयो । मलाई भने मामाघर जानु नपरे हुन्थ्यो जस्तो लाग्थ्यो । बरु दाजु मामाघरमा बढी हेलमेल हुने खालको हुनुहुन्थ्यो । म उहाँका पछिपछि लागेर जान्थेँ ।
पछि बुबाले माइली दिदीलाई पढाउनुभयो । उहाँलाई त संस्कृत समेत आउँथ्यो । उहाँ व्याख्यान छाँट्नुहुन्थ्यो । कान्छी बहिनी पनि १० वर्षसम्म मामाघरमै बसिन् ।
हाम्रो घरमा बुबाले प्रत्येक वर्ष पृथ्वी जयन्ती मनाउनुहुन्थ्यो । उक्त दिन वीर पूजा हुन्थ्यो । त्यसैगरी वैशाखमा विद्वत् पूजा गरिन्थ्यो । वर्षमा यी दुई विशेष कार्यक्रम घरमै हुन्थे ।
फुर्सद हुँदा चोकमा बसिन्थ्यो । भकुन्डो, डन्डीबियो खेलिन्थ्यो । बुबा यस्तो मन पराउनुहुन्नथ्यो । उहाँबाट यस्ता काममा अप्रत्यक्ष बन्देज थियो । अलि एक्लो र लजालु स्वभावका कारण म टोल-छिमेकमा कसैको नजिक हुन्न थिएँ ।
एकपटक हामी बालकहरू मिलेर पैसा बटुल्यौँ । भकुन्डो किन्यौँ । साँझमा खेल्न त थाल्यौँ । मलाई उछिनेर अरू नै अगाडि पुग्थे ।
सानोमा हामी सिनेमा हेर्थ्यौं । हामीलाई सिनेमाको अलिकति दृश्य पनि छुटेको मन पर्दैनथ्यो । सुरुदेखि हेर्न मनलाग्थ्यो । एकदेखि डेढ रुपैयाँमा सिनेमा हेर्न पाइन्थ्यो । एक्लै पनि सिनेमा हेर्न पुगिन्थ्यो । त्यसबेला श्यामश्वेत सिनेमा थिए । त्यसबेलाका सिनेमाहलहरू : विश्वज्योति, अशोक, नवदुर्गा, जयनेपाल हुन् ।
घुम्न पनि जाइन्थ्यो । घुम्दै शोभाभगवतीसम्म पुगिन्थ्यो । पशुपति र स्वयम्भू भने धेरै गइएन । हिँडेर जानुपरेकाले टाढै लाग्थ्यो ।
म सानोदेखि नै झूठो बोल्दिनथेँ । घरमा हामी संस्कृतमा कुरा गर्थ्यौं । बुबालाई कण्ठ पारेर पाठ बुझाउनुपर्थ्यो । अझ सिनेमा हेरेको दिन बढी नै पाठ कण्ठ पारेर बुझाउनुपर्थ्यो ।
मलाई रामजी तिवारीले माया गर्नुहुन्थ्यो । उहाँले डुल्न लानुहुन्थ्यो । सिनेमा हेर्न पनि लानुहुन्थ्यो । तर पछि मैले एउटा वाचा गरेँ- जबसम्म नेपाली सिनेमा बन्दैन, तबसम्म सिनेमा नै नहेर्ने ।
दसैंमा रमाइलो हुन्थ्यो । तर आनन्द अनुभूति हुँदैनथ्यो । म ८/९ वर्षको हुँदादेखि बुबाको सहायक भएर काम गरेँ । त्यसैले मलाई बालापन अनुभव भएन । परिपक्व मानिसजस्तो भएँ । बुबाको स्याहार गर्थें । बुबाका दाह्री काटिदिन्थेँ ।
उसबेला तिहार अलि रमाइलो हुन्थ्यो । दिदी-बहिनी र आफू नजिक हुने भएकाले रमाइलो भएको हो । त्यसमा पनि पर्व मनाउन घर छाडेर अन्यत्र जानु नपरेकाले रमाइलो भएको हो । दसैंमा त मामाघर र नातेदारका घर जान मलाई उत्तिको मनपर्दैनथ्यो ।
हाम्रो घरमा दूध टन्न खान पाइन्थ्यो । भातमा घ्यु हालेर खान्थ्यौँ । खाना प्रशस्त र राम्रो हुन्थ्यो । फलफूल त्यति पाइँदैनथ्यो । बुबा एक्लो छोरो भएकाले बज्यैले उहाँलाई फलफूल दिनुहुन्थ्यो ।
खानासँगै हाम्रो घरमा नियम कडा थियो । बिहान नुहाएर पढ्न जाने, आठ बजे दूध खाइन्थ्यो । पढ्ने काम राति दस बजेसम्म हुन्थ्यो ।
म लोभ गर्दिनथेँ । चाडपर्वमा पनि उत्तिको पैसाको लोभ नभएको थिएँ । त्रुटि हुन्छ कि भनेर डराउँथे ।
म छ वर्षको हुँदा मेरो व्रतबन्ध भयो । मलाई घरमा पनि दिनेश नै भनेर बोलाइन्थ्यो । सानोमा हामी दौरा-सुरुवाल लगाउँथ्यौँ ।
यसरी नै मेरो बाल्यकाल बितेको थियो ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६५ फागुन १६ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)