गाँजाको पात खाँदा लठ्ठ
विदुरप्रसाद पौडेल नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति हुनुहुन्छ । पौडेलले बाग्मती नदीको संरक्षणका लागि पनि काम गर्नुभएको छ । उहाँको जन्म २००६ साल असोज ६ गते खोटाङको हलेसी, सल्लेमा भएको हो । उहाँका पिताको नाम पाराशर उपाध्याय पौडेल र माताको नाम कुन्तादेवी पौडेल हो । उहाँका ६ दाजुभाइ र दुई दिदीबहिनी जन्मनुभएको हो । विदुर जेठो हो । भारतको बनारसबाट उच्च शिक्षा (आचार्य) पूरा गरेका विदुर पौडेलका रचना विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । उहाँले रानीपोखरी संस्कृत पाठशाला (२०२५-०२८), त्रिभुवन विश्वविद्यालय (२०३२-०४२), महेन्द्र संस्कृत विश्वविद्यालय (२०४३-०५५) मा पढाउनुभएको छ । २०४८-०५४ मा राष्ट्रियसभा सदस्य रहेका पौडेलले नेपाल प्राध्यापक संघ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति, अधिकारसम्पन्न बाग्मती क्षेत्र ढल निर्माण/सुधार आयोजना कार्यान्वयन तथा अनुगमन समिति, पशुपति क्षेत्र विकास कोष, गुठी संस्थान विद्वत् परिषद् आदिमा रहेर काम गर्नुभएको छ । विभिन्न पुरस्कार, सम्मानबाट सम्मानित पौडेलले मुलुक र भारतका विभिन्न भागको भ्रमण गर्नुभएको छ । यसपटक पौडेल सानो छँदाका केही सम्झना :
उसबेला पढ्नु भनेको रट्नु हो । मैले पनि रटेर पढ्न सिकेको हुँ । हाम्रो घरमा गाउँका साना बालक भेला हुन्थे । खोक्सेली गाउँका प्रभूराज भट्टराई गुरु हुनुहुन्थ्यो । उहाँले हाम्रो घरमा सबैलाई पढाउनुहुन्थ्यो । सुरुमा वेद, रुद्री, चण्डी रट्नुपरेको थियो ।
सात सालमा राणाशासन हटेपछि गाउँमा जनता प्राथमिक विद्यालय स्थापना भयो । त्यहाँ गएर अक्षरचाहिँ चिनियो । रटेरमात्र कहाँ हुँदोरहेछ र ? बाँसको कलम मसीमा चोपेर नेपाली (पहाडी) कागजमा लेखियो । जनता प्रावि कक्षा ६/७ सम्ममात्र थियो । एक जना शिक्षक विष्णुप्रसाद पौडेल मात्र हुनुहुन्थ्यो । त्यहाँ एक-डेढ वर्षमात्र पढियो । त्यसपछि हाम्रो तराई बसोवास भएको ठाउँ सिरहाको मिर्चैया आइयो ।
मिर्चैयामा मिर्चैया बाबाको स्कुल थियो । त्यहाँ भर्ना भएँ । त्यहाँ दुई वर्ष पढें । त्यहाँ छात्रावास थियो । मेरो अभिभावकका रूपमा शंकर दाइ हुनुहुन्थ्यो । मेसमा खाना खाइन्थ्यो । खानामा सामान्यतः दाल, भात, तरकारी हुन्थ्यो । बाबा सधैं पढ्नुपर्छ भन्नुहुन्थ्यो । उहाँको असाध्यै राम्रो व्यवहार थियो । बजार गएर जे पायो त्यही खाँदाचाहिँ गाली गर्नुहुन्थ्यो । जगत भन्ने एकजना साथी थिए । उनी बाहिर गएर के-के खान्थे । त्यही निहुँमा गाली पनि खान्थे । एकपटक कान निमोठेको याद छ । म सानो थिएँ । बाहिर त्यति जान्नथें । मलाई छात्रावासमा बसेर पढ्न नै रमाइलो लाग्थ्यो । त्यहाँ धेरै विद्यार्थी थिए । मैले जान्दा पहाड र मिर्चैयामा छात्रा थिएनन् ।
मिर्चैयामा पढ्दा भारतको काशी र पटनामा प्रकाशित पुस्तक पढ्नुपर्थ्यो । अंग्रेजी, संस्कृतका किताब थिए । कापीमा लेखिन्थ्यो । मसी हाल्ने कलम चलाइन्थ्यो । चक्की मसी पाइन्थ्यो । पानीमा घोलेर चलाउनुपर्थ्यो ।
म एघार वर्षको भएँ । मलाई पहाड बोलाइयो । एघार वर्षमै मेरो बिहे भयो । त्यति सानोमा बिहे गर्नु गलत हो भन्ने ज्ञान कसैलाई थिएन ।
बिहेपछि म फेरि मधेस झरें । जनकपुर गएँ । त्यहाँ सात वर्ष बसें । जनकपुर ज्ञानकूप संस्कृत पाठशालामा विद्यार्थी भएरै ती वर्ष बितेका थिए ।
मेरो पढाइ राम्रो थियो । अक्षर त्यति राम्रा थिएनन् । गृहकार्य गरेर जान्थें । रट्नु नै धेरै पर्थ्यो । मलाई कसैले हकार्नुपरेन । सजाय पाइनँ ।
छात्रावासमा हामी नेपाली बोल्थ्यौं भने स्थानीय साथीहरू मैथिली बोल्थे ।
मिर्चैया पढ्दाका जगतबाहेक अरूको नाम याद छैन । जनकपुर बस्दाका साथीहरू तुलसी, लेखनाथ, केशव कोइराला थिए । केशव त पछि भारतको मटिहानीमा सहिद भए । जनकपुरमा बलदेव झाले व्याकरण, जीवनाथ मिश्रले अनुवाद, नारायणप्रसादले नेपाली पढाउनुभयो । हामीले वेद गुरु भन्ने गरेका गुरुले ज्योतिष पढाउनुहुन्थ्यो । सबै गुरुमध्ये जीवनाथले मेरो क्षमता चिन्नुभएको थियो ।
पहाडमा रहँदा परिवारका सबै सदस्य भेला हुँदा ७५ जना पुग्थ्यौं । खाना खान पालोपालो गर्नुपर्थ्यो । बाबु, छोरा र नाति गर्दै पालोपालो भात खान बसिन्थ्यो ।
दसैंको टिको पनि ठूलो भाँडोमा तयार पारिन्थ्यो । दसैंमा जेठोबाट टिका लगाउन सुरु गरिन्थ्यो । तिहारमा कान्छोबाट सुरु गरिन्थ्यो । दसैंको जमरा विशेष पूजा गरेर राखिन्थ्यो । हाम्रा घरमा ढकाल गुरु आउनुहुन्थ्यो । नौरथाभर बस्नुहुन्थ्यो । अष्टमीमा दीक्षा सुनाइन्थ्यो । अष्टमीका दिन बोको काटिन्थ्यो । हजुरबुबा मासु खानुहुन्नथ्यो । तर अष्टमीका दिन प्रसाद मानेर दुई चोक्टा मासु खानुहुन्थ्यो । दसैंका लागि बेग्लै खसी पालेको हुन्थ्यो । घरमा भेला हुने संख्या हेरेर ३/४ वटा खसी पनि काटिन्थे । बिसौनीमा मासु नापिन्थ्यो । धार्नीको ४ रुपैयाँमा मासु किनबेच भएको याद छ ।
घरमा घोडा पालेका थिए । हामी चढ्थ्यौं । कसले घोडा चढ्ने भन्ने हुन्थ्यो । एउटा राम्रो सेतो राम्रो घोडा थियो । म लडेर बेहोस भएँछु । घरेलु ओखती गरियो । तेल र सिम्रिक खुवाइयो । पहाडमा छँदा घाँस काट्न जान्थें । एकपटक हरेउ सर्प समातेछु । घाँस काट्दा हरेउ काटेछु । टाउकोचाहिँ हातमा आएछ । खेती उठाउने बेलामा दाइँ सकेर मूलाको पात ठानेर गाँजाको पात खाँदा लठ्ठ मातेछु । घाँस बोक्न जाँदा एकपटक घतुरो खाएर मातेको थिएँ । पहाडमा छँदा रोशी, दूधकोशी, सुनकोशी नदी हिंडेर आउने-जाने गरिन्थ्यो ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६५ पुस १८ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)