घनश्याम श्रेष्ठ सानो छँदा

म निदाएको फोटो

घनश्याम श्रेष्ठ पर्यटन व्यवसायी हुनुहुन्छ । उहाँको जन्म २०१४ साल माघ ४ गते भक्तपुरको ठट्टुटोल मध्यपुर ठिमीमा भएको हो । उहाँका पिताको नाम काशीलाल र माताको नाम रामकेशरी हो । घनश्यामका तीन दाजुभाइ र दुई दिदीबहिनी जन्मनुभएको हो । उहाँ जेठो छोरा हो । उहाँ चितवनको सौराहास्थित रोयल पार्क होटलका प्रबन्ध-निर्देशक हुनुहुन्छ । उहाँ होटल एसोसिएसन अफ नेपालका एक्जुकेटिभ सदस्य रहेका श्रेष्ठ रिजनल होटल एसोसियसन अफ नेपाल (चितवन) का निवर्तमान अध्यक्ष हुनुहुन्छ । रोटरी क्लब, भीमसेन भजन मण्डल लगायत विभिन्न धार्मिक एवं सामाजिक संस्थासँग आबद्ध हुनुहुन्छ । उहाँ काठमाडौंको भीमसेनस्थानमा बस्नुहुन्छ र ठिमीको पुर्ख्यौली घरलाई संग्रहालय बनाउँदै हुनुहुन्छ । सौराहाको पर्यटनमा विशेष योगदान दिएका श्रेष्ठले पर्यटन व्यवसायी हुनुअघि जर्मनीबाट धेरै गाडी ल्याएर बेच्नुभएको थियो । राप्ती नदीको संरक्षण, चितवन राष्ट्रिय निकुञ्जवरपर तारबार गरी हात्तीको आक्रमणबाट स्थानीय बासिन्दालाई बचाउने काम, सौराहामा हात्तीदौडजस्ता काममा पनि उहाँले धेरै योगदान दिनुभएको छ । उहाँले जर्मन, थाइल्यान्ड, हल्यान्ड, टर्की, सिंगापुर, हङकङ, इरान, इराक आदि मुलुक भ्रमण गर्नुभएको छ । पल-ह्यारिस अवार्डजस्ता विभिन्न पुरस्कारबाट पुरस्कृत घनश्याम श्रेष्ठ सानो छँदाका केही सम्झना :
हाम्रो परिवार किसान परिवार हो । २०२१/२२ सालमा हामी ठिमीबाट काठमाडौं आयौं । व्यापार नै हाम्रो पुर्ख्यौली व्यवसाय हो । अझै पनि किराना पसल गरेकै छ ।
मखनटोलमा बस्दा पर्यटकहरू देखिन्थ्यो । मलाई उनीहरूसँग खेलौं । रमाऔं जस्तो लाग्थ्यो । जो पर्यटक देखे पनि ‘अमेरिकन अमेरिकन ..’ भनेर बोलाउँथे । कसैलाई ‘अमेरिकन बाइबाई…’ भनिन्थ्यो । पर्यटनमा आउने त युरोप, जापानजस्ता देशका पनि हुँदा रहेछन् । के थाहा ? म उनीहरूसँग नजिक हुन खोज्दो रहेंछु ।
हाम्रो पुर्ख्यौली व्यवसाय खुर्सानीको व्यापार थियो । हाम्रो परिवारलाई ‘मल्टा साहू’ भनेर चिनिन्थ्यो । म सानै छँदा म खुर्सानीको बोरामाथि निदाएँछु । म निदाएको फोटो टुरिस्टले खिचेछ । मलाई उठाएर एउटा चकलेट दिएको थियो ।
भक्तपुरबाट काठमाडौं आएपछि नवआदर्श स्कुलमा पढ्न थालियो । कक्षा १ मा पढ्थें । घरमा भने ठूलो बुबाका छोरा (दाइ) हरूले पढाउँथे । त्यसबेला स्कुलमा केटीहरू कम थिए । कक्षा ५ पढ्न म जेपी स्कुल गएँ । सुरुमै बुबा-आमा काठमाडौं आउनुभएको थिएन । हामी परिवारमा भए पनि आफ्नो खाना आफैं पकाउँथ्यौं । एकपटक स्टोभमा दम दिँदा उम्लिरहेको पानी ममाथि खनियो । मेरा खुट्टा जले । त्यसपछि म बिरामी भएँ । अहिले पनि हिँड्दा अलि अप्ठ्यारो हुन्छ ।
जेपी स्कुलमा पढ्दा रामजी शर्मा हाम्रा हेडसर हुनुहुन्थ्यो । केशवलाल मानन्धरले पढाउनुहुन्थ्यो । रामप्रसाद मानन्धर सर मलाई धेरै मनपर्थ्यो ।
पानीले जलेर बिरामी भएर उठेपछि म महेन्द्र प्रौढ शिक्षालयमा पढ्न थालें । कक्षा ८ पूरा गरें । दीनभर पसलमा बसेर साँझ पढ्दा के पो पढ्न सकिन्थ्यो र ? त्यसपछि कक्षा ९ र १० शान्ति निकुञ्जमा पढें । शान्ति निकुञ्जमा धेरै राम्रो पढाइ हुन्थ्यो । त्यहाँ विद्यार्थीलाई धेरै माया गर्ने गुरुहरू हुनुहुन्थ्यो । दशरथ सर, वागेश्वरानन्द वज्राचार्य, आनन्दमान श्रेष्ठ, गोविन्द वैद्य, सूर्यबहादुर पिवा हाम्रा गुरुहरू हुनुहुन्थ्यो । सूर्यबहादुर पिवा भक्तपुरबाट आउनुहुन्थ्यो । उहाँ खुब मज्जाले पढाउनुहुन्थ्यो । अरू कक्षा खाली हुँदा उहाँकै कक्षामा धेरै घुँइचो लाग्थ्यो । उहाँ कहिल्यै सजाय दिनुहुन्नथ्यो ।
मेरो पढाइ उत्तिको राम्रो होइन । नराम्रो पनि होइन । पढ्दै जाँदा लगातार भएको भए समयमा एसएलसी दिन्थें होला । तर दाइ मीनभक्त बित्नुभयो । मेरो एसएलसी ढिलो भयो । २०३५ मा मात्र एसएलसी दिन पाएँ । मैले सेकेन्ड डिभीजनमा पास गरें ।
स्कुलमा मलाई भूगोल विषय धेरै मनपर्थ्यो । आनन्द सरले भूगोल पढाउनुहुन्थ्यो । उहाँले कुनै ठाउँका बारेमा पढाउनुभयो भने आफूलाई त्यही ठाउँमा पुगेजस्तो अनुभव हुन्थ्यो ।
म फुटबल र टेबुल-टेनिस खेल्थें । म फुटबलमा धेरैपटक गोलकिपर हुन्थें । त्यसबेला भर्खर चाइनिज खानाको चलन चलेको थियो । मलाई चाइनिज खाना मनपर्थ्यो ।
ठिमीमा हुँदा हामी अरूका बारीमा पसेर अम्बा चोरेर खान्थ्यौं । एकपटक अम्बा खाएको निहुँमा बारी भएका घरका हजुरबुबाले हामीलाई पिटे । मैले त अम्बाको रूखै काटिदिएको थिएँ । अहिले सम्झदा रूख काट्नु नराम्रो काम रहेछ भन्ने लाग्छ । रूख-बिरुवा काट्नु अपराध हो । यता काठमाडौं, जेपी स्कुल पढ्दा कांग्रेस नेता गणेशमान सिंहको बारीमा गएर गाँजर चोरिन्थ्यो । गाँजरको खेती भर्खर हुन थालेकाले त्यो धेरै स्वादिलो लाग्थ्यो ।
स्कुल जाँदा पैसाको अभाव हुन्नथ्यो । खाजाका रूपमा चार पिस पाउरोटी र एक गिलास दूध खाइन्थ्यो । दुई रुपैयाँ कप दूध र एक-डेढ रुपैयाँमा ४/५ पिस पाउरोटी मिल्थ्यो । त्यति खाएपछि टन्न हुइन्थ्यो ।
साथी प्रशस्त बनाइन्थ्यो । स्कुलका साथीहरू- शरण वज्राचार्य, लछिमन, अशोक वज्राचार्य, रमेश श्रेष्ठ आदि हुन् । यता टोलमा पनि धेरै साथी बनाइएको थियो । टोलका साथीहरू- किरण चित्रकार, श्याम मल्ल, सुधीरबाबु खत्री, पुरुषोत्तम डंगोल आदि हुन् । टोलका साथीसँग हरेक बिहान फुटबल खेल्न छाउनीसम्म पुगिन्थ्यो ।
त्यसबेला सजाय दिने चलन थियो । गृहकार्य नगर्दा सरहरूले उठाएर राखिदिनुहुन्थ्यो । कक्षामा निदायो भने त बेन्चमा उभिनुपर्थ्यो । शान्ति निकुञ्जमा छात्राहरू पनि थिए । केटीका अगाडि कुनै सजाय पाउनु ठूलो बेइज्जती हुन्थ्यो । त्यसबेला हामी धेरै मर्यादित थियौं । केटा र केटीहरू भिन्नाभिन्नै हिँड्थ्यौं ।
ठिमीमा हुने सबैजसो जात्रामा जान्थें । अहिले पनि समय हुँदा पुग्छु । आफ्नो परम्परा त छोड्न मिल्दैन नि ।
मखनटोलमा एकता थियो । एउटा घरमा आगो बालेपछि घर-घर सार्दै आगो लगिन्थ्यो । बेसार कसैले किन्दैनथ्यो । त्यो किन्ने चीज हो भन्ने थिएन । आफूकहाँ भयो भनेर बाँडिन्थ्यो । चोक-चोक एउटा परिवारजस्तो हुन्थ्यो । हामी वरपरका ८/९ मा गएर खेल्थ्यौं । खान्थ्यौं ।
ठिमीमा हुँदा म खेतमा जान्थें । धान रोप्न र काट्न सघाउँथे । पराल बोक्थें । धेरै त काम गरिएन । खेतमा माछा मारिन्थ्यो । अहिले त खोलामा फोहोर पानी बग्छ ।
मैले मखनमा पसल बसेर टाइचिनको एक पाथी चिउरा ६ रुपैयाँ, अदुवा पाउको ५/६ पैसा, खुर्सानी धार्नीको ७/८ रुपैयाँमा समेत बेचें ।
हाम्रो उसबेला नै काठमाडौं-ठिमी चल्ने लरी थियो । त्यो मान्छे बोक्ने होइन, सामान बोक्ने थियो । हामी सामानमाथि बसेर यात्रा गर्थ्यौं । काकाले लरी चलाउनु हुन्थ्यो । लरीको नम्बर ३५ थियो ।
बालक छँदा मलाई जिम्मेवारी थियो । पसलमा बस्नुपर्थ्यो । मेरो उमेरका साथीहरू खेल्थे । अरूको जस्तो खेल्न पाइँन । त्यसबेला ‘मैले यो फिलिम यतिपटक हेरें’ भनेर फुर्ती लगाउँथे । मैले त्यस्ता फुर्ती लाउने अवसर पनि पाइँन । पैसा प्रशस्त भए पनि बालापन थिएन । एउटा बालकमाथि व्यवसायको भारी थियो ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६५ मंसिर २७ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<