रामहरि गुरुङ सानो छँदा

झ्यालबाट त्यो भीड देखियो

रामहरि गुरुङ संगीतका ओस्ताद (उस्ताद) हुनुहुन्छ । उहाँले संगीतको सेवा गरेको करिब ६५ वर्ष भएको छ । उहाँको जन्म वि. सं. १९८४ साल भदौ १२ गते आइतबार ललितपुरको धोबिघाटमा भएको हो । रामहरिका पिताको नाम बैकुण्ठ र माताको नाम वसन्तमाला हो । उहाँहरू दुई दाजुभाइ र एक बहिनी जन्मनुभएको हो । रामहरि जेठो छोरा हो । देश-विदेशी गरेर सयौं संगीतका चेलाचेली बनाइसक्नुभएको छ । उहाँसँग संगीत सिक्न आएका मानिस इन्डोनेसिया, स्पेन, भारत, जापान, स्विडेन, अष्ट्रेलिया, क्यानडा आदिका छन् । तबला, बाँसुरी, हार्मोनियम, गीतार आदि जे पनि बजाएर मन तान्न सक्ने रामहरिले करिब २६ वर्ष भारतमा बिताउनुभएको छ । १८ वर्षको उमेरमा विवाह गरेपछि भारत पसेका गुरुङ नेपाल फर्कनेबित्तिकै रेडियो नेपालमा जागिरे हुनुभयो । रेडियो नेपालमा करिब २६ वर्ष सेवा गरेपछि अहिले फुर्सदमा हुनुहुन्छ । उहाँका धेरै सिर्जना रेडियो नेपालमै छन् । दर्जनौं पुरस्कार र सम्मान पाएका रामहरि सानो छँदाका केही सम्झना :
आमा पूर्व रुम्जाटारबाट आउनुभएको हो । चन्द्र शमशेरका पालाको कुरा हो । उहाँ राणाको दरबारमा गीत, संगीत सिकाउने गुरुमा हुनुहुन्थ्यो । नाटक देखाउने टोलीमा सबैजसो महिला मात्र हुन्थे । एक जना ओस्ताद बालाप्रसाद पुरुष हुन्थे । आमाको राम्रो स्वर भएकाले बालाप्रसादले आमालाई यस क्षेत्रमा लाग्न प्रेरणा दिएका थिए । आमाको यो चासो मेरो गुरु बन्यो ।
दश वर्षकै उमेरमा मैले पनि आमाबाट ‘सारेगम..’ सिके । २/४ वटा भजन पनि गाउन थालें ।
यसैबीच मेरो पढाई पनि चल्थ्यो । म पाटन हाइस्कुल जान्थे । म १२ वर्षको भएपछि बुबा बित्नुभयो । त्यसपछिका २/३ वर्ष त म जेनतेन स्कुल गएँ । त्यसपछि जान पाइनँ । मैले उसबेलाको ‘फोर्थ स्टान्डर्ड’ सम्म पढें । त्यसपछि मेरो पढाई रोकियो ।
मेरो बाल्यकाल धोबिघाटमा नै बित्यो । त्यहाँ राम मन्दिर छ । उसबेला त्यहाँ बिहान-बेलुका भजन-किर्तन हुन्थ्यो । नाम चलेका राम्राराम्रा उस्तादहरू आउँथे । भजन-किर्तन गाउँथे । स्कुल नभएपछि म बिहान-बेलुकै त्यहाँ पुग्थें । भजन-किर्तन सुन्दा र अलिअलि लयमा लय मिलाउँदा मलाई राम्रो अभ्यास भयो ।
म १५ वर्षको भएपछि ‘ध्रुपद धमार’ गाउने स्थानीय काजी साहेबले मेरो गायन सुन्नुभएको थियो । उहाँले मलाई, ‘यो ठिटो राम्रो गाउँछ । तबला राम्रो बजाउँछ,’ भनेर संगीतशिरोमणि गणेशलाल श्रेष्ठको घर, सानेपा लिएर जानुभयो । काजी साहेबले संगीतशिरोमणि श्रेष्ठलाई, ‘तिम्रो जे इच्छा छ, त्यहि सिकाइदेऊ’ भनेर फर्कनुभयो । म त्यसपछि संगीतशिरोमणि श्रेष्ठका घरमा सधैं जान थालें । उसबेला गुरुलाई केही दिनुपर्दैन थियो । उहाँको सेवा गर्नुपर्थ्यो । उहाँ गाँजा खानुहुन्थ्यो । त्यो राम्रो बानी त होइन । तर गाँजा किन्न काठमाडौं जानुपर्थ्यो । आठ आनामा एक तोला आउँथ्यो ।
संगीत भनेपछि उहाँ अनौठो स्वभावको हुनुहुन्थ्यो । उहाँ उत्तिको आँखा देख्नुहुन्न थियो । त्यसो भएपछि रात न दिन केही थाहा नहुने । एकपटक उहाँ एक बजे राति उठ्नुभयो र ‘ल आज वज्रवाराही जाने,’ भन्नुभयो । उहाँका सबै चेलाले बजाउने बाजा बोक्यौं र हामी हिड्यौं । त्यसबेला कृष्णनारायण श्रेष्ठ- जलतरंगवादन, कुमारलाल श्रेष्ठ- गायन तथा पं. कृष्णदत्त र म- तबला बजाउने थियौं । एक घण्टा हिडेंपछि सुनाकोठी पुग्यौं । उसबेला बाटा थिएनन् । खेतका आली-आली हिंड्नुपर्थ्यो । त्यहाँ पुगेपछि ओस्तादले एउटा घरको ढोकामा ढकढक पार्नुभयो । अग्लो घर थियो । माथि झ्यालबाट हेरेर ती महिलाले चिनिन् र बोलाइन् । हामी घरभित्र गयौं र एउटा कोठामा बसेर बाजा बजाउन थाल्यौं । हामीले राग विहाग बजाएका थियौं । डेढ घण्टा बजाएपछि गुरुले रोक्नुभयो । हामीले पनि रोक्यौं । म थुक्न भनेर झ्यालतिर लम्कदा त आँगनमा डेढ सय मानिस भेला भएका रहेछन् । त्यस्तो सुनसान गाउँमा अध्यारो रात त्यस्तो बाजा बजेको सुनेर सबै सुन्न आएका रहेछन् । यो थाहा पाएर गुरुले फेरि बजाउन थाल्नुभयो । बजाउँदाबजाउँदै ३:३० बज्यो । त्यसपछि हामी चापागाउँतिर लाग्यौं । त्यहाँ गुरुका अर्का चेला बद्रि श्रेष्ठ रहेछन् । त्यहाँ २/३ दिन बस्यौं । बज्रवाराहीमा बिहान-बेलुका भजन गर्थ्यौं ।
धोबिघाटमा ओस्ताद जितबहादुर श्रेष्ठ मेरा साथी थिए । उनी जेठा भए पनि धेरैजसो ठाउँमा हामी साथै हुन्थ्यौं । उनलाई जहाँ निम्तो आए पनि मलाई लिएर जान्थे । एकपटक चोभारबाट एउटा साथीले बिहामा बोलायो । हामी ४ बजे हिड्यौं । त्यस्ता बेलामा संगीत बजाएवापत २/४ रुपैयाँ मिल्थ्यो । चोभार पुगेपछि हामीलाई जन्ति जाने ठाउँ टिकाभैरव हो भन्ने थाहा भयो । दुलाहाले हार्मोनियम र तबला उतै भएको बतायो । जन्ति हिड्नुअघि हामीलाई एउटा-एउटा कसार र सेल, अनि अलिकति चिउरा दिएको थियो । कसार र सेल त निकै चाम्रा रहेछन् । ढुंगाले हानेर फुटाउनु परेको थियो । पाँच बजे जन्ति हिड्यो । टिकाभैरव पुग्दा निकै राति भएको थियो । रातो माटोले लिपेको, झ्यालमा रंग लगाएको पराले घर थियो । हामी पुगेको एकछिनमा, ‘जन्तिलाई भत्यार तयार छ’ भने । हामी त हिंडेर थाकेका थियौं । १ सय २५ जन्ती मौरीको गोलो खनिएझैं भत्यार भएतिर गयौं । बारीमा भत्यार तयार रहेछ । बारी पनि खनेको तर डल्ला नफुटाएको थियो । यसो तीनवटा डल्लामाथि एउटा टपरो राख्या थियो । त्यसमा भात, भातमाथि अलिकति रायोको साग । हामी भोकले चुर भएका थियो । दाल आइपुग्दा नआइपुग्दै आधाभन्दा बढी त सकिइसकेका थियौं । भात काँचो थियो । भोकको झोकमा केही नभनी गमगम खाइयो । पेट भरेपछि जग्गेमा फर्क्यौं । त्यहाँ शिलोक (श्लोक) भनिरहेका थिए । खाँडो जगाउने भन्थे । शिलोक सुनेपछि हामीले दुलाहालाई सोध्यौं । दुलाहाले, ‘गाना बजाना त हुँदैन होला? ‘ भने । त्यसपछि हामी सुत्ने तरखरमा लाग्यौं । गाउँमा थोरै घर थिए । त्यति धेरै जन्तिले घरमा सबै पिढि भरिएका रहेछन् । बल्ल एउटा घर फेला पर्‍यो । अलि लामो पिढि भएको । त्यहाँ ढिकी रहेछ । ढिकीको कुनामा लाम्चो पारेर गुन्द्रीले छेकेर धुस्नो राखिएको रहेछ । हामी त्यहि धुस्नोमा पसेर सुत्यौं । धुस्नो ओड्यौं र मुहारमात्र देखाएर सुतेका थियौं । अढाई बजेतिर जितबहादुरको कानमा केही कुराले टोक्यो । हामीलाई चिन्ता भयो । सर्प हो की भन्ने भयो । सलाई बालेर हेरेको त सानो मुसा रहेछ । कानबाट रगत बगेको थियो । त्यसपछि निद्रा लागेन । बिहान उठेर धुस्नो टकटक्यायौं । जितबहादुरले भन्नुभयो, ‘हेर बाबु हामी आजबाट धुस्ने ओस्ताद ।’ त्यसपछि दुलाहालाई भेट्यौं । गाजा-बजाना भएन । दुलाहाले हामी दुवैलाई एक-एक रुपैयाँ दिए । हामी त्यहाँबाट हिड्यौं । नख्खु आएर मज्जाले खाजा खाएर ११ बजे घर आइपुग्यौं । यस्ता रमाइला घटना धेरै छन् ।
मैले थाहा पाउँदा पाँच पैसामा एक माना चिउरा आउँथ्यो । २/३ पैसामा कुखुराको अण्डा आउँथ्यो । आमाले मलाई पाँच पैसा दिएर एक-एक पैसाको नुन, तेल, ध्यू, बेसार र जिरामरीच ल्याउनु भन्नुहुन्थ्यो ।
मलाई सानोमा जावलाखेलको जेरी (जुलेबी), मालपुवा, पेडा खुब मनपर्थ्यो । चाडपर्वमा दशैं रमाइलो हुन्थ्यो । नयाँ लुगा हालिदेऊ भनेर बुबाआमाले खुब दुःख दिइन्थ्यो । त्यसबेला हामी दौरा-सुरुवाल लाउथ्यौं । बुबाले रानीपोखरी पुगेर बरौल-भेडो ल्याउनुहुन्थ्यो । एउटा भेडा १२ रुपैयाँमा आउँथ्यो । भेडा ल्याउनेलाई ऊन, खुट्टा र टाउकोको केही मासु फाइदा हुन्थ्यो । अरु १२ भाग लाएर बेचिन्थ्यो । एक रुपैयाँमा एक पाथी मासु लिन मान्छे पाथी लिएर आउँथे । दशैंमा पिङ बिहान-बेलुकै खेलिन्थ्यो । दशैंपछि तिहार रमाइलो हुन्थ्यो । अनि जावलाखेलमा भोटो देखाउने जात्रा रमाइलो हुन्थ्यो । राणाहरूले जात्राको ४/५ दिनअघि जुवा खेल्न छुट दिन्थे ।
म सानोमा भोगटे वा फाटेका कपडाको पोकोको भकुन्डो बनाएर खेल्थे । गुच्चा पनि खेलिन्थ्यो । यसरी नै रमाइलो गरेर बाल्यकाल बितेको थियो ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६५ मंसिर ६ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<