बाराक ओबामा सानो छँदा

सानोमा बेरी

बाराक ओबामा दोस्रो अमेरिकाको राष्ट्रपति निर्वाचित हुनुभएको छ । उहाँको पूरा नाम बाराक हुस्सेन ओबामा हो । केन्याली मूलका बाबु र अमेरिकी आमाका छोरा तथा अश्वेत नेता ओबामा अमेरिकाको इतिहासमा राष्ट्रपति पदमा निर्वाचित भएको यो पहिलो घटना हो । यो चुनावमा बाराक ओबामाले ५२ प्रतिशत मत पाउनुभयो भने भने विपक्षी जोन मक्केनको पक्षमा ४७ प्रतिशत मत परेको थियो ।
बाराक ओबामा जुनियरको जन्म सन् १९६१ अगस्त ४ मा भएको हो । गत १९ गते राष्ट्रपतिमा निर्वाचित ओबामाले आउँदो जनवरी २० देखि ४४ औं राष्ट्रपतिका रुपमा कार्यभार सम्हाल्नुहुनेछ । उहाँ इलिनोय राज्यका सिनेटर हुनुहुन्छ । अमेरिकाको राष्ट्रपति निर्वाचित हुने उहाँ पहिलो अश्वेत हुनुहुन्छ । धेरै पहिले अमेरिकामा काला जातिका मानिसलाई दासदासी राखिन्थ्यो । उनीहरूको किनबेच हुन्थ्यो । काला जातिका मानिसका मानिस बेचिनेदेखि राष्ट्रपतिसम्म पुग्नु ठूलो उपलब्धि हो । ठूलो प्रजातन्त्र अमेरिकाको सुन्दरता पनि यहि हो । डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपति बनेका ओबामाले कोलम्बिया युनिभर्सिटि र हार्भर्ड ल स्कुलबाट स्नातक गर्नुभएको छ ।
ओबामाको जन्म हवाई राज्यमा भएको हो । उहाँका पिता केन्या मूलका बाराक हुस्सेन ओबामा सिनियर हुनुहुन्थ्यो । उहाँकी आमा अमेरिकाकी एन्न डन्हाम हो । पिता काला जाति र आमा गोरा जातिको हो । बाराक दुई वर्षको भएपछि सन् १९६४ तिर पिता र माताले छुट्टाछुट्टै बस्ने निधो गर्नुभयो । त्यसपछि बाराकका पिता केन्या फर्कनुभयो । आमाले इन्डोनेसियाका लोलो सोयटोरोसँग अर्को विवाह गर्नुभयो । उहाँ पनि आमाको अर्को परिवारसँग इन्डोनेसिया जानुभयो ।
जन्मेको एक महिनामा छाडेर गएका बाबुसँग ओबामा अलि ठूलो भएपछि एक पटक मात्र भेट भएको थियो । बाराकका जन्मदिने पिताको सन् १९८२ मा गाडी दुर्घटनामा निधन भयो ।
बाराक दश वर्षको हुन्जेल इन्डोनेसियामै बस्नुभयो । त्यसपछि आमापट्टिका हजुरबुबा स्टानले र हजुरआमा मेड्लिनसँग बस्न होनोलुलु (हवाई राज्य) फर्कनुभयो । उहाँ सन् १९७१ मा पुनाहौ स्कुलमा कक्षा ५ मा भर्ना हुनुभयो । सन् १९७९ मा स्नातक तह (बीएबराबर) सक्नुभयो ।
बाराककी आमा सन् १९७२ मा हवाई फर्कनुभयो । सन् १९७७ सम्म त्यहि बसेर इन्डोनेसिया फर्कनुभयो । इन्डोनेसियामा उहाँ मानिसको उत्पत्ति र सामाजिक सम्बन्धबारे अध्ययन गर्नुहुन्थ्यो । त्यसपछिको बाँकी समय एन्नले इन्डोनेसियामै बिताउनुभयो । सन् १९९४ मा हवाई त फर्कनुभयो । एक वर्ष नबित्दै उहाँको निधन भयो ।
सधैं हाँसिरहने ओबामाले सन् १९९२ मा मिचेलसँग विवाह गर्नुभयो । उहाँहरूका दुई छोरीहरू : मालिया (जन्म: सन् १९९८) र साशा (जन्म : सन् २००१) छन् ।
ओबामाको वाल्यकालका धेरै दिन हजुरआमासँग बित्यो । उहाँ जीवनमा सबभन्दा बढीनजिक पनि हजुरआमाकै हुनुहुन्थ्यो । तर उहाँ राष्ट्रपति भएको खबर सुन्न दुई दिन बाँकी हुँदा हजुरआमाको निधन भयो । ‘कसरी सपना देख्ने र कडा परिश्रम गर्ने भन्ने मैले आमा र हजुरआमाबाट सिकेको हुँ,’ भन्ने ओबामाले हजुरआमा-हजुरबुबा दुवै जना आफ्नो जीवनको ‘पथ प्रदर्शक’ भएको बताउनुहुन्छ ।
नाममा हुस्सेन भए पनि उहाँ इसाइ धर्म मान्नुहुन्छ ।
स्कुले जीवनमा ओबामा बास्केटबलको राम्रो खेलाडी हुनुहुन्थ्यो । अझै पनि राम्रो खेल्नुहुन्छ । स्कुल पढ्दा खराब साथीहरूको संगतले ओबामा लागूऔषध प्रयोग गर्नुहुन्थ्यो । पछि यस्तो बानी छाड्नुभयो ।
बाराकलाई सानोमा ‘बेरी’ भनेर बोलाइन्थ्यो ।
बाराक ओबामाले थुप्रै पुस्तक पनि लेख्नुभएको छ ।
उहाँ राष्ट्रपति भएर ह्वाइट हाउसमा बस्नु जानुअघि इलिनोय राज्यमा बस्नुहुन्छ ।
उहाँले राजनीति गर्न थालेको १७ वर्षमात्र भएको छ । यति चाँडो विश्वकै प्रभावशाली नेता हुनुपुग्नुभएको छ ।
(प्रस्तुति : राजेश कोइराला, स्रोत/तस्बिर : विभिन्न एजेन्सी, २०६५ कात्तिक २९ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<