नरहरि शर्मा सानो छँदा

करफोकको कवि सम्मेलन

नरहरि शर्मा अधिकारी इलाम जिल्लाका चार माध्यमिक विद्यालयमा प्रधानाध्यापक हुनुभयो । शिक्षक र प्रधानाध्यापक भई करिब ४० वर्ष शिक्षाको सेवा गर्नुभयो । उहाँले नाम्सालिङ मावि, बौद्धधाम मावि र सरस्वती मावि (लक्ष्मीपुर) मा प्रधानाध्यापक भई काम गर्नुभयो । उहाँ करफोक उच्च माध्यमिक विद्यालयमा सहशिक्षक भई पनि ५ वर्ष काम गर्नुभयो । उहाँको जन्म १९९७ साल मंसिरमा इलामको माघेमा भएको हो । पिता खडानन्द र माता पुण्यकुमारीदेवीका तीन सन्तान जन्मे । उहाँहरू दुई दाजुभाइ र एक बहिनी जन्मनुभएको हो । स्थानीयस्तरमा कविता, कथा, नाटक लेख्नुभएको छ । जिल्लास्तरमा सम्मान र पुरस्कार पाउनुभएको छ । यसपटक शर्मा सानो छँदाका केही सम्झना :
म २६-२७ जना सदस्य भएको परिवारमा जन्मेको हुँ । म मध्यम वर्गको परिवारमा हुर्केको हुँ । त्यसैले हातखुट्टा लागेदेखि नै घरका सानातिना काम गर्नुपर्थ्यो । हामीजस्ता सबै सानाले काम गर्थ्यौं । ठूला बडाहरूसित गाईवस्तु चराउन जानुपर्थ्यो । आलु रोप्ने सिजनमा अरूले खनेको ठाउँमा आलुको बीउ हाल्नुपर्थ्यो । आलु रोप्न कम्तीमा तीनजना चाहिन्छ ।
हिउँदे बिदा र अरू बेला मकै भाँचेर ल्याउन सघाउँथ्यौं । मकैका झुत्ता पार्थ्यौं । मकै सहर्‍याउँथ्यौं । मकै खेतीबाहेक अलैंची बारीमा पनि काम गर्नुपर्थ्यो ।
ठूलो परिवार भएकाले दसैं रमाइलो हुन्थ्यो । सबै एकै ठाउँमा भेला हुन्थ्यौं । दही-चिउरा हाम्रा लागि पापा हुन्थ्यो । दसैंपछिको तिहार भने उत्तिको रमाइलो हुँदैनथ्यो ।
हाम्रो परिवार पढ्ने-पढाउने काम अघिल्ला पुस्तादेखि थियो । मेरा बडाबाले संस्कृतमा पण्डित्याइँ हासिल गर्नुभएको थियो । उहाँले अंग्रेजीको सामान्यज्ञान पाउनुभएको थियो ।
नियमित स्कुल जाने र पढ्ने चलन थिएन । शिक्षाको उत्तिको विकास भएको थिएन । धेरै पढ्नलाई बाहिर जानुपर्थ्यो ।
म आठ वर्षको हुन्जेल दिगो पढाइ हुन सकेन । गाउँको पाठशालामा केही समय गएबाहेक अरू स्कुल देख्न पाएको थिइनँ ।
२००५ साल अत्यतिरको कुरा हो । मलाई घरदेखि झन्डै ६ किमि टाढा फिक्कल बजारस्थित चन्द्रमोहन मिडिल स्कुलमा भर्ना गरियो । म त्यही स्कुलको कक्षा ३ मा पढ्दै गर्दा २००७ सालको क्रान्ति सुरु भयो । सरहरू रातारात मुक्तिसेनामा भर्ना हुनुभयो । हाम्रो पढाइ रोकियो । हामी विद्यार्थी घर बस्न बाध्य भयौं । यसो गर्दा पढाइ त भएन । घरकै काममा लाग्यौं ।
क्रान्ति सकिने बित्तिकै घरनजिकै करफोकमा मिडिल स्कुल खुल्यो । त्यो लामो टहरो बनाएर चलाइएको स्कुल थियो । उक्त स्कुल महानन्द सापकोटा, नरेन्द्रनाथ बास्तोला आदिले खोल्नुभएको थियो । उहाँहरू राणा-कांग्रेसको दिल्ली सम्झौताको विरोधी हुनुहुँदो रहेछ । त्यसैले उहाँहरूले पूर्वका केही भागलाई स्वायत्त रूपमा काम गर्न थाल्नुभएको रहेछ । स्कुल आफैं चलाउने काम पनि त्यसरी नै भएको हो । त्यही खरले छाएको टहरामा पढ्दाका केही संस्मरण छन् ।
हाम्रा सर दार्जिलिङतिरका काम खोज्ने युवकहरू हुनुहुन्थ्यो । सरले पढाउनेभन्दा विद्यार्थीलाई शारीरिक दण्ड दिन चाख लिएको पाइन्थ्यो । पिटाइ खुब खानुपर्थ्यो । जातका आधारमा पक्षपात गर्ने प्रवृति पनि थियो । पारसमणि प्रधानले दार्जिलिङकै निमित्त तयार पारेका पाठ्यपुस्तक हामीलाई पढाइन्थ्यो । ती पुस्तक ती सरहरूलाई कष्ठस्तै थिए । त्यसबेला ब्रीटिश-भारतको मुद्रा (पैसा) चल्थ्यो ।
हामी त्यही कटेरामा पढ्दा करफोकको बृहत् कवि सम्मेलन भयो । दार्जिलिङे पाठ्यपुस्तक पढेका हामीले कविशिरोमणि लेखनाथ पौडयालबाहेक अरूका नाम पनि कमै सुनेका रहेछौं । तर पनि हेडसर कमल पराजुलीले कविहरूको परिचय दिएर उहाँहरूप्रति हाम्रा मनमा श्रद्धा जगाई दिनुभएको थियो ।
उक्त कवि सम्मेलन भेला जस्तो भयो । वास्तवमा उक्त भेला पाठ्यक्रमको रूपरेखा तर्जुमा गर्न भएको रहेछ । यही अवसरमा कविशिरोमणिले भवन शिलान्यास गर्नुभयो । भवन निर्माण भएपछि उद्घाटन गर्न तत्कालीन युवराज महेन्द्र करफोक पुगेका थिए । महेन्द्रसँग हामीले नामै नसुनेका धर्मराज थापा त्यहाँ गएका थिए । थापाले विभिन्न रमाइला गीत गाएर रमाइलो पारेका थिए । थापाले नेपाली झ्याउरेलाई दुनियाँका दृष्टिमा आदर र उच्च स्थान दिलाए । नत्र भने झ्याउरे त उत्तिको गतिलो ठानिदैनथ्यो । यो २०१० साल जेठ १० गतेको कुरा हो ।
पछि विद्यालयमा नयाँ शिक्षकहरू आउनुभयो । उहाँहरूले वादविवाद प्रतियोगिता, साहित्यिक गोष्ठी, सांस्कृतिक कार्यक्रम, खेलकुद प्रतियोगिता, नाटक मञ्चन आदि गराउनुहुन्थ्यो । पढाइबाहेक हामीलाई अतिरिक्त क्रियाकलापमा समेत अभिरुचि जगाइदिनुभएको थियो ।
साहित्यिक लेखनमा तत्कालीन प्रधानाध्यापक नारायणबहादुर सिंहले मलाई धेरै हौसला दिनुभएको थियो । तर उहाँको हौसला नपाएपछि मैले केही लेखिनँ ।
स्कुल पढ्दाका मेरा सरहरू- नारायणबहादुर सिंह, इन्द्रबहादुर राई, शिवानन्द उपाध्याय, खगेन्द्रनाथ शर्मा, तारानाथ शर्मा, माधव भण्डारी हुनुहुन्थ्यो । साथी डा. गुरु बराल, डा. टीकाराम शर्मा हुन् । मैले पढाएका विद्यार्थी लोकनारायण सुवेदी, भीम सुवेदी, डा. दुर्गा पौड्याल (सिर्डाप नामक दक्षिण एसियाली संस्थाका प्रमुख हुने पहिलो नेपाली), भवानीशंकर सुवेदी, समीरा लुइँटेल, उदय निरौला, प्रेम नेपाल आदि हुन् ।
स्कुल पढ्दा म खेलकुदमा त्यति सहभागी भइनँ । एकपटक फुटबल खेल्ने कोसिस गरें तर सकिनँ । फेरि त खेल्दै खेलिनँ । सांस्कृतिक कार्यक्रम हुँदा म हँसाउने विधामा हुन्थें ।
रूख चढ्न मनपर्थ्यो । रूखका टुप्पामा पुग्ने त बहादुर नै ठहर्थ्यो । म क्यामुना र अम्बकको रूख चढ्थें । कहिलेकाही स्कुल नगएर खेल्नलाई भाग्थ्यौं । भागेको चाल पाएपछि त घरमा र स्कुलमा दुवैतिर चुटाइ खाइन्थ्यो ।
एकजना सरले मलाई ‘यु आर होपलेस, आइ एम हेल्पलेस’ भन्नुभयो । खगेन्द्रनाथ शर्मा मेरा दाइ पनि हुनुभएकाले अंग्रेजी धेरै सिकाउनुभयो । उहाँले सुरुमा मलाई बोलाउनुभयो । पछि आफैं आएर सिकाउनुभयो । अनि म होपलेस रहिनँ ।
मैले २०१५ साल करफोक उच्च माविबाट एसएलसी दिएँ । हाम्रो परीक्षाकेन्द्र इलाम हाई स्कुलमा परेको थियो । पास थर्ड डिभिजनमा भइयो । फर्स्ट डिभिजन त एकदम कम आएको सुनिन्थ्यो । सेकेन्ड डिभिजनमा पास हुने गतिलै मानिन्थ्यो । म त स्कुलमा मध्यम खालको विद्यार्थी थिएँ । जस्तो रिजल्ट आयो, ठीकै हो ।
हाई स्कुल पढ्दा छात्रा कम थिए । एसएलसी दिँदा ३ जना थिए । दुई जनामात्र पास भए । छोरीलाई पढाउनुपर्छ भन्ने चेतना अलिअलि फैलन थालेको थियो । इलामले दार्जिलिङबाट सिक्दै थियो ।
इलामको माइबेनी (माई र जोगमाई खोलाको संगम) मा मेला लाग्छ । हामीलाई पनि त्यो मेला रमाइलो विषय हुन्थ्यो । त्यहाँ विशेष गरी माघे संक्रान्तिमा मेला लाग्थ्यो ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६५ जेठ २४ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<