कविता भन्दै-सुन्दै २० किलोमिटर
होमबहादुर क्षेत्री पेट्रोलियम इन्जिनियर हुनुहुन्छ । उहाँ खाडी राष्ट्र- कुवेतमा दस वर्षदेखि पेट्रोलियम इन्जिनियरका रूपमा काम गर्दै आउनुभएको छ । उहाँको जन्म सन् १९५७ अगस्त ६ मा भारतको आसाम राज्यको डिगबोईमा भएको हो । उहाँ जमानसिंह र अभि क्षेत्रीका साहिला छोरा हुनुहुन्छ । उहाँहरू पाँच भाई र पाँच दिदीबहिनी जन्मनु भएको हो । उहाँले पेट्रोलियम इन्जिनियरिङमा बीटेक र एमटेक गर्नुभएको छ । ती दुई तहपछि उहाँले नर्वेबाट ‘पेट्रोलियम अन्वेषण’ मा प्री-डक्टरल डिप्लोमा र शोध गर्नुभएको छ । नर्वे अध्ययनमा उहाँले डेढ वर्ष बिताउनुभएको हो । भारतको तेलसम्बन्धी संस्था ओएनजीसी र आइओसीको उच्च पदमा १५ वर्ष बिताउनुभएको छ । भारतमा धेरै पुरस्कार पाउनुभएको छ । उत्तरी कुवेतका तेल भण्डारको विस्तार र दीर्घकालीन राष्ट्रिय योजना बनाउने दलका प्रमुख हुनुहुन्छ । उहाँसँग ट्युनिसिया र मोरक्कोमा तेल खानी खोज्न काम गरेको अनुभव छ । कुवेतमा पनि धेरै पटक पुरस्कृत हुनुभएको छ । इन्जिनियर भए पनि उहाँ साहित्यमा रूचि राख्नुहुन्छ । उहाँका दुई हस्तलिखित कृति : ‘आकाररहित’ (कवितासंग्रह) र ‘मेरा कविताहरू’ (कवितासंग्रह) थिए । अन्य पुस्तक : ‘पर्खौं हामी’ (कवितासंग्रह), ‘मृगतृष्णाको नदी’ (कवितासंग्रह), ‘क्षितिज हराएको छैन’ (कथासंग्रह) र ‘युद्धान्त’ (कथासंग्रह) हुन् । उहाँले मञ्जरी, जूनकीरी, अंकुर, चयनिका, सहिद स्मारिका, स्पेक्ट्रम आदि हिन्दी, नेपाली र अंग्रेजी पत्रिकाको सम्पादन गर्नुभएको छ । यसपटक क्षेत्री सानो छँदाका केही सम्झना :
हाम्रो पुर्ख्यौली थलो पर्वत जिल्लाको लिमी हो । रोजगारीको सिलसिलामा बुबा भारतको आसाम पुग्नुभएको हो । त्यहि मेरो जन्म भएको हो । बुबा पनि तेल कम्पनीमा काम गर्नुहुन्थ्यो ।
सानो छँदाको नेपाल अनुभव छ । सन् १९६२ मा भारत-चीन युद्ध भयो । परिवारको रक्षाका लागि बुबाले सबैलाई पर्वत ल्याएर छाड्नुभयो । आफू जागिरमा फर्कनुभयो । यहि बेला आमाले मलाई स्थानीय एक स्कुलमा पठाइदिनुभयो । स्कुल त खेतको गरामा थियो । कक्षामा नयाँ मान्छे आएपछि सोधखोज भयो । मेरा बारेमा गुरुले धेरै थाहा पाउनुभयो । मलाई दुई एकान दुई, दुई दुना चार …..आउँथ्यो । मलाई बीचमा उभ्याईदिनुभयो । मैले भनेपछि सबैले दुई एकान दुई, दुई दुना चार…. भन्न थाले । गुरु जानुभयो र एकैपटक साँझमा फर्कनुभयो । दिनभर मैले पढाउनु परेपछि भोलिपल्टदेखि म त्यो स्कुल गइन ।
भारत-चीन युद्ध सकिएपछि हामी आसाम फर्क्यौं । म आयल इन्डिया हाइयर सेकेन्डरी स्कुलमा पढ्न थालें । कक्षामा म सधैं प्रथम हुन्थें । एकपटकको कुरा हो । हामीलाई दिने सर्टिफिकेटको हुबहु हातले उतारें । त्यो छापाजस्तै थियो । मेरा अक्षर असाध्यै राम्रा भएकाले प्रिन्सिपलले सक्कली र नक्कली छुट्याउनुभएन । स्याबास दिनुभयो ।
परीक्षामा पनि सबै प्रश्नको उत्तर लेख्दा एक घण्टामात्र सक्थें । मेरो उत्तरपुस्तिका लिएर सर कक्षाकक्षामा घुम्नुहुन्थ्यो र सबैलाई देखाउँदै भन्नुहुन्थ्यो, ‘विद्यार्थी भनेको यस्तो हुनुपर्छ ।’ त्यो बेला त्यति थोरै समयमा उत्तर लेखिसक्ने कोही थिएन ।
एकपटक भूगोलको परीक्षा थियो । शिक्षक आउनुभयो । कालोपाटीमा प्रश्न लेख्न थाल्नुभयो । प्रश्नमा भारतको नक्शा कोरेर त्यसमा विभिन्न ठाउँ देखाउनु पर्ने थियो । सरले प्रश्न लेखिसक्दा मैले पनि नक्शा कोरेर ठाउँ देखाइसकेको थिए । यसका लागि दुई मिनेट लाग्यो होला । सरले पत्याउनु भएन । हो पनि प्रश्न लेखेर हात पुछ्दै गर्दा सकिएपछि सर अचम्ममा पर्नु स्वभाविक हो । सरले भन्नुभयो, ‘तिमीले घरमा नक्शा कोरेर ल्याएका हौं । अनि ठाउँमात्र यहाँ देखाएका हौं ।’ मैले फेरि २ मिनेटमा गरेर देखाए । मलाई भूगोल असाध्यै मनपर्ने विषय थियो ।
हाम्रो पालामा स्कुल तह पूरा गर्दा एचएसएलसी हुन्थ्यो । एचएसएलसी भनेको नेपालको एसएलसीबराबर हो । म भूगोलमा जान्ने भएकाले त्यसमा नै एसएलसीमा सबभन्दा धेरै नम्बर आयो । गणितमा कम आएको हो । हाम्रो पालामा एसएलसीमा विभिन्न आठ विषय थिए । भूगोल, गणित, संस्कृत, हिन्दी, इतिहास, ऐच्छिक गणित आदि गरी ८ सय पूर्णाङ्कको उक्त परीक्षामा मैले ८३ प्रतिशत नम्बर ल्याएँ । म आसामको उक्त एचएसएलसी बोर्डमा तेस्रो भएँ । मैले पढेको स्कुलमा राखिएको सिंहमर्मरमा उच्चकोटीका विद्यार्थीको सूचीमा मेरो नाम पनि छ ।
त्यहाँ नेपाली समुदायको बस्ती भए पनि मसँग पढ्ने धेरै नेपाली साथी अघिबढ्न सकेनन् । कक्षा ६/७ सम्म ३० देखि ४० प्रतिशत नेपाली थिए । त्यसपछि अंग्रेजीमा पढाई हुन्थ्यो । मेरा धेरैजसो ती साथी हिन्दी माध्यममा पढाई हुने स्कुल गए । म चाहिं अंग्रेजी माध्यममै बसें ।
कक्षा ६/७ मा पढ्दा स्कुलमा हातले लेखेर पत्रिका निकाल्न थालियो । ‘मञ्जरी’ नामक उक्त हिन्दी पत्रिकाको सम्पादक म नै भएँ । साहित्यप्रति रुचि थियो । त्यहाँ भानुजयन्ती र देवकोटा जयन्ती मनाइन्थ्यो । त्यसबेला विद्यार्थीका समूहसमूहले २०/२५ वटा नाटक तयार पार्थे । हामीले छानेर १/२ वटा मात्र हेर्थ्यौं । रचना प्रतियोगिता गरिन्थ्यो । लोकगीत प्रतियोगिता हुन्थ्यो ।
म कक्षा ८/९ मा पढ्दाका कुरा हो । डिमापुरबाट दुई साहित्यप्रेमी दिलु सुवेदी र प्रीतम क्षेत्री आउनुभयो । उहाँहरू पत्रिका छपाउन सहयोगका लागि आउनुभएको रहेछ । मेराबारेमा सुनेको तर नदेखेका उहाँहरू मभन्दा ठूला थिए । मलाई सानो देखेर चकित हुनुभयो । उहाँहरूको पत्रिका छपाउन हामी रेल चढेर तीनसुकिया गयौं । कविता भन्दै सुन्दै जादा २० किलोमिटर रेलयात्रा फुस्स गयो । म तीनसुकिया जाँदा घरमा खबर गरिन । ‘जूनकिरी’ नामक पत्रिका छापियो । यसका लागि तीन दिन बित्यो । म हराएँ भन्ने भएर घरबाट प्रहरीमा रिपोर्ट लेखाउनु भएछ । घरबाट दाजु र बुबा अनि आफन्तहरू मलाई खोज्न चारैतिर जानुभयो । चौथो दिन म घर फर्के । दाजु एकबहादुरले कान निमोठ्नुभयो । उहाँले ‘पहिले भविष्य बनाउने अनि मात्र कवितासविता गर्नु,’ भन्नुभयो । आमा त सार्है आत्तिनुभएको रहेछ । मलाई देखेर अँगालो हाल्नुभयो । दाजुको कान निमोठाइले म इन्जिनियर पुगें । नत्र साहित्यकार हुन्थें ।
हामी दश जना केटाकेटीलाई पढाउन बुबाले १८ घण्टा मेहेनेत गर्नुपर्थ्यो । बिहान हिडेका बुबा एकैपटक राती आउनुहुन्थ्यो । पढाईमा आमाले बढी जोड दिनुपर्थ्यो ।
मलाई हिन्दी फिल्म हेर्न खुब मनपर्थ्यो । ५० पैसामा एउटा टिकट आउँथ्यो । फुच्चेलाई सबभन्दा अगाडी बसेर हेर्दा पनि रमाइलो हुन्थ्यो । एकपटकको कुरा हो । म एकैदिनमा तीन सो फिल्म हेरेर घर फर्के । घर पुग्दा रातीको १२ बजेको रहेछ । आमा मलाई कुरेर बस्नुभएको रहेछ । ‘एक घण्टा पढेपछि मात्र खान दिन्छु,’ भन्नुभयो । मैले पढें । खाना खाए र सुते ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६५ वैशाख २० मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)