कलाधर काफ्ले सानो छँदा

तगारोपछि काठमाडौं

कलाधर काफ्लेले ३० वर्ष सरकारी सेवा गर्नुभएको छ । उपसचिव पदमा पुगेपछि सेवाबाट छुटेका काफ्लेले चार पुस्तक पनि लेख्नुभएको छ । ती पुस्तक ‘नेपालको दुर्गम क्षेत्रमा खाद्यान्नको आपूर्ति’ (२०४५), ‘नेपालमा ग्रामीण विकासका अवधारणा’ (२०५१, सहलेखन), ‘बेलायततिरका तीस पाइला’ (२०६३, यात्रा संस्मरण) र ‘इन्द्रेनी’ (२०६४, साहित्यिक सँगालो) हुन् । उहाँ २००० साल वैशाख १४ गते कास्की जिल्लाको लामाचौरमा भएको हो । उहाँका पिताको नाम गुरुदत्त र माताको नाम मुरलीदेवी हो । उहाँको घरमा उहाँसमेत चार दाजुभाई र एक बहिनी जन्मनुभएको हो । उहाँ माहिलो छोरा हो । एमकम, बीएलसम्म पढेका काफ्ले विभिन्न संस्थामा रही समाजसेवा गर्दै आउनुभएको छ । उहाँले विभिन्न सम्मान/पुरस्कार पाउनुभएको छ । एसिया, युरोप, अष्ट्रेलियाका विभिन्न देश घुमेका काफ्लेका बाल्यकालका केही सम्झना :
मैले अलि ठूलो उमेरमा अक्षर चिनेको हुँ । घरमा अक्षर चिनाउने प्रयास भयो । तर गाह्रो भयो । बाटुलेचौरकै संस्कृत पाठशाला जान्थें । त्यहाँ जीवनाथ गुरु हुनुहुन्थ्यो । तर त्यहाँ पनि मैले अक्षर चिन्न सकिनँ । हामी पढ्थ्यौं । खेल्न जान्थ्यौं । दुई घन्टा खेलेपछि गुरुले ‘आओ’ भनेर बोलाउनुहुन्थ्यो । दौडेर जान्थ्यौं । तर त्यहाँ गएर केही नभएपछि आधारभूत प्राथमिक विद्यालय भर्ना गरिएको थियो ।
आधारभूत स्कुल जाँदा घरको काम प्रशस्त गर्नुपर्थ्यो । घरमा धेरै भेडा पालेका थिए । भेडा चराउनुपर्थ्यो । गोठालामध्ये म सानो गोठालो थिएँ । ठूला गोठालालाई रिझाएन भने मेरा भेडा बथानबाट छुट्याई दिन्थे । उनीहरूलाई रिझाउन म बदाम र सुन्तलाको सलामी बुझाउँथे । उनीहरू मलाई भन्थे, ‘जा बदाम लिएर आइज । जा सुन्तला ले ।’ धेरै सलामी बुझाएपछि एकदिन मलाई पनि रिस उठ्यो र भनें, ‘कति म चोर्न जाऊँ ? म जान्न ।’ उनीहरूले भेडा बथानबाट छुट्याउने धम्कि दिए । मैले फेरि सलामी बुझाए । यो काम असाध्यै गलत थियो । अहिले सम्झँदा पनि अनौठो लाग्छ ।
हाम्रो छिमेकी गाउँ बाटुलेचौरमा त्यहि आधारभूत प्रावि थियो । मैले त्यहाँ पढ्ने मौका पाएँ । पद्मशमशेरले आधारभूत विद्यालय खोल्न थालेका थिए । तीनै विद्यालयमध्ये उक्त विद्यालय खुलेको थियो ।
आधारभूत विद्यालय २००६ सालमा स्थापना भएको थियो । मचाहिँ २००९ साल भदौमा भर्ना भएँ ।
म स्कुल गएर नाम लेखाउन खोज्दा मैले मेरो न्वारानको नाम ‘गजाधर’ भनें । मेरो नाम सुनेर सबै हाँसे । आदिकवि भानुभक्त आचार्यको कविता ‘गजाधर सोतीकी घरबूढी …’ उनीहरूले पढेका रहेछन् । अनि प्रज्ञासागर पराजुली सरले मेरो नाम गजाधरभन्दा कलाधर ठीक हुन्छ भनेर कलाधर लेखाइदिनुभयो ।
उक्त स्कुल मुक्तिनाथ तिमिल्सिनाले स्थापना गर्नुभएको हो । उहाँ पोखराबाट सधैं ४५ हिडेर त्यहाँ आउनुहुन्थ्यो । म भने घरबाट आधा घन्टामा स्कुल पुग्थें । म त्यो स्कुलमा ४ वर्ष पढें । कक्षा ५ पूरा गरें । अनि कसरी ? भन्ने होला । कक्षा १ र २ पढेपछि कक्षा ३ नपढी एकैपटक कक्षा ४ पुगें ।
आधारभूतमा पढ्दा हामी खाली खुट्टा हिड्थ्यौं । धेरै मैला हुन्थ्यौं । मुक्तिनाथ सरले एकपटक, ‘यी केटाहरू साह्रै मैला भए । खोलामा लगेर नुहाउनुपर्ने भो,’ भन्नुभयो । रामचन्द्र सरले खोलामा लानुभयो । सरले लाइफब्वाय साबुन बोक्नुभएको थियो । पानीमा भिज्यौं । साबुन लाएर सफा भयौं । त्यसबेलाका शिक्षक र हामीबीच यस्तो घनिष्ठ सम्बन्ध थियो । यसरी सरले एकपटक खोलामा लगेपछि अर्कोपटक हामी आफैं नुहाउन गयौं । म त पौडन्छु भनेर खोलामा पसे । पानीमा डुबेछु । पानीमुनिबाट बुलबुल आएपछि साथी पसेर निकालेछन् । त्यसपछि अहिलेसम्म पनि म नीलो पानी देख्दा वा खोला तर्दा डराउँछु ।
मैले अंग्रेजी पढ्न थालेको बुबालाई उत्तिको मन परेको थिएन । बुबा पुरोहित काम गर्ने भएकाले संस्कृत नै ठिक हो भन्नुहुन्थ्यो । बुबा चाहिं तमसुक लेख्ने, सत्यनारायणको पूजा गराउन सक्ने भए काम लाग्छ भन्ठान्नुहुन्थ्यो । २०१३/१४ सालमा अकला प्राविमा एकजना सर आउनुभयो । उहाँ काठमाडौंबाट एसएलसी सकेर आउनुभएको थियो । उहाँको नाम वंशीकृष्ण श्रेष्ठ हो । उहाँलाई महिनाको एक सय रुपैयाँ र चामल दिनुपर्थ्यो । उहाँ अंग्रेजी पढाउनुहुन्थ्यो । उहाँलाई देखेपछि बुबाले, ‘अहो, एसएलसी सकेपछि त महिनाको एक सय कमाउने हुने पो रहेछ,’ भन्ने सोच्नुभयो र मलाई अंग्रेजी पढेकै ठिक भन्न थाल्नुभयो ।
स्कुल पढ्दा सुकेका निगाला (सिटा) बालेर पढ्नुपर्थ्यो । मट्टीतेल महंगो थियो । मट्टीतेल लिन बुटवल जानुपर्थ्यो । रातोमाटो र खरले बनाएको एउटा पातोमा दुई प्वाल बनाइन्थे । माथिल्लो प्वालमा डोरी बाँधेर दलिनमा झुण्ड्याइन्थ्यो भने तल्लो प्वालमा सिटा अड्काएर बालिन्थ्यो । दाजू र आमाले सिटाको बन्दोबस्त गरिदिनुहुन्थ्यो ।
कक्षा ६ देखि म पोखराको मल्टिपर्पोज हाईस्कुल भर्ना हुन गएँ । त्यो २०१३ साल थियो । मैले त्यही स्कुलबाट २०१८ सालमा एसएलसी दिएँ । दोस्रो श्रेणीमा पास भएँ । रिजल्ट आएको दिन अंग्रेजी शिक्षक यदुनाथ अधिकारीले पत्रिका हेर्नुभयो । पहिले त उहाँले तेस्रो श्रेणीमा हेर्नुभयो । मेरो सिम्बोल नम्बर थिएन । उहाँले, ‘तेरो त छैन’ भन्नुभयो, ‘अब सेकेन्ड डिभिजन हेरौं त ।’ म त सेकेन्ड डिभिजनमा पास भएको रहेंछु । सरले फ्याट्ट भन्नुभयो, ‘ल केटाले पड्काएछ ।’ मेरो जीवनमा सबैभन्दा खुसीको क्षण त्यही नै हो ।
आधारभूतमा पढ्दा छात्रा थिएनन् । तर मल्टिपर्पोजबाट एसएलसी दिँदा तीन जना छात्रा थिए ।
मल्टिपर्पोजमा पढ्दा घरबाट सधैं लामाचौर धाइयो । एसएलसी दिँदा डेरा गरेर बसियो । ट्युसन पढ्नु परेकाले मात्र त्यहाँ बसिएको हो । एसएलसीमा अंग्रेजी, नेपाली, भूगोल, गणितजस्ता विषय थिए । कूल पूर्णांक ९ सय थियो । एसएलसीको परीक्षाकेन्द्र पनि मल्टिपर्पोजमै परेको थियो ।
दशैं रमाइलो हुन्थ्यो । एकपटकको दशैंमा बुबाले च्याङ्ग्रा ल्याउनुभयो । च्याङ्ग्रा लिन त्यसबेला मुस्ताङ जानुपर्थ्यो । बुबाले ल्याएको त्यो ११/१२ धार्नीको च्याङ्ग्रा थियो । तर खुट्टा खोच्याउँथ्यो । सबैले किन यस्तो खुट्टा खोच्याउने च्याङ्ग्रा ल्याएको भने । बुबाले, ‘खुट्टा खोच्याएर के भो ? मासु त खाने हो नि ?’ भन्नुभयो, ‘यहाँ किनेको भए १५ रुपैयाँ पर्थ्यो । मैले ११ रुपैयाँमा ल्याएँ ।’
नुन लिन पहिलेपहिले मुस्ताङ जाइन्थ्यो । मुस्ताङको नुन ‘भोटे नुन’ हुन्थ्यो । पछि बुटवलबाट ल्याउन थालियो । त्यो नुन ‘ढिके नुन’ हुन्थ्यो । बुटवल पुगेर आउन सात दिन लाग्थ्यो ।
म आठ वर्षको हुँदा ब्रतबन्ध गरियो । भिक्षा माग्दा तगारो नाँध्नु हुँदैन भन्ने चलन छ । मैले नाँधेछु । मामा त हुनुहुन्नथ्यो । सानिमाका छोराले मामाको जस्तो बाटो छेक्नुपर्थ्यो । उहाँले छेक्नु भएन । तगारो नाधेपछि जोगी हुन्छ
भन्थे । मलाई भने, ‘यो घर नबस्ने भो ।’ साँच्चै एसएलसी सकेपछि जागिर खान थालें । त्यसको केहीपछि काठमाडौं आएँ । यतै बसें । तगारो नाधेपछि यस्तै भयो ।
(शब्द : राजेश कोइराला, तस्बिर : नवराज वाग्ले, २०६५ वैशाख ६ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

<